
काठमाडौं । आफ्नो पछिल्लो गीति भिडियो ‘सकम्बरी’ले देशमा चर्चा बटुल्दा प्रकाश सपुत अमेरिकामा थिए । उनले त्यहाँबाट गीतलाई लिएर भइरहेका विवाद र आरोपबारे जवाफ दिए । एक महिनाअघि रिलिज भएको यो गीतलाई अहिलेसम्म ३ करोड ३१ लाख पटक हेरिएको छ ।
प्रकाश अहिले स्वदेश फर्किएका छन् र उनकै उपस्थितिमा आइतबार बेलुका काठमाडौंमा ‘सफलता र समीक्षा’ कार्यक्रम गर्दै ‘सक्सेस सेलिब्रेसन’ गरियो । विभिन्न अतिथिलाई बोलाएर गीतमाथि विमर्श चलाइयो । स्वयं प्रकाशले पनि गीत र यसलाई लिएर भएका आलोचनाको जवाफ दिए ।
‘गीत मात्र हेर्दा एकपक्षीय लाग्न सक्छ । मलाई फूलमाया र सकम्बरीको कथा भन्नुपर्ने थियो । गीतको लय र भाखा पूर्ण छ,’ उनले भने, ‘यतिबेला सक्षम भइसकेका नारीको आवाजभन्दा पनि जो बोल्न सकिरहेका छैनन्, जसले आत्मनिर्णय गर्न सकेका छैनन् र जो स्वतन्त्र छैनन्, सिर्जनामार्फत उनीहरुको आवाज बोलिदिने बेला हो । आगामी सिर्जनामार्फत हामीले ती कुरा भन्नेछौं ।’
नेपाल लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले गायक सपुतको व्यक्तित्व र सिर्जनशीलतामाथि प्रशंसा बर्साइन् । ‘मलाई त लाग्छ प्रकाश सपुत लोकसंगीत क्षेत्रका पागलजस्तै हुन् । कहाँ कसरी गएर सिर्जना गरे होलान् । मलाई उनलाई म्याड म्यान भन्न मन लाग्छ,’ थापाले भनिन् ।
सपुतको गीतको विरोधमा संस्थामा उजुरी लिएर केही आए पनि आफूहरुले चिया खुवाएर सम्झाइबुझाइ पठाएको थापाले बताइन् । ‘प्रकाशका सिर्जना मान्छेलाई पागल नै बनाउने खालका हुन्छन् । यति धेरै सिर्जना फुर्छन् कि उहाँको गीत निस्किसकेपछि समाज नै उथलपुथल हुन्छ । कतिपय दिदीबहिनीले यो गीत बन्द गर्नुपर्छ भनेर आउनुभएको थियो । ती दिदीबहिनीलाई चिया खुवाएर सम्झाउने बुझाउने कोसिस पनि गर्यौं,’ उनले भनिन् ।

उनको जवाफमा प्रकाशले आफू सचेत पागल भएको प्रतिक्रिया दिए । भिडियोकी अभिनेत्री कुसुम शर्मालाई पनि मिडियाले प्रश्न छरे । पछिल्लो पटक प्रकाशका भाइ सुनिलसँग नाम जोडिएकोतर्फ लक्षित गर्दै सोधिएको जिज्ञासामा कुसुमले भनिन्, ‘जोसँग काम गर्यो, उहीसँग नाम जोड्न थाल्यो भने त भोलिका दिनमा सबैसँग नाम जोडिएला । म कसैको प्रेममा छैन । हामी साथी मात्र हौं ।’
तपाईंलाई भोलिका दिनमा आफू पनि सकम्बरीजस्तै हुन्छु कि भन्ने डर छ कि छैन भनेर सोधिएको अर्को प्रश्नमा उनको जवाफ थियो, ‘म यो कुरामा सजग छु । मलाई हरेक स्टेपमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ ।’
प्रतिक्रिया 4