
१५ जेठ, काठमाडौं । भारतीय संसदको नयाँ भवन उद्घाटन क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी भुइँमा लम्पसार सुतेको तस्वीर भाइरल भयो ।
एउटा दृश्य, जसतर्फ कमैको ध्यान गएको छ । त्यो हो– अखण्ड भारतको मुरल नक्सा ।
भाजपाका नेताहरुले मोदीसँगै गएर त्यहाँको संसद भवनको मुरलमा तस्वीर खिचाइरहेका थिए । अनलाइनखबरले माथि प्रकाशित गरेको तस्वीर भाजपा सांसद मनोज कोडाकको हो ।
यो तस्वीर ट्वीट गर्दै उनले लेखेका छन्, ‘नयाँ संसदमा अखण्ड भारत । यसले हाम्रो शक्तिशाली र स्वनिर्भर भारतको प्रकटीकरण गर्छ । धन्यवाद प्रधानमन्त्री मोदी । मेरो संसद, मेरो गौरव ।’
अरु थुप्रै सांसद र भाजपा कार्यकर्ताले प्रशंसामा तस्वीर पोस्ट गरेका छन् । अखण्ड भारतको नक्सा तिनमा समावेश छ ।
यो मुरलको माथिल्लो भागमा नेपालका कपिलवस्तु, लुम्बिनीजस्ता ठाउँहरु स्पष्ट समावेश गरिएको देख्न सकिन्छ । भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिला पनि यही मुरलमा गाभेर देखाइएको छ । प्राचीन इतिहासकै अध्ययन गर्ने क्रममा प्राज्ञिक विमर्श हुन सक्ने भए पनि नक्साकै माध्यमबाट नयाँ विवाद झिक्ने भारतीय सोच स्पष्ट देखिन्छ ।
Akhand Bharat in New Parliament 🚩
It represents our Powerful & Self Reliant India.
Thank You PM @narendramodi ji#MyParliamentMyPride pic.twitter.com/bjod5UtM12
— Manoj Kotak (@manoj_kotak) May 28, 2023
सत्तारुढ भारतीय जनता पार्टीका लागि यो कुनै नयाँ कुरा भने होइन । किनभने यो दलको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघले भारतमात्रै नभई छिमेकमा पर्ने ठाउँहरु पनि अखण्ड भारतमै गाभिनुपर्ने ठान्छ । तर सार्वभौम भारतीय नागरिकको सर्वोच्च प्रतिनिधि थलोजस्तो संवेदनशील ठाउँमा नेपालसमेतको भूभाग देखाउँदै मुरल राखिनु आपत्तिजनक मान्छन् नेपालका नेताहरु ।
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदजस्तो संवेदनशील ठाउँमा नेपालका भूभागहरु समेटेर मुरल बनाइनु आपत्तिजनक भएको टिप्पणी गरे । ‘इतिहासमा कहिल्यै पराधीन नभएको नेपालका भुभागहरुलाई राखेर भारतले संसदमा नक्सा बनाउँदा यहाँको सरकारले तुरुन्तै प्रष्ट जानकारी लिनुपर्छ । आपत्ति जनाउनुपर्छ,’ उनले भने ।
उच्च तहका सरकारी प्रतिनिधिसँग यसबारे कुरा गर्न खोज्दा उनले विस्तृतमा बुझेर मात्रै टिप्पणी गर्ने बताए । उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘यदि यो खबर सत्य हो भने हामीले गम्भीर हुनुपर्छ ।’
सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री प्रचण्डको दुई दिनपछि हुने नयाँ दिल्ली भ्रमणको मुखमा आएको यस्तो खबरले यात्रा नै खल्लो बनाउन सक्छ । आसन्न भ्रमणमा ठूला नीतिगत छलफलहरुमै सरकारी पक्ष बढ्ता केन्द्रित हुने भए पनि दुईदेशीय सम्बन्धतामा तिक्तता ल्याउने सबैखाले गतिविधि रोकिनुपर्ने जानकारहरु बताउँछन् ।
प्रतिक्रिया 4