+
+

पशु स्वास्थ्यलाई प्राथमिकतामा राख्‍न सरकार प्रतिबद्ध छ:  मन्त्री भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १६:२५

१४ जेठ, मकवानपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले मानव स्वास्थ्य सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार काठमाडौंमा भएको महिला पाराभेटेनरियनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन्। उनले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्व दिने बताए ।

उनले भने, ‘हामीले मानव स्वास्थ्यको बारेमा धेरै ख्याल गर्छौं। धेरै अस्पतालहरु समेत खोलेका छौं। तर पशुस्वास्थ्यलाई सरकारले नै उपेक्षा गरेका छौं भन्ने लाग्छ । पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको छ भन्ने कुरा बिर्सेर यसो गरिरहेका छौं। हामीले त्यो बुझाउन आवश्यक छ। पशु स्वास्थ्यलाई सरकारले जति महत्व दिनुपर्ने हाे दिइरहेका छैनौं। अब सरकारले पनि महत्व दिनुपर्छ।’

उनले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको विषय बुझ्न नसकिएको बताए । मन्त्री भुसालले सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्व नदिएको स्वीकार गरे।

उनले भने, ‘पशु स्वास्थ्य सेवाको क्षेत्रलाई पनि मानव स्वास्थ्य सेवाको क्षेत्रमा जस्तै महत्वका साथ अगाडि बढाउनुपर्छ । त्यसका लागि धेरै काम भए पनि अहिलेदेखि थालनी गर्नुपर्छ ।’

उनले अब सरकारले पशु स्वास्थ्य क्षेत्रका भएका कानून परिमार्जन र नयाँ कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताए ।

‘अहिले भइरहेका ऐनको परिमार्जनको विषयमा कुरा उठेका छन् भने सरकारले कतिपय नयाँ ऐनहरु पनि बनाउनुपर्नेछ । बनेका ऐनहरुको नियमावलीहरु नबन्ने नकारात्मक प्रवृत्तिहरु छन् । तिनीहरुलाई हटाउँदै लैजानुपर्छ।’

मन्त्री भुसालले भेटेनरी क्षेत्रमा देशैभर महिलाहरुकाे सक्रिय सहभागिता देख्दा खुशी लागेको बताए । उनले समाज रुपान्तरणको क्षेत्रमा महिलाले नेतृत्व लिन आवश्यक रहेको भन्दै अब महिलाहरु हेपिएर बस्न नहुने बताए।

उनले भने, ‘अब महिलाहरुलाई हेप्छन् भन्ने जमान गए । तपाईंहरुले पनि महिलालाई हेप्छन् भन्न छोड्नुहोस् । अब पनि महिलाहरुलाई चुलोचौकामा मात्रै सीमित गरिन्छ भनेर किन भन्ने।’

उनले महिलाहरु चुलो चौकामा मात्रै बस्नुपर्छ भन्ने युगको अन्त्य भएको पनि बताए। ‘महिलाहरु देशभर यसरी सक्रिय भएर लाग्नुभएको छ। अब महिलाहरु समाजलाई कसरी अगाडि बढाउने भन्ने हिसाबले अगाडि बढ्न आवश्यक छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?