
वियोगमा छ समय । त्यो वियोग जसले कुनै दिन सुख दिएको थियो, कुनै दिन फेरि सुख दिने नै छ । तर आज दुःख छ ।
सुखको नाम पनि छ, बदनामी पनि छ । सुस्काइन् पार्वती । छोरीको फोन बज्यो मोबाइलमा । उठाइन् नोकियाको सामान्य फोन । आफ्नो मोबाइलको सेटबाट दर्शन गरिन् छोरीले । खुल्न नसकेको आँखाको मुस्कान अन्धकारलाई देखाइन् आमाले ।
‘तपाईं मेरोमा आएर बस्नुस्’ निर्देशन मिसिएको आग्रह गरिन् छोरीले ।
‘छोरोले लगेन, छोरीकोमा जान्छु म !’ आमा खिन्न बनिन् । हेरिन् अन्धकार, उज्यालो त केवल उनको कानले श्रवण गर्न पाएको छ । अनुहारमा त अन्धकार छ । उनको उमेरले पनि यस्तै भन्छ ।
बुढाले भर्खर वृद्ध भत्ता समाउन पाएका थिए । लापरबाहीले नागरिकतामा जन्ममिति गल्ती लेखिदियो । १५ वर्ष ढिला पाएका थिए सरकारी सुविधा । तर वास्तविक उमेरले ढाँटेन । लगिहाल्यो समयमै । बाको गएको वर्ष चौरासी थियो । भर्खर श्राद्ध गरेर शहर फर्केको छ छोरो ।
छोरो शहरमा कतै कसैको घर कुर्छ । सम्झिइन् पार्वती । बुहारी अर्को शहरमा खै के काम गर्छे ? खिन्न भइन् सासू ।
यसो कहिलेकाहीं घर आउनू, घर सम्हाल्नू । आफ्नो रगत पनि त आउँदैन गाउँ । सम्झिइन् छोरो ।
छोरोले प्रगति गरेन । सधैं यस्तै सोच्ने गर्छिन् उनी । सोचिरहिन् अहिले पनि । घर छेउका आफन्त दशैंमा शहर जान्छु भन्दैछन् । दशैं आउँदैछ । उतै दशैं मनाउने अरे ! गाउँ यसै त एक्लै छ । अझ भएका बुढाबुढी पनि शहर लाग्ने अरे ! अझ एक्लो बनाउने भए देवर–देवरानीले ।
अन्धकार बाक्लिंदै थियो । ‘कस्ता दिन आए ?’ सुस्त बोलिन् पार्वती ।
नरमाइलो उनको मनलाई चिसो बनाएर गयो । सबैले छोडेर जाने भए ।
आफ्नो बुढाले त छोडेर गए । अरूको के आशा गर्नु ! कोल्टो फेरिन् पार्वती । खिन्न खुम्चेको अनुहार देखाइन् भित्तालाई । अन्धकार बोल्न लाग्दै थियो ।
‘म त बुढो हुन लागे हजुरआमा’ पल्लो घरको नाति भन्दै थियो– ‘३५ नाघिसकें ।’
‘अब हामीलाई बाँच्ने के अधिकार छ र ?’ भन्दै थिइन् जेठानी ।
‘समयमै गए देवर । घिटीघिटी भएर के बाँच्नु ?’ फेरि बोलिन् जेठानी ।
‘बरु कहिले लान्छौ मलाई पनि ?’ भित्तामा हेरिन् पार्वती, अन्धकारमा झ्यालबाट आएको मन्द प्रकाशले सिलिङको फलाम टल्किरहेको थियो ।
कृष्णको बुढी सम्झिइन् । साना छोराछोरीको माया मारेर गई । आफ्नै ज्यान कसैले किन लिन सक्छ ? बुझ्दैछिन् आज ।
कृष्णको छोराछोरी सम्झिइन् । च्यू च्यू च्यू … हृदयको एक कुनाबाट निक्लिएर सञ्चारित भयो माया । सम्झिइन् कृष्णकी आमा । दुःख दिई बुहारीलाई । धन्न बसेकी थिई बुहारी ऊसँग । सज्जन थिई बुहारी । आमा नै अगतिली ।
आज उसको पनि त मेरै जस्तै हालत छ । एक्लै छे । छोरो विदेशमा छ ।
‘धेरै नसोच । छोरोलाई धेरै किचकिच पनि नगर’ सुस्त बोले हरिका बा । पल्लो खाटमा सुत्न सकेका रहेनछन् । यसै त बोल्दा अकमकाउने उनी बुढीसँग राम्रोसँग बोल्न पनि सक्दैनन् ।
‘के किचकिच गरेको छु र ?’ कडा स्वरमा बोलिन् पार्वती ।
‘छोरोले गरेकै छ त’ फेरि सुस्त बोले बुढा ।
‘पल्लो घरको भतिजले बढी गरेको छ । मेरो छोराले किन ऊ जत्तिको प्रगति गर्न सकेन ?’
‘सकेको गरेकै छ’ उही सुस्त स्वर बोल्यो । राम्रोसँग देख्न–सुन्न सक्दैनन् बुढा । समस्यालाई अझ गम्भीर बनाएको थियो उमेरले ।
‘तिमी बढी नकराऊ, बुढा । एक आमाले छोराबाट बढी आशा गर्न हुँदैन’, उस्तै दृढ आवाजमा बोलिन् बुढी ।
उत्तर फर्काउन सकेनन् बुढाले । सुस्त सुस्केरा हाले ।
‘जाउ छोराकोमा । के एक्लै बस्छ्यौ’ माया मिसाउँदै बोले बुढा ।
‘जबसम्म शहरमा आफ्नै घर बनाउँदैन तबसम्म जान्नँ ।’
‘छोरालाई बाँच्न त देऊ’ हिम्मत गरे बुढाले ।
‘नकराऊ बुढा’ बुढीले गाली गरिन्, ‘तिमै्र कारणले हो छोराले प्रगति नगरेको । तिमी बाठो भइदिएको भए मैले बठ्याइँ गर्दै हिंड्न पर्थ्यो ?’
बुढाको भवभङ्गिमा भाव देखिएन ।
रोकिइनन् बुढी, अझ थपिन्, ‘आफू राम्रो भएको भए छोरो राम्रो बन्थ्यो ।’
एकनासले टोलाइरहे बुढा । तप्प आँसु चुहिए आँखाबाट । आँसुको ताल बन्यो आँखा र ताल छिचोलेर भेल बग्न थाल्यो । बग्यो निरन्तर अनि सुक्यो मुहान । अनायास रोकियो आँसु । अनि राता भए आँखा । आँखामा भरिन थाल्यो रगत । रगत चाउरी परेका गाला भिजाउँदै बग्न थाल्यो । विस्तारै अनुहार हरायो । हराउन थाल्यो बुढाको बाँकी रहेको शरीर । उड्दै गयो झ्यालको बाहिर । देख्यो पूर्णिमाको प्रकाश ।
आँखा खोलिन् बुढीले । छातीमा चिसो हुरी पस्यो । कोठामा पल्लो खाट एकनास उभिएको थियो । उस्तै उभिएको थियो उनको सुनसान कोठा । प्रभातको खोजीमा लम्कँदै थियो, रात । उठिन् पार्वती । खाटमा एक योगीझैं मुढा बनिन्, हेरिन् अन्धकार ।
अन्धकारले हेर्यो उनको आँखा । अन्धकारले सुन्यो उनको सुँक्क सुँक्क आएको आवाज । प्रस्ट सुन्यो बिहानीले उनको रुवाइ ।
अनि लम्पसार परिन् खाटमा । कहिले निदाइन् ? देखेन समयले । कहिले उठिन् ? देख्यो समयले । खोलिन् ढोका । घरभित्र छिर्न लाग्यो बिहानी । भन्यो अर्को दिन बाँच्नु छ ।
पल्लो घरमा सलबलाउँदै छन् मानिस । देवरानी सुकाउँदै छिन् आँगनमा अचारको सिसा ।
‘कान्छोलाई मन पर्छ कागतीको अचार’ परैबाट बोलिन् देवरानी ।
उनको छोरो गयो देश, कमायो धन । बन्यो सरकारी जागिरे । बनायो शहरमा घर । बुढा भए बा–आमा । लाँदैछ शहर । देवर र देवरानीले मनाउने भए काठमाडौंमा दशैं । भएका एक मात्र छिमेकी जाँदैछन् छोडेर । आउँदै छ चाडबाड ।
पढ्न सकेन मेरो छोरो । सकेन बीए पास गर्न । झुन्डियो धेरै वर्ष एकै विषयमा । गयो मुग्लान । जान सकेन खाडी । पठाउन सकिएन कतार, मलेशिया । गयो शहर । देख्यो ठूलो महल । अनि बन्यो महलको पहरेदार । साहुले राखे विश्वासिलो मानेर । आज ऊ निर्वाह गर्न सक्ने भएको छ ।
जसको निर्वाह मात्र हुन्छ, उसले प्रगति गर्न सक्दैन । सोच्छिन् पार्वती, ‘छोराले बनाउन सक्दैन काठमाडौंमा घर ।’ उनलाई चाहिएको छ शहरमा महल ।
तर भएको गाउँको घरलाई पनि हल्लायो भूकम्पले । भत्कायो घरको केही पाटो । गाउँमै बनाउनुपर्ने भयो अर्को घर । घरको लागि बेचिन् गाउँको पाटो । आफन्तले बनायो आफ्नै दैलो अघिको बारी आफ्नो । हेर्दा हेर्दै बन्यो बारी पराइको ।
हरेक बिहान देखिन्छ वर्षौं कर्म गरेको बारी । खरको छाप्रो साटेर बन्यो, टिनको घर । भूकम्पले अस्तव्यस्त बनाएको घरका थामहरू प्रयोग भए । बन्यो गक्षले भ्याएको नयाँ । एक वर्ष बस्न पाए बुढाले नयाँ घरमा ।
यही आफ्नो चौरासीको पूजा गरे । बने भगवान । अनि लागे आफ्नो बाटो । आफ्नो भगवानको घर । मलाई पनि छाडे बुढाले ।
छोरो बुहारीले त छाडेकै थिए । छोरीहरूलाई पनि बिदाइ गरिएकै थियो । अब आफ्नो बिदाइ कहिले ?
बसाइन् ग्याँसमा चिया । मन छैन बनाउन खाना ।
‘दिदी आज हाम्रोमा खाना खान आउनु है’ बोलाइन् देवरानीले झ्यालको बाहिर आएर । सधैं गइरहने घरमा आजकाल जान मन छैन । त्यो घरसँग माया र घृणाको सम्बन्ध छ ।
संसार, उत्कृष्ट दुश्मन को ?
साथी ।
अनि छिमेकी ?
दोस्रो उत्कृष्ट दुश्मन ।
तर मेरोमा अर्को विकल्प पनि छैन ।
खाना खाने बेला फेरि बोलाइन् देवरानीले ।
गइन् खुरुखुरु । खाना खाँदै देखाइन् देवरानीले शहर लान पारेका पोका–पुन्तुरो । हेरिन् अमिलो मनले ।
‘तपाईं आजकाल पहिलाको जस्तो हुनुहुन्न’, सोधिन् देवरानीले ।
‘बुढा नहुँदा बुढी कहाँ उस्तै हुन्छे र ?’ उत्तर दिइन् पार्वतीले ।
‘हरिले बोलाएको छैन तपाईंलाई शहर ?’ फेरि सोधिन् देवरानीले ।
बोलिनन् पार्वती । त्यसपछि बोलिनन् देवरानी पनि । सोधेकोमा पश्चात्ताप भयो उनलाई । उठिन् अनि भाँडा माझ्न कोठाको छेउको धारोमा गइन् ।
एक छिन् टोलाएर उठिन् पार्वती । आइन् घर । हेरिन् एकनास कोठा । उनको एकनास घर ।
गर्मी बढ्दैछ । सिलिङमा फ्यान छैन । सल उनको लुगाको थुप्रोमा उनलाई हेर्दै हाँसिरहेको छ । उनले सम्झिइन् बुढालाई ।
सम्झिइन् छोरोलाई । सम्झिइन् छोरीलाई । सम्झिइन् एकान्त । हेरिन् सल । अनि सिलिङको फलाम ।
बाहिर गर्मी बढ्दै थियो । लपेटियो घामले उनको पूरै घर । जस्तै लपेटेको थियो एकान्तले पार्वतीको मन ।
खाटमा बसिन् पार्वती । सुस्केरा हालिन् । कहिले ढल्कियो शरीर ?
‘हामी गयौं है भाउजू,’ देवर ढकढकाउँदै ढोकासम्म आइपुगे । उनको पछि थिइन् देवरानी । ढोकाबाट हेरिन् उनीहरूको आँगन । झोलाको भारी आँगनमा थियो ।
‘हामी छिटै आउँछौ दिदी’ साँचो र एक बट्टा पार्वतीको हातमा राख्दै देवरानीले भनिन्, ‘शहर जान मन थिएन । छोराछोरी उतै भएपछि जानै पर्यो ।’
‘त्यस्तो शहरमा बस्छ कोही ?’ थपे देवरले, ‘टीका लगाइदिने अनि भोलिपल्टै फर्कने । बसून् उनीहरूको शहरमा उनीहरू नै ।’
केही बोलिनन् पार्वती । हेरिन् आफ्ना भएका आफन्त टुकुटुकु लौरो टेक्दै बाटो लागेको । देवरको पनि चौरासी गर्नुपर्नेछ । सम्झे होलान् उनको घरले ।
बुढी छिरिन् आफ्नो घर । लगाइन् भित्रको चुकुल । हेरिन् उही लुगाको थुप्रोमा सल ।
रात पर्छु भन्दैथियो । बनाउन मन लागेन उनलाई खाना । भोक लुक्यो । लुके खुसीका आँसुहरू । आए दुःखका आँसु । बगे निरन्तर अविरल, जस्तै बग्यो अन्धकार एकनाश आठ, नौ, दश बनेर ।
छैन समय । छैन बाँच्ने रहर । छैन एकनासले प्रहर । एक्लो छ घर । एक्लो छ बाँच्ने कहर ।
एक्लो छु म । खै कुन संसारमा एक्लो भयौ तिमी पनि ।
बाँचुञ्जेल सहन्थ्यौ मेरो गनगन । सोझो थियो तिम्रो मन । राम्रोसँग बोल्न सक्थेनौ मसँग । खुरुखुरु मान्थ्यौ मैले भनेको । मैले बनाएको खाना जस्तो भए पनि खोट लाएनौ । गोरु फुकाएर हलो काँधमा बोकी बिहानै लान्थ्यौ खेत । लाग्थे गोरुसँग बाख्राहरू ।
भोको पेट र थाकेको शरीर लिएर साँझमा फर्कन्थ्यौ घर । घर आएर गाईभैंसीलाई कुँडो बनाउँथ्यौ । घाँस काट्न चढ्थ्यौ रूख ।
ल्याउँथ्यौ घाँस । खुवाउँथ्यौ बस्तुहरूलाई । दुहुन्थ्यौ दूध । हरेक दिन, हरेक हप्ता, हरेक वर्ष उही कर्म गर्यौ । यसै खेतीपाती गरेर हुर्कायौ तीन जना छोराछोरी । कहिल्यै रोएनौ । कहिल्यै दुःख भयो भनेनौ । कहिल्यै आँसु झारेनौ । गर्यो जे ईश्वरले गर्न पठाएका थिए । गर्यौ कर्म । आशा गरेनौ फलको । फल खान नपाएरै गयौ । जाने बेला जाउँ सँगै पनि भनेनौ ।
तिमी नहुँदा हेर्दैन छोराले मलाई । हेर्दैन समयले मलाई । हेर्दैनन् आफन्तले मलाई । हेर्दैन चाडबाडले मलाई । हेर्दैन शहरले गाउँलाई । न हेरेका छन् शहरे बनेका गाउँलेले गाउँलाई । नफर्केका छन् शहर बनाउन गाउँ । न फर्कने छौ मेरा बुढा तपाईं ।
न फर्कन्छु म । न फर्कन्छ यो अन्धकार । न फर्कन्छ यो प्रहर । न फर्कने छ यो प्राण जो सलको अपेक्षामा कतै धड्किरहेको छ ।
न फर्कनेछे सेते कान्छी । म आज उसको सलमा झुण्डिएको अनुहार सम्झँदैछु । बुझ्दैछु त्यो बेला उसको मनोदशा । १० वर्षपछि म बुझ्दैछु उसलाई । वृद्ध थिई ऊ म जस्तै ।
अन्धकार उसै गरेर उज्यालोको खोजमा थियो । बढ्यो एकनास । अनि उड्यो चन्द्रमा छुन । पर निकै पर आकाशमा उड्यो अन्धकार । पुग्यो अनन्ततिर । देख्यो परबाट आउँदै गरेको घाम । अस्तायो जून । लाग्यो पहाडको चुचुरोमा घाम । झर्यो बेसी ।
छिचोल्यो मर्स्याङ्दी । पुग्यो तुरतुरे बजार । लाग्यो तेर्सो । पुग्यो महन्तेहेटिया । देख्यो सुनसान गाउँ । देख्यो घरका ढोकामा लागेका ताल्चाहरू । देख्यो हिजो राति बन्द भएको त्यो घर । यो ढोकाको बाहिर ताल्चा छैन । कुर्यो भित्रबाट आउने संकेत ।
खुल्यो ढोका । निस्किए दैलोबाट पाइला । वृद्ध पाइला बोक्दै थियो वृद्ध शरीर । वृद्ध शरीर बोक्दै थियो नयाँ धोती र ब्लाउज ।
ब्लाउजका माथि बोकिएको थियो झोला । झोलामा थियो केही सम्झना । केही वर्तमान । अनि बचेखुचेका केही भविष्य ।
पार्वतीले लगाइन् ढोकामा ताल्चा । आँगनमा पुगेर हेरिन् घरको देब्रेपट्टिको गोठ । थिएन गोठभित्र कुनै प्राण । वर्षौं पहिला बेचिइसकेका थिए बस्तुहरू । हेरिन् भूकम्पले भत्काएको घर । एकनासले घरका वरिपरि झ्याम्मिएका थिए बुट्यानहरू ।
कति लोभलाग्दा छन् घाँसहरू । तर उनीहरूलाई खाने छैनन् बस्तुभाउले । एक नजर लगाइन् आफ्नो घर । आफ्नो गाउँ । हेरिन् उनले जसरी हेरिन्छ अन्तिम पटक । अनि लागिन् उही बाटो जो अघिल्लो दिन देवर–देवरानी लागेका थिए ।
पटुकीबाट निकालिन् मोबाइल । थिचिन् नम्बर । उठायो छोरोले उसको आफ्नो फोन । माग्यो आशिष ।
‘म आउँदैछु तेरो घर । पालिस् भने बाँचौंला । मारे जाउँला आफ्नो बुढाको पछि–पछि ।’
बढी रहे पार्वतीका पाइला । बढिरहे दृढ मनोवृत्ति । कटिन् पाँचपातेको रूख । आउन लाग्यो सडक । सडक छेउको पाटीमा झोला राख्दै मेचमा बसिन् । पर मर्स्याङ्दी गडगडाउँदै गरेको देखियो ।
हेरिन् मर्स्याङ्दी । भनिन्; ‘अझै मेरो दिन आएको छैन । अझ धेरै बाँच्नु छ !’
प्रतिक्रिया 4