+
+

मासिक भत्ता लिनेको संख्या ३७ लाख नजिक, एकै वर्षमा ८१ हजार थपिए

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १६:३४

१४ जेठ, काठमाडौं । नेपालमा सरकारबाट मासिक भत्ता पाउने व्यक्तिको संख्या ३७ लाख हाराहारी पुगेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार मासिक रुपमा सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिको संख्या ३६ लाख ८३ हजार ६५८ रहेको छ । जुन गत आर्थिक वर्ष २०७८/७९ को भन्दा ८१ हजार जना बढी हो । गत आर्थिक वर्षमा ३६ लाख २ हजार ७०५ जनाले सामाजिक सुरक्षा भत्ता पाएका थिए ।

सरकारले गत आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकले ६८ वर्ष पुगेपछि नै भत्ता पाउने व्यवस्था गरेपछि सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या उल्लेख्य बढेको हो । पहिले ७० वर्ष पूरा भएका व्यक्तिलाई मात्र ज्येष्ठ नागरिक भत्तावापत मासिक ४ हजार रुपैयाँ दिँदै आएकामा चालु आर्थिक वर्षदेखि ६८ वर्षमा नै दिन थालिएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा १३ लाख २२ हजार ३१५ जनाले ज्येष्ठ नागरिक भत्ता लिएका थिए भने आर्थिक वर्ष २०७९/८० मा १५ लाख ७८ हजार ८१२ जनाले ज्येष्ठ नागरिक भत्ता लिइरहेका छन् ।

‘पछिल्लो जनगणना अनुसार नेपालमा वृद्ध जनासंख्याको वृद्धिदर बढेको र आगामी वर्षहरुमा समेत यस्तो वृद्धिदर बढ्दै जाने जनसांख्यिक प्रक्षेपण रेको कारण सामाजिक सुरक्षातर्फ सरकारको दायित्व थपिँदै जाने देखिन्छ’ आर्थिक सर्वेक्षणमा भनिएको छ ।

सरकारले ज्येष्ठ नागरिक, ६० वर्षमाथिका दलित, एकल महिला, पूर्ण अपांगता भएका, अति अशक्त अपांगता भएका, लोपोन्मुख जाति, दलित बालबालिका र पिछडिएका क्षेत्रका बालबालिकाका लागि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

भत्ता लिनेको संख्या बढेसँगै सरकारले गर्ने खर्च पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तामा ९६ अर्ब ६ करोड रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक वर्षको फागुन मशान्तसम्मको ८ महिनामा नै ७० अर्ब ३५ करोड रुपैयाँ खर्च भइसकेको छ । यो आर्थिक वर्षमा अझै ४ महिनाको भत्ता वितरण गर्न बाँकी नै छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा सबै नागरिकलाई समेट्न नसकिने र आर्थिक रुपले विपन्न नागरिकका लागि समेत राज्यले योगदान गर्नुपर्ने हुँदा सामाजिक सुरक्षामा राज्यले गर्ने खर्च कम हुने देखिँदैन ।

‘अन्तर्राष्ट्रिय अनुभव र नेपालको हालसम्मको प्रयोगको आधारमा सामाजिक सुरक्षा प्रणालीको दिगोपना कायम गर्न वैकल्पिक स्रोतको समेत पहिचान गरी आगामी वर्षहरुमा सरकारको आर्थिक दायित्व भार क्रमशः न्यूनीकरण गर्दै लैजानुपर्ने देखिन्छ’ सर्वेक्षणमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?