काठमाडौं । पेशाले विमान चालक हुन् रेना मजगैयाँ । तर उनको परिचय यतिबेला मिस नेपाल अर्थ-२०२३ को रुपमा फेरिएको छ । यसैसाता यी सुन्दरीले घरेलु ब्युटी पेजेन्टको प्रतिष्ठित ताज जितेकी हुन् । आठ वर्षदेखि नेपाली आकाशमा जहाज उडाउँदै आएकी यी सुन्दरीसामु यतिबेला नेपालको जैविक र सांस्कृतिक विविधता संरक्षणका लागि विश्व समुदायसामु सन्देश प्रवाह गर्नुपर्ने दायित्व छ ।
सुपरमोडलजस्तो लाग्ने अग्लो कद र चम्किलो आभा मिस नेपाल २०२३ को ग्राण्ड फिनालेमा चम्किएको थियो । जसै निर्णायकले मिस अर्थ विजेताको रुपमा उनको नाम घोषणा गरे, त्यतिबेला अनलाइनखबरले जितको रहस्यबारे सोधेको थियो । उनको जवाफ थियो, ‘म ब्रह्माण्डसँग आभारी छु । किनभने म ब्रह्माण्डको आकर्षणको नियममा विश्वास गर्छु । यदि तिमीले भित्री मनदेखि केही गर्ने इच्छा राखेका छौ भने ब्रह्माण्डले पनि तिमीसँगै काम गर्नेछ ।’
तीव्र इच्छाशक्ति, दृढता र धैर्यको कारण आफू मिस नेपालमा सफल भएको उनको बुझाइ छ । ‘मेरो लागि यो ताज ठूलो जिम्मेवारी हो । मिस अर्थ बनेर सांस्कृतिक र जैविक विविधतालाई प्रतिनिधित्व गर्ने सोच छ । त्यही भएर यो क्राउनसँग एकदमै ठूलो जिम्मेवारी जोडिएको छ,’ रेना भन्छिन्, ‘म कुनै पनि कुरालाई ग्रान्टेड लिन्नँ ।’
हामीसँग अन्तर्वार्ता चलिरहँदा उनी हरियो ब्लेजरमा प्रस्तुत थिइन् । मिस अर्थ भएदेखि उनको यो स्वभाविक छनोट पनि हो । किनभने वातावरणको रङ नीलो र हरियो हुन्छ । ‘डार्क ग्रीन मेरो मनपर्ने रङ पनि हो,’ भन्छिन्, ‘मिस अर्थ भएकाले मैले के कुुराको प्रतिनिधित्व गर्दैछु भन्ने कुराबारे जानकारी पनि हुने भयो ।’
‘कम्फर्ट जोन’मा बस्न कतिपयलाई उकुसमुकुस हुन्छ । रेनाले पनि यो सीमितता तोड्न खोजिन् । आठ वर्षदेखि पाइलट बनेर काम गर्दा उनलाई नेपाली आकाश पनि साँघुरो लाग्न थालिसकेको थियो । पाइलट बनेर हावामा कावा खाँदा उनमा मिस नेपालको प्लेटफर्ममार्फत आवाज फैलाउने सोच पलायो ।
रेना भन्छिन्, ‘जीवनमा केही ठूलो कुरा गर्न चाहन्थें । आफूले आफूलाई कम्फर्ट जोनमा राख्नुपर्छ भन्ने पक्षमा म छैन । कम्फर्ट जोनमा राख्दा आफू कहिल्यै मान्छेको रुपमा ग्रो-अप हुन सकिंदैन भन्छु म । तपाईंलाई गर्न मन लागेको कुरा छ भने गर्नुस्, इच्छा लागेको खानुस् । यसकारण म आफूलाई सीमित परिधिभित्र राख्न चाहन्नँ ।’
उनका लागि मिस नेपाल नयाँ थियो । ‘विशुद्ध नयाँ । यसलाई मैले आफ्नो च्यालेन्जको रुपमा लिएँ । लगनशील भएर लागें । व्यक्तिगत अनुभवका कारण पनि ठूलो कुरा थियो,’ रेना सुनाउँछिन् । भविष्यमा उडान र पेजेन्ट करिअर दुवैलाई अघि बढाउने उनको सोच छ । ‘भविष्यमा पहिलेकोजस्तो फ्लाइट गर्न नपाउँला । तालिका मिलाएर उडानमा पनि जान्छु । साथै मिस नेपाल अर्थको दायित्वलाई पनि सँगै अघि बढाउँछु,’ उनी भन्छिन्, ‘किनभने एभिएसनले मलाई चिनाएको हो ।’
हिमाल पग्लिएको मुद्दा प्रस्तुत गर्ने चाहना
मिस अर्थ भन्ने बित्तिकै जलवायु र वातावरणीय संरक्षणका लागि आवाज उठाउने सुन्दरी प्रतियोगिताको प्लेटफर्म भन्ने बुझिन्छ । यसलाई संसारकै प्रतिष्ठित ब्युटी पेजेन्टमध्ये मानिन्छ । यसैवर्ष रेनाले यो अन्तर्र्राष्ट्रिय प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्दैछिन् ।
‘हामी उत्तरदायी हुनुपर्ने समय हो अहिले,’ उनी भन्छिन्, ‘नेपालको सन्दर्भमा कार्बन फुटप्रिन्टले नेपालको जलवायुलाई कसरी असर पारिराखेको छ, यसको लागि चेतना कसरी जगाउने, नेपालको जैविक विविधतालाई कसरी बचाउने भन्ने कुरालाई मिस अर्थमा एजेण्डाको रुपमा लैजान्छु ।’
हिमनदी पग्लिएको, समुन्द्री सतह बढेको, वन डढेलो, तातो हावा, अतिवृद्धि र अनावृष्टि पछिल्लो समयका जलवायु संकटका ठूला उदाहरणको रुपमा उनी प्रस्तुत गर्छिन् । ‘यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३.२ डिग्री पुग्ने भविष्यवाणी पनि वैज्ञानिकले गरेका छन् । हामी उत्तरदायी हुनुपर्ने यो ठूलो समय हो,’ नेपाली नीति निर्मातालाई उनको आग्रह छ ।
पाइलट भएर पर्वतीय उडान भर्दा रेनाले हिउँ पग्लिएका काला चट्टान मात्र देखिन् । ‘म आफैंले हेर्दा छक्क परेको थिएँ । सेतो हिमालको सट्टा कालो चट्टान देखेकी थिएँ । हिमाल भनेको नेपालको ताज हो । ग्लोबल वार्मिङले यस्तो भइसक्यो कि नेपालको हिमाल पग्लिएर चट्टान देखिएको छ,’ रेना भन्छिन्, ‘यो देख्दा त्यतिबेला नै सगरमाथाको इको-सिस्टमलाई लिएर केही गर्छु भन्ने सोच आएको थियो ।’ उनले मिस नेपालको फिनालेमा तयार पारेको ब्युटी विथ पर्पस सहविधाको विषय पनि सगरमाथाको फोहोर संकलनबारे थियो । त्यतिबेला उनले सन् २०१९ मा त्यहाँ ११ टन फोहोर संकलन भएको तथ्य प्रस्तुत गरिन् ।
‘सगरमाथाबारेको यो तथ्य र संकट अन्तर्राष्ट्रिय अधिकारीलाई प्रस्तुत गर्ने मेरो सोच छ,’ उनी भन्छिन्, ‘किनभने उडान क्षेत्र पनि पर्यटनसँग जोडिएको छ । यसकारण सगरमाथाको फोहोर संकलन गर्ने कार्यलाई मद्दत गर्छु ।’ मिस नेपालको कार्यकाल सकिए पनि सद्भावना दूतको रुपमा उक्त प्रोजेक्टलाई अघि बढाउने सोच उनको छ ।
रेनालाई लाग्छ, यदि उनी वातावरण मन्त्री बन्ने मौका पाए कार्बन उत्सर्जन न्यूनीकरणका कार्बन करको नीति लागू गर्थिन् । जसले गर्दा कार्बन उत्सर्जनको प्रतिशत घट्ने उनको बुझाइ छ । अर्कोतर्फ नवीकरण ऊर्जाका स्रोतको प्रयोगमा जोड दिने र लामो समयदेखि प्रयोगमा आएका सवारीसाधनलाई रोकेर बिजुली गाडी प्रयोगमा प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।
एरोब्याक्टिस उनको रुचि हो । समय मिलेमा विदेश गएर उडान कौशल सिक्ने उनको रुचि छ । ‘भविष्यमा यो पक्कै गर्न चाहन्छु,’ रेना भन्छिन्, ‘यसबाहेक हरर र साइन्स फिक्सन फिल्म हेर्न रुचाउँछु ।’ उनी समाज र परिवारको दबाबमा परेर आफ्नो सपना पूरा गर्न नसकेका युवतीको रोल मोडल बन्न चाहन्छिन् । ‘यसरी १० जनाको जीवन सुधार्न सकें भने मलाई सन्तुष्टि मिल्नेछ । अप्रोच आइहाले मोडलिङ र फिल्ममा पनि प्रयास गर्छु । नयाँ कुरा सिक्न र जान्न मेरो रुचि छ,’ उनी भन्छिन् ।
रेना पूर्वमिस नेपाल अनुष्का श्रेष्ठबाट प्रभावित छिन् । ‘उहाँको औरा (आभा) र मान्छेलाई प्रोत्साहन गर्ने शैली निकै मनपर्छ,’ उनी भन्छिन् ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4