
काठमाडौं । तपाईं हिमालय टिभी एचडीमा प्रसारण हुने सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ नियमित हेर्नुहुन्छ भने बुधबारको एपिसोड रोचक रह्यो । यो भागमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि पाहुनाको रुपमा उपस्थित थिए । जहाँ उनले नाचे, मन्त्रीको रुपमा कुरा राखे र सहयोगी हात बढाए ।
मन्त्री किरातीकै नेतृत्वमा १२ सातादेखि पशुपति क्षेत्रको सरसफाइ चलिरहेको थियो । त्यसको सेलिब्रेसन गर्न पनि उनी इन्द्रेणीमा उपस्थित रहे । उनलाई इन्द्रेणीमार्फत उपचार सेवा पाउन नसकेका दुःखी गरिबलाई तलबको आधा रकम दिने घोषणा गरे । ‘मेरो तलब महिनामा ६०–७० जति हुन्छ । यसको आधा ३० हजार इन्द्रेणीलाई प्रदान गर्न चाहन्छु,’ उनले भने, ‘जनताको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ भन्ने हाम्रो आवाज हो ।’
प्रकृति र संस्कृतिजस्ता सम्पदालाई देखाउन सके पर्यटक तान्न सकिने र नेपालीले बसीबसी खाने सक्ने उनको भनाइ छ । पशुपतिनाथ मन्दिर ३० वर्षयताकै सबैभन्दा सफा क्षेत्र बनेको भन्दै उनले पशुपतिलाई हिन्दू र अन्य धर्मावलम्बीबीच नरम कूटनीतिको माध्यम बनाउन सकिने बताए ।
संस्कृति समाजको आमा भएको बताउँदै मन्त्री किरातीले खादा र माला लगाउने प्रवृत्तिको विरोध गरे । ‘खादा मालाले जनतामा विकृति ल्याएको छ । नेता गाउँ जाँदा २०० किलोको माला लगाउने प्रवृत्तिको विरोध गरेको हुँ । माला र खादा लाउने नाममा नचिनिने गरी नलाऊँ । समय, शक्ति र सम्पत्ति खेर गइरहेको छ । खादा मालामा नअलमलिउँ भनेर मैले खादा माला नलाएको हुँ,’ उनले भने ।
इन्द्रेणीको उक्त कार्यक्रममा सञ्चालक कृष्ण कँडेलसहितका अन्य पाहुना पनि मन्त्री किरातीसँग नाचेका थिए ।
प्रतिक्रिया 4