
काठमाडौं । नम्रता श्रेष्ठको शीर्ष भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को छायांकन बर्दियाबाट सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्य खिच्दै फिल्मको छायांकन सुरु भएको निर्माता अनुप पौडेलले जानकारी दिए ।
थ्रिलर जनराको ‘ह्याट्याग माया’मार्फत राजीव गुरुङ निर्देशनमा डेब्यु गर्दैछन् । १४ दिनसम्म बर्दियामा छायांकन तालिका रहेको पौडेलले बताए ।
‘नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोसिस हाम्रो रहनेछ । साथै बर्दियाको सेटअप पात्रलाई सुहाउँदो पनि छ । यहाँ दुई साता छायांकन गर्ने सेड्युल तय गरेका छौं,’ उनले भने । निर्देशक गुरुङले फिल्म थ्रिलर भए पनि मनोरञ्जनात्मक हुने बताए ।
फिल्ममा नम्रताका साथै सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह र सुदाम सिकेको पनि मुख्य भूमिका रहनेछ । बर्दियापछि फिल्मको बाँकी छायांकन काठमाडौं र धरानमा पनि गर्ने निर्माता पौडेलले जानकारी दिए ।
रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको ‘ह्यासट्याग माया’मा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन रहेको छ ।
प्रतिक्रिया 4