
काठमाडौं । इतिहासकार एवं संस्कृतिविद प्राज्ञ आरडी प्रभास चटौतको जीवनी समावेश भएको ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा शनिबार ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको हो ।
ग्रन्थमा स्वदेश र विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुद्वारा लिखित आरडी प्रभास चटौत सम्वद्ध १७८ वटा रचना समावेश छन् ।
डडेलधुरामा जन्मिएका ८८ वर्षीय चटौतले भारतका विभिन्न विश्वविद्यालयबाट शास्त्रीय अध्ययन एवम् अंग्रेजी, संस्कृत र हिन्दी साहित्यमा स्नातक समेत गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर एवम् कानुन विषयमा स्नातकसमेत गरेका छन् ।
निजामती सेवामा ३ दशक योगदान गरेका चटौतले डडेलघुरामा सलह किराबाट खेतीपाती नष्ट भएपछि सानै उमेरमा कृषकको बेदना र जागरण समेटिएको ‘सलह’ नाममा कविता कृति सार्वजनिक गरेका थिए ।
चटौतको प्रयासमा डोच्याली भाषाले आईएसओ मान्यता पाएको थियो भने उनको लोकप्रिय कृति डोच्याली वृहत शव्दकोषलाई स्पेनको ओभिडो विश्वविद्यालयका जुवान लाजोले पीएचडीको थेसिसमा मूल आधार बनाएका थिए ।
प्रतिक्रिया 4