
१४ जेठ, चितवन । चितवनमा जंगल सफारी गरेर फर्किने पर्यटकलाई प्याराग्लाइडिङ्गतर्फ आकर्षित गरेर बसाइँ लम्बाउने अभियानमा यहाँका होटल व्यवसायीहरू लागिपरेका छन् । यही क्रममा गत वैशाख १ गतेदेखि चितवनको चौकीडाँडाबाट व्यावसायिक प्याराग्लाइडिङ्गको उडान सुरु भयो । गत वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको औपचारिक उद्घाटन गरे ।
चितवनमा पुगेर हात्ती र जिप चढेर राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकहरुमा अब प्याराग्लाइडिङतर्फ पनि चासो बढेको छ । चितवनमा प्याराग्लाइडिङ्ग र यसको भविश्यका बारेमा नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्ग ग्लाइडिङ्ग संघ (नेफा)का महासचिवसमेत रहेका सञ्चालक शैलेन्द्र राउतसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी–
चितवनमा प्याराग्लाइडिङ्गको रेस्पोन्स कस्तो पाउनु भएको छ ?
वैशाख १ गतेदेखि यसको व्यवासायिक उडान सुरु गरेपछि कयौंले प्याराग्लाइडिङ्ग उडान गरिसक्नुभएको छ । कतिपयले चासो राखेर आउने गरेको पनि पाएका छौं । बीचका केहीदिन मौसम क्लियर नहुँदा केही समस्या जस्तो भए पनि अहिले ठिक छ । विभिन्न ठाउँबाट बुकिङ्ग र सम्पर्कहरु भैरहेका छन् । जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरुसँग पनि छलफल भैरहेको छ । उहाँहरुले प्याकेजमा नै राखेर यसको प्रचार र प्रवद्धन गरिहनुभएको छ ।
अहिले हामीसँग १० जना पाइलट हुनुहुन्छ । आवश्यकता अनुसार बढाउन पनि सकिन्छ । अन्य बेलामा ८ हजार लिने गरिएकोमा अहिले ६ हजारमा नै उडाउने गरेका छौं । भरतपुर २९ को अशोका रिसोर्ट नजिकै हाम्रो कार्यालय छ । त्यहीँबाट टिकट काट्ने, लैजाने–ल्याउने गरेका छौं । अनलाइन बुकिङ्गको समेत व्यवस्था छ ।
नेपालमा प्याराग्लाइडिङ्गको अवस्था कस्तो छ ?
पोखरामा सन् १९९९ मा वीर बम्जनले सनराइज प्याराग्लाइडिङ्ग कम्पनी खोलेर यसको सुरुवात गर्नुभएको हो । अहिले पोखरामा मात्रै ६० कम्पनी र ३७७ लाइसेन्स लिएका पाइलटहरू छन् ।
सुनसरी, स्याङ्गजा, उदयपुर र तनहुँको बन्दीपुरमा गरी ४ ठाउँमा पाइलट स्कुलहरु छन् । त्यहाँबाट वर्षमा ४०/५० जना पाइलटहरु उत्पादन हुँदै आएका छन् । दुई वर्षे कोर्ष हुन्छ । प्याराग्लाइडिङ्ग पाइलट पढ्न करिब ३० लाख रकम खर्च हुन्छ । पहिला विदेशी पाइलट आउँथे भने अहिले अधिकांश स्वदेशी पाइलटहरु छन् । केही नेपालीहरू पाइलट बनेर फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशमा पनि पुगेका छन् । नेपालबाट पाइलटहरु खोजी–खोजी लैजाने र नेपालीहरुले धेरै रकमसमेत कमाउन सक्ने भएकाले उनीहरुको डिमाण्ड धेरै छ । पाइलटको अभाव छ । टिकाउन पनि समस्या छ ।
देशभर ८३ वटा कम्पनीहरु छन् । १८ जिल्लामा प्याराग्लाइडिङ्ग उडाउने इजाजत भए पनि पोखरा र चितवनमा मात्रै उड्न सकिन्छ । अन्यत्र भने खासै उडान गर्न सकेको अवस्था छैन ।
पोखरामा कोरोनाभन्दा अगाडि एकैदिनमा ११ सयभन्दा बढी मानिसहरुले उडेको रेकर्डसमेत छ । ५० प्रतिशत जति प्याराग्लाइडिङ्ग उड्ने पर्यटक चिनियाँ हुन्थे । कोरोनाले त्यसमा ठूलो असर गर्यो । चिनियाँहरु जंगल सफारी, प्याराग्लाइडिङ्ग र भक्तपुरको कलासंस्कृति हेर्नका लागि नै नेपाल आउँछन् ।
सन् २०१३ मा प्याराग्लाइडिङ्गमा एउटा चिनियाँ चलचित्र दोग फुलाई भन्ने सुटिङ्ग भएको रहेछ । हिरो र हिरोइन विरिक्तएर नेपाल आएको बेला दुवैको भेट प्याराग्लाइडिङ्ग उडानका क्रममा भएको र उनीहरुको पुनर्मिलन भएको दृश्य देखाइएको छ । सो चलचित्रका कारणले धेरै चिनियाँहरु नेपाल आएर प्याराग्लाइडिङ्गमा उड्न रुचाएको पाइन्छ । उनीहरुलाई उत्तिखेरै फोटो भिडियो चाहिन्छ । लगत्तै आफ्नो सञ्जालमा हालिहाल्छन् । अहिले नयाँ ठाउँ र लोकेसन देखेपछि चिनियाँहरु पुनः आकर्षित हुने अवस्था तयार भएको छ ।
चितवनमा कस्तो देख्नुभएको छ प्याराग्लाइडिङ्गको भविश्य ?
चितवनमा सन् २०१५ मा मुकुन्द भट्टराईंले एक जना युक्रेनी पाइलटसँग मिलेर प्याराग्लाइडिङ्ग उडान गर्नुभएको र त्यसले चितवनमा सम्भव भएको देखाएको छ ।
चितवनको चौकीडाँडा क्षेत्रबाट प्याराग्लाइडिङ्ग उडान सम्भव भए पनि पर्यटन मन्त्रालयले हवाई रुट परेको भन्दै यहाँबाट उडान अनुमति दिएको थिएन । हामीले मन्त्रालय र क्यानमा गएर योबारेमा लविङ्ग गर्यौं । उहाँहरुले पनि यसबारेमा अध्ययन गर्नुभयो । हवाई रुट यो ठाउँ परेपनि ५ हजार नोटिकल माइलभन्दा बाहिर मात्रै हवाई रुट पर्ने देखिएपछि नागरिक उड्यन प्राधिकरणले हामीलाई व्यावसायिक उडान अनुमति प्रदान गर्यो ।
यो लोकेसन सबैभन्दा आकर्षक छ । अन्यत्र समुद्रमाथि, ताल माथि उड्न सकिन्छ तर, चितवनको चौकीडाँडा यस्तो लोकेसन हो, जहाँबाट उड्दा नागबेली शैलीमा बगेको त्रिशूली नदी, हिमाल, पहाडका भूभागहरु, राजमार्ग सबै देखिन्छ । विश्वमा अन्यत्र कही पनि यस्तो छैन । स्वदेशी तथा विदेशी पर्यटकले यसलाई मन पराएका छन् । प्याराग्लाइडिङ्ग र त्रिशुली नदीमा र्याफ्टिङ्गलाई एकैसाथ जोड्दा यो अर्को गज्जबको भेन्यु हुनेछ ।
वाटर स्पोर्ट र एयर स्पोर्ट्सलाई एउटै क्यामेराको फ्रेमभित्र पार्दा कस्तो देखिएला ? प्याराग्लाइडिङ्गमा सयर गरिरहेको प्रेमी (युवक) र त्रिशूलीको मोटरबोट कुँदिरहेकी प्रेमिका (युवती) लाई एउटै क्यामेराको फ्रेमभित्र पारेर फोटो–भिडियो खिच्दा कस्तो देखिएला तपाईं कल्पना गर्नुस् त । यस्तो ठाउँ कहिँ पनि छैन । पोखरामा सम्भव थियो तर त्यहाँ मोटरबोट चल्ने अवस्था थिएन । तर यहाँ एयर स्पोर्टस् र वाटर स्पोर्ट्स लाइभ नदीमा सम्भव छ ।
चितवनमा सौराहा नजिकै छ । मुग्लिन–नारायणगढ सडकखण्ड र यहीँ बाटो भएर पूर्वपश्चिम जाने भएकाले यहाँ प्याराग्लाइडिङ्गको भविश्य उज्ज्वल देख्छु । समग्रमा नेपालको पर्यटन क्षेत्रलाई थप माथि लैजान प्याराग्लाइडिङ्गको महत्वपूर्ण भूमिका देख्छु ।
सुरक्षाका दृष्टिकोणले प्याराग्लाइडिङ्ग कस्तो मानिन्छ ?
साहसिक पर्यटनमा सबैभन्दा सुरक्षित प्याराग्लाइडिङ्गलाई मानिन्छ । झण्डै २० वर्षको इतिहासमा पाइलट सिक्ने क्रममा सोलो पाइलट ६ जनाको मृत्यु भएको छ भने, व्यवसायिक उडानका क्रममा जम्मा २ जनाको मृत्यु भएको छ, त्यो पनि लापर्वाहीको कारणले हो । नत्र १० लाखभन्दा बढी पर्यटकहरु चढ्दा जम्मा २ जना भनेको निकै न्यून क्षति हो ।
पोखरामा फूलको हाँगा टिप्न जाँदा एक जनाको मृत्यु भएको छ भने, अर्कोको वाटरफन भन्ने ठाउँमा ल्याण्ड गर्ने क्रममा घरको छतको रडले प्याराग्लाइडिङ्ग च्याँतिएर ठोक्किदा एक जनाको मृत्यु भएको छ । यी दुवै घटना लापरवाहीले गर्दा भएका हुन् ।
नेपालका पाइलटको क्षमतामा कुनै अभाव छैन । पोखरामा २८/२९ देशको बीचमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सधैं विजेता हुने गरेको छ । नेपाल प्याराग्लाइडिङ्ग उडान गर्ने देशमा टप ५ भित्र पर्छ ।
प्रतिक्रिया 4