
काठमाडौं । दृष्टिविहीनका लागि उपयुक्त सीपसँग जोड्ने पाठ्यक्रम तयार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल नेत्रहीन संघले शुक्रबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिका लागि उपयुक्त सीपसँग जोड्न आवश्यक पाठ्यक्रम र कार्यक्रम तयार गर्नुपर्ने बताए । दृष्टिविहीनहरुका लािग स्वरोजगार तथा रोजगारीसँग जोडिन सहयोग मिल्ने वातावरण तयार गर्न सरोकारवाला संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको महिला विभागका निर्देशक नीरा अधिकारीले अवसर पाए अपाङ्गता भएका व्यक्तिले गर्न नसक्ने केही नहुने बताइन् । नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले हालसम्म करिब सात हजार जना अपाङ्गता भएका व्यक्तिले विभिन्न प्राविधिक तालिम लिएर करिब ८०० जनाले आत्मनिर्भर जीवन बाँचेको बताए ।
‘दृष्टिविहीन व्यक्तिले शिक्षण, साबुन, धुपबत्ती बनाउनेदेखि वाइल्डिङसम्मको काम गर्न सक्छन् ।तर आवश्यक सीप र त्यसपछिको रोजगारीको अवसरका लागि राज्यले प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मै छुट्टै पाठ्यक्रम तयार गर्नुपर्छ’, उनले भने ।
प्रतिक्रिया 4