
काठमाडौं । पहिले यस्तो समय थियो, घरमा आएका पाहुनालाई करुवामा पानी दिएर सत्कार गरिन्थ्यो । पित्तल वा तामाबाट बनेको करुवाबाट पानी पिउनुको आनन्द नै बेग्लै हुन्थ्यो । करुवा नभएको घर सायदै हुन्थ्यो ।
तर समय परिवर्तनसँगै करुवाको स्थान गिलासले ओगट्न थाल्यो । अहिले काँच, सिसा, प्लास्टिक वा स्टीलको गिलासमा पानी पिउने चलन छ । पहिले पहिले भोजभतेरमा समेत प्रयोग गरिने करुवाको प्रयोग अहिले पूजाआजा गर्नेबेलामा मात्रै सीमित छ भन्दा हुन्छ । कतिपय घरमा सजाउन मात्रै राखिएको देख्न सकिन्छ ।
मौलिकता झल्किने करुवाको चलन किन हराउँदै गयो त ?
तीन दशकदेखि भक्तपुर गोलमढीमा भाँडा पसल सञ्चालन गर्दै आएका दिनेश ताम्राकार प्लास्टिक र काँचका गिलास र बोतल छ्याप्छ्याप्ती आउन थालेपछि करुवाको चलन हराउन थालेको बताउँछन् । ‘उहिले करुवा नहुने घर नै हुँदैथे । अहिले कति घरमा होलान्, तर सजाउन मात्रै राखिएको हुन्छ,’ उनी भन्छन्, ‘प्रयोग भने काँच र प्लास्टिकका गिलास मात्रै हुन्छन् ।’
प्रयोग घटेपछि अहिले करुवाको बिक्री पनि खासै नहुने उनी बताउँछन् । पहिलेको तुलनामा ७० प्रतिशत बिक्री कम हुने गरेको ताम्राकार सुनाउँछन् । ‘त्यसमा पनि गाउँका र उपत्यकाबाहिरबाट घुम्न आउनेहरुले करुवा किन्छन्,’ उनी भन्छन् ।
छोरीको विवाह हुँदा धेरैले गोडधुवा (उपहार) दिंदा करुवा नै रोज्ने गर्थे । अहिले बजारमा नयाँ नयाँ उपहार सामग्री पाइन थालेपछि यसको चलन पनि घट्दै गएको ताम्राकार बताउँछन् ।
‘उहिले बिहेको सिजनमा करुवा किन्न आउनेको ताँती लाग्थ्यो । अहिले जीवनशैलीमा परिवर्तन आएसँगै यो चलन हराउँदै गएको छ,’ उनी भन्छन् ।
करुवा सफा गर्न पनि झन्झट लाग्न सक्छ । खरानीले सफा गर्नुपर्ने, गह्रौं हुनु, पैसा अलि बढी लाग्नेजस्ता कारणले पनि करुवाको प्रयोगमा कमी आएको हुन सक्ने ताम्राकार बताउँछन् ।

करुवाको मूल्य कति ?
करुवा सानोदेखि ठूलोसम्म साइजमा पाइन्छ । घरायसी प्रयोजनका लागि मझौला आकारको करुवा चल्तीमा छ । यो करुवाको मूल्य एक जार ४०० देखि दुई हजार रुपैयाँसम्म पर्ने ताम्राकार बताउँछन् ।
करुवाको तौलअनुसार पनि मूल्यमा फरक पर्न सक्छ । यसैगरी पित्तलको भन्दा तामाको करुवाको मूल्य बढी पर्छ ।
कसरी बनाइन्छ करुवा ?
पित्तलको भाँडा व्यवसायी मनिराज कसलवतका अनुसार करुवाको छुट्टाछुट्टै भाग बनाएर पछि जोडिने बताउँछन् । जस्तै, अखुंचा दुई भाग (पानी निस्कने लाम्चो भाग), करुवाको बीचबाट तलको एउटा पाटो र माथिल्लो भाग छुट्टै गरी चार भाग छुटाछुट्टै बनाएर जोड्ने गरिन्छ । सयवटा करुवा एक हप्तामा बनाउन सकिने कसलवत बताउँछन् ।
आजभोलि करुवा एकदम कम बिक्री हुने भएकाले उत्पादन पनि धेरै नगर्ने उनी सुनाउँछन् । ‘सयवटा बनाउँदा तीन-चार महिनाको लागि पुग्छ, त्यसैले अहिले अर्डर आएमा मात्र बनाउने गरेका छौं,’ कसलवत भन्छिन् ।
करुवामा पानी खाँदाका फाइदा
पित्तल मिश्रित धातु भएकाले करुवामा पानी राख्दा ब्याक्टेरिया नष्ट हुने पोषणविद् अनुश्री आचार्य बताउँछिन् । ‘पित्तल वा तामाको भाँडोबाट पानी पिउँदा पेटमा नकारात्मक असर गर्ने ब्याक्टेरिया नष्ट गरेर पेटसम्बन्धी हुने रोगबाट बचाउन मद्दत गर्छ । यसले रगत पनि शुद्ध गर्छ,’ उनी भन्छिन् ।
प्रतिक्रिया 4