+

१० ए डिभिजन क्लबको चिन्ता : फुटबल धरासायी हुने स्थिति आयो

२०८० जेठ  १२ गते १५:३६ २०८० जेठ १२ गते १५:३६
१० ए डिभिजन क्लबको चिन्ता : फुटबल धरासायी हुने स्थिति आयो

२ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका क्लबहरुले अखिल नेपाल फुटबल संघ एन्फाको गैरजिम्मेबारी हर्कतले नेपाली फुटबल धरासायी हुने स्थिति आएको बताएका छन् ।

ए डिभिजनका १४ मध्ये १० क्लबले काठमाडौंमा पत्रकार सम्मेलन गरी एन्फाको कार्यशैली र क्लबहरुसँग सम्झौताअनुसारको कामहरु कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गरे।

आफूहरुले तयारी खर्चबापत पाउनुपर्ने दोस्रो र तेस्रो किस्तानसहित म्याच मनी र प्लेयर अफ द म्याचले पाउनुपर्ने रकमसमेत अहिलेसम्म नपाउँदा निरुत्साहित बनेको क्लबहरुले बताएका छन्।

‘हामीले अहिलेसम्म तयारी खर्चबापतको दोस्रो र तेस्रो किस्ताको रकम पाउन सकेका छैनौं। म्याच मनी र प्लेयर अफ द म्याचले पाउने पैसा पनि दिइएको छैन। खेलतालिका पुनर्विचार गर्नका लागि पटक पटक भन्यौं, सुनुवाइ भएन। अहिले एक दिनको अन्तरमा पनि खेल खेल्नुपर्ने अवस्था छ,’ ए डिभिजन टिम संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले गुनासो गरे।

एन्फाले ए डिभिजन क्लबहरुलाई ३२ लाख ५० हजार रुपैयाँ तयारी खर्च तीन किस्तामा दिने सम्झौता गरेको थियो।१९ फागुनमा लिग सुरु हुनुपूर्व पहिलो किस्ताबापतको १५ लाख पाएका क्लबहरुले बाँकी रकम पाउन सकेका छैनन्।

‘पहिलो चरणको लिग सकिएपछि दोस्रो किस्ता दिने भनिएको थियो। हामीले ज्ञापनपत्र पनि दियौं । एक सातामा दिने भनिएको थियो आज एक महिनाभन्दा बढी भयो,’ एन्फाका पूर्व महासचिवसमेत रहेका संकटाका अध्यक्ष तुलाधरले भने।

दिनदिनै घाटामा गएर फुटबल विकासका लागि लागि परेका क्लबहरुलाई निराश बनाउँदा फुटबल धरासायी हुने स्थिति आएको क्लबहरुको भनाई छ।एन्फाले ए डिभिजन लिगमा राम्रो योजना र व्यवस्थापन गर्न नसकेको मात्र होइन राष्ट्रिय टिमको ब्याकअपका रुपमा रहने यू-२३ टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बन्चित गरिएकोमा पनि क्लबहरुले असन्तुष्टि जनाएका छन्।

‘पदाधिकारी रिझाउने र कार्यसमितिमा बहुमत पुर्याउन तल्लीन वर्तमान कार्यसमिति आफ्नो सेवा सुविधा बढाउन मात्र केन्द्रित देखिन्छ,’ क्लबहरुले संयुक्त वक्तब्यमा उल्लेख छ ।

एन्फा पूर्व महासचिव तुलाधर भने एन्फाले कार्यक्रम तथा बजेटका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय नगरेको नभई टिम दर्ता गर्न बिर्सिएको हुनसक्ने अनुमान गर्छन्। ‘राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय भ्रमणका लागि फिफाबाट हरेक वर्ष २ लाख अमेरिकी डलर आउँछ । यस्तो रकम एन्फामा ५ लाख डलर बाँकी छ,’ तुलाधरले प्रश्न गरे, ‘पैसा हुँदाहुँदै बजेटका कारण प्रतियोगिता खेल्न सकेनौं भन्न मिल्छ ?’

ए डिभिजन टिम हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफा र एएफसीको अनुदानमा मात्र फुटबल सन्चालन गर्न खोज्नु मुर्खता भएको बताए।

‘फिफा र एएफसीको पैसाले मात्र फुटबल गर्ने हो भने एन्फाको त्यति ठूलो संरचना किन चाहियो ?,’ एन्फाका पूर्व अध्यक्ष शेर्पाले भने, ‘आफूले मार्केटिङ गर्न नसक्ने । पहुँच र पहल गर्न नसक्ने अनि बजेट भएन भन्ने । नेपालको फुटबल संघ गैंडाको छालाभन्दा पनि कडा देखियो । उनीहरुलाई कुनै महशुस नै छैन।’

उनले एन्फा आर्थिक रुपमा धरासायी बनेकोमा चिन्तासमेत व्यक्त गरेका छन् । एन्फामा अहिले पनि ५० लाख डलरभन्दा बढी रकम रहेको भन्दै शेर्पाले नेतृत्वको व्यवस्थापकीय क्षमतामा प्रश्न गरेका छन् । ‘फुटबल सुन हो । तर, एन्फाले त्यसलाई बेच्न जानेन,’ उनले थपे, ‘फुटबल नै धरासायी हुने स्थिति आएपछि हामी यहाँ आएका हौं।’

क्लबहरुले खेलाडीको पारिश्रमिकमा १५ प्रतिशत कर लगाउने एन्फाको नयाँ नियमको पनि विरोध गरेका छन्। अघिल्लो लिगमा खेलाडीको पारिश्रमिकमा १.५ प्रतिशतमात्र कर लगाउने गरिएको थियो। यसपल्ट फिफाको नियम भन्दै कर प्रतिशत बढाएर क्लबको ब्ययभार थपेकोमा एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठले असन्तुष्टि व्यक्त गरे।

आवश्यकभन्दा बढी चर्को कर लगाउँदा खेलाडी तथा खेलाडी संघ मौन रहेकोमा आफूलाई अचम्म लागेको हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पा बताउँछन्।

‘कर बढाउँदा एउटा क्लबले खेलाडीको करबापतमात्र १८ देखि २२ लाख रुपैयाँसम्म तिर्नुपर्ने भएपछि एन्फाले दिएको तयारी खर्चबराबर हुन जान्छ । एन्फाले क्लबमैत्री काम गर्नै सकेन,’ उनले थपे।

अखिल नेपाल फुटबल संघ १० ए डिभिजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय