
काठमाडौं । नेपाली फिल्म ‘परस्त्री’को संगीत वितरण अधिकार भारतीय संगीत कम्पनी बीफोरयु म्युजिकले खरिद गरेको छ । शुक्रबार मुम्बईमा फिल्म निर्मात्री शर्मिला पाण्डे र बी फोर यु ब्रोडब्याण्ड इण्डिया प्रालिका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सहमतिअनुसार कम्पनीले फिल्मको हिन्दी संस्करणको संगीतको स्ट्रिमिङ अधिकार लिनेछ । ‘यो सहमतिले फिल्मको संगीतलाई नयाँ उचाइमा लैजाने विश्वास हामीले लिएका छौं,’ निर्देशक सुरज पाण्डेले मुम्बईबाट अनलाइनखबरसँग भने । फिल्मको हिन्दी गीतमा यसअघि नै अमित मिश्र, सोनल प्रधान र कुनाल गञ्जवालाले स्वर दिइसकेका छन् ।
आगामी सोमबारसम्म फिल्मको हिन्दी फिल्मको वितरक टुंगो लागेको जनाइएको छ । चीन र जापानलगायत मुलुकमा स्थानीय भाषामा स्वरांकन गरेर समेत फिल्मलाई रिलिजको तयारी भइरहेको जनाइएको छ । आगामी असार १५ गते नेपालमा प्रदर्शन तयारी भइरहेको यो इरोटिक ड्रामामा कोसिस क्षेत्र, शिल्पा मास्के र गौरव विष्टको शीर्ष भूमिका छ ।
दीपेन्द्र के खनालको पटकथा लेखन रहेको फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको छ ।
प्रतिक्रिया 4