
२० जेठ, काठमाडौं । सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरुले फिर्ता नगरेको सर्वसाधारणको वचत रकम फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म याचना गर्दा पनि सुनुवाइ नभएको बताए ।
संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको वचत फिर्ताको लागि राज्यका सबै निकाय धाउँदा कतै पनि सुनुवाइ नभएपछि संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताइन् ।
उनले सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुलाई आफैंले नीति नियम बनाउन बन्द गर्नुपर्ने माग गरिन् । सहकारीमा वचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको उनको भनाइ छ ।
अध्यक्ष राजभण्डारीले काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको गुनासो गरिन् ।
अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका वचतकर्ताहरु एक ठाउँमा रहेको उनको भनाइ छ । सहकारीमा बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर वचत गर्नेहरुको रकम फसेको अध्यक्ष राजभण्डारीको भनाइ छ ।
पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, वचतकर्ता रकम अविलम्व फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर लगायतको माग राखेका थिए ।
प्रतिक्रिया 4