+
+

मेलम्चीको नयाँ मुहान खोजिंदै

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० जेठ १४ गते १८:४८

१४ जेठ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणका लागि नयाँ मुहानको खोजी सुरु भएको छ । एसियाली विकास बैंक (एडीबी)सहित परामर्शदाताको समूहले नयाँ मुहानको खोजी थालेको हो ।

१ असार, २०७८ मा आएको बाढीले यसअघि सिन्धुपाल्चोकको अम्बाथानमा तयार भएको मुहानस्थल क्षतिग्रस्त गरेपछि भौगेलिक रुपमा कम चुनौतीपूर्ण ठाउँमा हेडवर्क्स बनाउने गरी नयाँ मुहान खोज्न थालिएको हो ।

मेलम्ची खानेपानी विकास समितिका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्त एडीबीको टोलीले नयाँ मुहान खोजिरहेको र त्यसकै आधभारमा डिजाइनको काम गरिरहेको बताउँछन् । ‘अहिलेको मुहानभन्दा केही माथितिरको भागमा नयाँ मुहान राख्नुपर्ने हनसक्छ,’ उनी भन्छन्, ‘नयाँ मुहानस्थल तयार नभइन्जेल अहिलेको मुहानलाई मर्मत सम्भार गरेर चलाउनुपर्छ ।’

नयाँ मुहान बनेमा थप सुरुङ बनाएर मुहानस्थलमा सबै नयाँ संरचना बनाउनुपर्नेछ । पन्तका अनुसार हालको हेडवर्क्सको ३ भागमध्ये २ वटा भाग पुरिएका छन् भने एक भागमा धेरै क्षति पुगेको छ ।

त्यसैलाई मर्मत गरेर पानी ल्याउने काम अघि बढेको भन्दै उनले आगामी आर्थिक वर्षका लागि सरकारले ४० करोड बजेटको सिलिङ दिएको बताए ।

‘त्यसले अहिलेको मुहानलाई मर्मत गरेर चलाउन सकिन्छ, बाढीबाट बचाउने संरचना पनि बनाउनु पर्नेछ,’ उनले भने, ‘अहिले पनि वर्षातमा ठूलो बाढी नआउँदा पानी ल्याउन सकिने गरी उपकरणहरु जोड्दैछौं ।’

सरकारले यो परियोजनाको पुनर्स्थापनालाई खासै चासो दिएको छैन । बाढीपछि तयार भएर सञ्चालनको तयारीमा अवस्थामा पुगिसकेको पानी छान्ने संयन्त्र (डिसेन्डर) मुहानस्थल पुरिएको छ । नदीको सतहभन्दा मुनि परेका ती संरचनाहरूको अवस्था के छ भन्ने बुझ्न अहिलेसम्म खोतलेर हेरिएकोसम्म छैन ।

विगतमा होडबाजी, अहिले बेवास्ता

विगतमा यो आयोजनाबाट राजनीतिक लाभ लिन भने कम्ता होडबाजी थिएन । २१ असार २०७७ मा पहिलोपटक मेलम्चीको सुरूङमा पानी भर्न सुरू भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् । तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो ।

जस लिनेको हतारोबीच मुहानस्थलमा अस्थायी बाँधसहितका संरचनाहरू बनाएरै काठमाडौंमा १५ चैत २०७७ देखि मेलम्चीको पानीको वितरण गर्न थालिएको थियो । त्यतिबेला पाँचपटक औपचारिक रूपमै शुभारम्भ कार्यक्रम गर्दा मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँध (ड्याम) र पानी छान्ने संयन्त्र (डिसेन्डर) तयार भएकै थिएन ।

प्रोटोकलअनुसार सुरूङको पानी खाली गरेर सुपरीवेक्षण पनि नगरी २०७७ सालको १० फागुनमा तत्कालीन खानेपानीमन्त्री मणि थापाले सिन्धुपाल्चोकको अम्बाथानमा स्वीच थिचेर सुरुङ भर्न, २२ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजल आइपुगेको पानी बागमतीमा खसाल्न, १५ चैतमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरूले कार्यक्रम गरेर पानी वितरण गर्न र २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा मुख्य शुभारम्भ गर्न रिबन काट्ने, स्वीच थिच्ने र धारा खेल्नेसम्मका कामहरू भए ।

तर, काम अन्तिम चरणमा पुगेका बेलामै मेलम्ची नदीमा गएको बाढीले आयोजनाको बन्दै गरेका मुहानस्थलका पक्की र स्थायी संरचना क्षतिग्रस्त भयो ।

त्यसपछि अस्थायी संरचना बनाएर वैशाख २०७९ मा फेरि काठमाडौंमा पानी झारिएको थियो । बाढीको डरले असार २०७९ देखि बन्द भएको सुरूङ खोलेर गत मंसिरदेखि फेरि मेलम्चीको पानी काठमाडौंमा ल्याइएको थियो । अहिले फेरि मर्मतका लागि पानी ल्याउन बन्द गरिएको छ । यी २ पटकमा पनि मेलम्चीमा पानी भर्न सुरू गर्दा र वितरण थाल्दा पुरानै शैलीमा तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले ४ पटक औपचारिक कार्यक्रमहरु गरेर भ्याएका थिए ।

तर, अस्थायी संरचना बनाएर हिउँदभरि पानी ल्याइँदै गर्दा वर्षायाममा पनि मेलम्चीको पानी ल्याउने गरी स्थायी मुहान तयार गर्न सरकारले ढिलाइ गर्दै आएको छ ।

मेलम्चीको मुहानभन्दा माथि भू-गर्भ कस्तो अवस्था र भविष्यमा बाढी र पहिरो आउने सम्भावना कति छ भनेर सरकारीतबरबाटै विस्तृत अध्ययन गराउन पनि कसैले चासो दिएको छैन । एडीबीले गरेको अध्ययनले कस्तो निचोड दिन्छ भन्ने स्पष्ट छैन । मेलम्चीको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गर्न काम सुरु भएको छैन ।

सरकार बाढीले पुरेको संरचनालाई प्रयोग गर्न नसकिने निष्कर्षमा पुगेपनि त्यसको विकल्पमा नयाँ मुहान तयार गराउन हतारिएको छैन । गत वर्ष बजेटबाटै मेलमची खानेपानी विकास समिति खारेज गरिएपछि झण्डै एक वर्ष आयोजना अन्योलको भूमरीमा फसेको थियो । अहिले नयाँ गठन आदेश जारी गरेर ब्युँताइएको मेलम्ची विकास समितिले अझै स्थायी र दिगो संरचनाहरुको निर्माणका लागि काम गर्न सक्ने अवस्था छैन ।

सरकारले कहाँ र कहिलेबाट मुहानस्थलका संरचना कसरी बनाउने भन्नेबारे अध्ययन र निर्णय गरेको छैन ।

मेलम्ची खानेपानी आयोजनाबाट एडीबीले हात झिकिसकेको छ । अब नयाँ संरचना बनाएर १२ महिना नै मेलम्चीबाट पानी ल्याउनसक्ने गरी नयाँ संरचनाहरू तयार गर्न कहाँबाट लगानी ल्याउने भन्नेमा सरकार अलमलमा छ ।

वर्षायाममा सुरुङको मुख खुल्लै राख्दा ठूलो बाढी आएमा सुरुङ क्षतिग्रस्त पार्ने जोखिम समेत छ । यसकैकारण करिब ३४ अर्ब खर्चिएर बनेका सुरुङसहितको संरचनाको पूर्ण उपयोग हुन सकेको छैन । सोझै पानी हाल्दा पनि सुरुङमा बालुवा जम्ने र सुरुङमार्गको आयु समेत प्रभावित हुने जोखिम समेत छ ।

‘स्थायी संरचनाहरु तयार गरेर मेलम्चीबाट निरन्तर काठमाडौंमा पानी ल्याउने योजना छ,’ प्रवक्ता पन्त भन्छन्, ‘अब क्रमैसँग कामहरु अघि बढ्छन् ।’

पहिलो चरणकै काम अलपत्र परेपछि आयोजनाको दोस्रो चरणमा थप ११ किलोमिटरको सुरुङ बनाएर सिन्धुपाल्चोककै यांग्री र लार्के खोलाको पानी काठमाडौं खसाल्ने योजना पनि अलपत्र परेको छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?