
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले आफूले मात्र राम्रो काम गरेको भन्ने मानसिकता त्याग्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले एमाले अध्यक्ष ओलीको नाम नलिई आफूबाहेक अरु नालायक हुन् भन्ने मानसिकता त्याग्न आग्रह गरेका हुन् ।
‘मैले मात्रै गरेँ, सबै कुरा गरेँ । म बाहेकका सबै नालायक हुन्, निकम्मा हुन्, बेठीक हुन् भन्ने मनस्थितिबाट पनि हामी सबै मुक्त हुनुपर्छ’, लेखकले भने । आफू प्रधानमन्त्री हुँदाको समयमा मात्र सारा काम भए भन्ने मनस्थितिबाट मुक्त हुन उनले ओलीलाई सुझाव दिए ।
‘अमुक दुई वर्षमा, अमुक तीन वा चार वर्षमा सारा कामहरु भएका थिए, त्यो भन्दा अगाडि पनि केही भएन, त्यो भन्दा पछाडि पनि केही भएन भन्ने मनस्थितिबाट समेत मुक्त हुनुपर्छ’, कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले भने ।
नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेको कामको लामो व्याख्या गर्दै अहिलेको सरकारले नयाँ कार्यक्रम केही ल्याउन नसकेको टिप्पणी गरेका थिए ।
एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेता लेखकले कतिपय नेताले ब्रम्हाण्डको रचना पनि आफ्नै कालमा भएको हो भन्न मात्र बाँकी राखेको बताए । ‘कतिपय नेताले बोल्दै गर्दा त अब भन्नुहुन्छ भन्नुहन्छ लाग्छ– यो तीन वर्षमा ब्रमाण्डको रचना पनि त्यसै बेला भएको हो । त्यो भन्दा अगाडि ब्रमाण्ड थिएन भन्ने मात्रै छृुटाउनु हुन्छ र अरु सबैले केही गरेन भन्ने ठान्नुहुन्छ’ उनले भने ।
नेता लेखकले नीति तथा कार्यक्रम कुनै निबन्ध प्रतियोगिता नभएको भन्दै यसको प्रभावकारिता कार्यान्वयनसँग हुने बताए । ‘कतिपय नीति तथा कार्यक्रमहरु पढ्दा स्वर्गानुभुति हुन्छ । स्वर्गमा पुगेको आनन्द हुन्छ’ उनले भने ।
एमाले अध्यक्ष ओलीतर्फ इंगित गर्दै लेखकले भने, ‘एक पटकको नीति कार्यक्रम पढ्दै थिएँ कञ्चनपुर जिल्लाबाट पानी जहाज चढेर डडेलधुरा हुँदै बैतडी भएर दार्चुला पुगेको अनुभूति गरेँ । मलाई बडो स्वर्गको अनुभुति जस्तो भयो । पानी जहाज पनि चानचुने होइन, नर्वेजियन क्रुज जस्तै होला भन्ने अनुमान गरेँ ।’
तर, नीति तथा कार्यक्रमबाट झसङ्ग भएर यथार्थमा आउँदा दार्चुलामा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको लेखकले बताए । ‘जुन दिन हाम्रो यथार्थ र वास्तविकतामा झरेँ त्यस दिन त्यो महाकाली नदिनमा म जस्ता मान्छेहरु पानी जहाज चढेको होइन, जयसिंह धामी तुइनबाट लडेर त्यही महाकाली नदीमा डुबेर मरे’ उनले भने ।
नीति तथा कार्यक्रममाथिको टिप्पणी सत्तापक्ष र प्रतिपक्षमा हुँदा फरक पर्ने गरेको भन्दै उनले सत्तापक्षमा हुँदा सबै राम्रो र प्रतिपक्षमा हुँदा सबै नराम्रो देख्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।
‘सभामुखको आसनको दाहिनेतर्फका छेउको कुर्सीमा बस्दा यो देश झिलिमिली देखिन्छ । सबै कुरा राम्रो देखिन्छ, सबै कुरा गज्जब’, सांसद लेखकले अगाडि भने, ‘समय, परिस्थिति र संयोगले त्यो कुर्सी भन्दा दुई मिटर उता गएर अर्को कुर्सीमा बस्नुपर्दा यो देश अन्धकारमय देखिन्छ । यो मानसिकता र मनस्थितिबाट मुक्त यदि हामी हुन सकेनौं भने नीति तथा कार्यक्रम जतिसुकै निबन्धमा लेखे पनि त्यो कार्यान्वयन हुँदैन । नेपाली जनतासम्म पुग्न सक्दैन ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका अस्पताल बालुवाटारबाट उद्घाटन गरेको भन्दै नेता लेखकले ती अस्पतालको अवस्था के छ भनेर प्रश्न गरे । ‘काठमाडौंमा एकै बटम च्यापेर ७५३ ठाउँमा अस्पताल पुर्यायौं’ सांसद लेखकले प्रश्न गरे, ‘आज ती अस्पतालमा कति नेपाली जनताले उपचार पाइराखेका छन् ? कति भवन बनेका छन ? कति मानिसहरु काम गरिराखेका छन् ?’
प्रतिक्रिया 4