
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुरे संरक्षण गर्न र तराईको मरुभूमीकरण रोक्न सरकार गम्भीर भएको बताएका छन् ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले सरकार आवेशमा आएर नभई वैज्ञानिक ढंगले चुरेको संरक्षण र तराईको मरुभूमीकरण रोक्न यो विषय उठाएको बताए ।
सरकारले नीति तथा कार्यक्रममा ढुंगा गिट्टी विदेश निकासीका लागि अध्ययन गर्ने विषय समावेश गरेको छ । सो विषयमा सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री प्रचण्डले चुरे दोहन या तराईको मरुभूमीकरणको समस्याबारेमा सरकार गम्भीर रहेको बताए ।
त्रिभुवन विश्वविद्यालयको भूगोल विभाग र अर्को एक विभागले गरेको अध्ययनमा चुरेबाट उत्पादन हुने ढुंगा गिट्टीको उपयोग नहुँदा १ खर्बको ढुंगा गिट्टी भारतले नि:शुल्क उपयोग गरिरहेको देखाएको प्रधानमन्त्री प्रचण्डले बताए ।
‘त्यसको निष्कर्ष के छ भने चुरे संरक्षण र तराईको मरुभूमीकरण रोक्न गिट्टी बालुवाको सही उपयोग र व्यवस्थापन जरुरी छ’ उनले भने, ‘यत्तिकै छोड्दा मरुभूमीकरण हुनसक्छ । करिब १ खर्बको गिट्टी बालुवा बगेर भारत जान्छ र भारतले उपयोग गरिरहेको निष्कर्ष छ ।’
त्यस्तै ५० हजार हेक्टर जमिन नदी उकास भएर नष्ट भइरहेको अध्ययनले देखाएको पनि उनले बताए । सरकारले उक्त प्रतिवेदन लागू गर्न लागेको नभई चुरेको ढुंगा गिट्टीबारे गम्भीर ढंगले समस्या समाधान गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4