
१२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक ६ घण्टा हुन लाग्दा समेत सुरु हुनसकेको छैन ।
नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसिसक्यो । अनौपचारिक छलफल पनि भइरहेका छन् । तर, पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निस्किएको छैन ।
नेताहरुका अनुसार एमालेले माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एकसूत्रीय अडान राखिरहेका छन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।
एमालेको अवरोधका कारण बैठक कार्य सूचीमा प्रवेश नै नगरी पौने १ बजे स्थगित भएको थियो । त्यसपछि पनि संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिसके ।
बैठक सुरु हुने आशमा सांसदहरु संसद भवन भित्रै र बाहिर छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सुमना श्रेष्ठले ‘कुर्दैछौं’ भनेर ट्वीट गरेकी छन् ।
माओवादी केन्द्रका सांसद माधव सापकोटा प्रमुख सचेतक छलफलमा रहेको र अन्य सांसदहरु बैठक कुरिरहेको बताउँछन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहमतिको प्रयास भइरहेको बताउँछन् । उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छलफलमा रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलको नेतालाई लगाएको आरोप उचित नरहेको भनेर जाने प्रस्ताव समेत राखेका छन् । तथापि, प्रतिनिधिसभाको बैठक सुरु हुन सकिरहेको छैन ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4