
१८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक भारतको स्वार्थमा प्रमाणीकरण भएको आरोप लगाएका छन् । बिहीबार एक विज्ञप्ति जारी गरी उनले उक्त विधेयक प्रमाणीकरण गर्ने स्वार्थमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको पनि दाबी गरेका छन् ।
विगतमा धेरै भारतीयले जन्मको आधारमा नेपाली नागरिकता लिएका भन्दै केसीले अहिलेको विधेयकले उनीहरुको सन्तानलाई वंशजको नागरिकता पाउने बाटो खुला गरेकाले विधेयक राष्ट्रहित विरुद्ध रहेको बताएका छन् ।
‘विगतमा लाखौँ भारतीयहरुले नेपालमा जन्मको आधारमा नागरिकता प्राप्त गरेका थिए । त्यसरी जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान यो नागरिकता विधेयकमा सम्मिलित रहेको छ । त्यसरी जन्मको आधारमा नागरिकता प्राप्त गरेका गैर नेपालीका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने छन् ।’
संघीय संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राखेकी थिइन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका थिए । केसीले तत्कालिन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि र त्यतिबेलाको संसदको कार्यकाल समाप्त भएपछि नागरिकता विधेयकले कानुनी हैसियत गुमाइसकेको बताएका छन् ।
सरकारले आफ्नो आयु लम्ब्याउन मात्र विधेयक पारित गरेको केसीले टिप्पणी गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान सरकारले भारतको समर्थन प्राप्त गर्न र आफ्नो सरकारको आयु लम्ब्याउनका लागि नै गैरकानुनी तथा गैरसंसदीय बाटोबाट नागरिकता विधेयक राष्ट्रपतिलाई प्रमाणीकरण गर्न लगाएर नेपालको राष्ट्रिय हित विरुद्ध सौदाबाजी गर्ने कार्य गरेको छ ।’
प्रतिक्रिया 4