
सैद्धान्तिक रूपमा विचलित, विचारविहीन र पार्टी स्वयं आफ्नो आदर्श तथा मूल्य र मान्यताबाट टाढिंदै जाँदा नेपाली कांग्रेसमा ‘रिर्फम’का निम्ति ‘विशेष महाधिवेशन’को मुद्दा चर्कंदै गएको छ । २००७ सम्मको राणा शासनको समय र २०१७-२०४६ सम्मको पञ्चायती व्यवस्थामा मात्र सत्ताबाट टाढा रहेको कांग्रेसमा २०४६ सम्म गुटगत नै सही धेरथोर ‘वैचारिक बहस’ हुने गर्दथ्यो ।
तर, आज नेतृत्वमा सैद्धान्तिक विचलन छ भने, कार्यकर्ताले आफूलाई जनअपेक्षाको काममा भन्दा नेताको स्वार्थपूर्तिमा समर्पित गरेका छन् । आमनिर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि कांग्रेस पार्टीले आफ्नो आन्तरिक जीवनमा महत्वपूर्ण मानिने ‘केन्द्रीय समिति बैठक’ राखेर ‘परिस्थितिको समीक्षा’सम्म गर्न सकेको छैन ।
कांग्रेसभित्रको यतिबेलाको डरलाग्दो पाटो भनेको ‘वैचारिक बहस’ गर्न तयार युवापंक्तिको अन्य पार्टीमा प्रवेश र स्वार्थी भीडको कांगेस प्रवेश नै हो । यो सबै घटनाक्रमलाई नियालिरहेका कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा केन्द्रीय समिति बैठक आहृवान गर्न सक्ने वैधानिक हैसियतमा छैनन् भने वैधानिक हैसियत प्राप्त सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक ‘फेस’ गर्ने आँट देखाउन सकेका छैनन् ।
मूलतः कांग्रेसमा जसरी पनि सत्ता हासिल गर्ने र सत्ताका माध्यमबाट ‘धन-शक्ति’ आर्जन गरिछाड्ने समूह एकातिर र अर्काेतिर नीति, विधि र एजेण्डामा कांग्रेेस सहित मुलुकलाई उभ्याउन चाहने समूहबीच ‘रस्साकस्सी’ देखिन्छ । उक्त रस्साकस्सीमा कांग्रेस सभापति देउवाले आफूलाई यथास्थितिबादी धारमा उभ्याएका छन् भने सोही पार्टीका महामन्त्रीद्वय गगन-विश्व तथा केन्द्रीय सदस्य प्रदीप पौडेलहरूले ‘विद्रोहको झण्डा’ उचालेर कार्यकर्तामाझ आफूलाई लैजाने पूर्वाभ्यास गर्दैछन् ।
नीति गौण र नेताप्रधान रहँदै आएको कांग्रेस पार्टीको ‘रिर्फम’ सामान्य हिसाबले सम्भव देखिन्न । उक्त पार्टीको ‘रिर्फम’ भनेको यथास्थितिमै रमाउन तयार सभापति देउवालाई कांग्रेस पार्टीको ‘अर्ली महाधिवेशन’का माध्यमबाट विस्तापन गरी नयाँ नेतृत्व चयन र रिर्फम भएको कांग्रेसले जनअपेक्षा अनुसार आफूलाई रूपान्तरण गर्दै लैजानु नै हो ।
भ्रातृ संस्थाको महाधिवेशन, केही थान मन्त्रीमा भागबण्डा, पार्टीका एकाधथान विभागीय प्रमुखको चयन आदिले कांग्रेस जनताका बीचमा लोकप्रिय बन्न सम्भव नै छैन । किनकि, ‘नेविसंघ र तरुण दल’मा अधिवेशन भए पनि नभए पनि जनतालाई तात्विक कुनै असर पर्दैन । आज एमालेका सम्पूर्ण जनवर्गीय संगठनको अधिवेशन सम्पन्न भई संगठनहरू चुस्तदुरुस्त छन् । तर पनि, एमाले किन फस्टाउन सकेन ?
तसर्थ, जनताको चाहना भनेको कुनै पनि राजनीतिक दलका भर्भराउँदा युवा ‘बिचौलिया’ नबनुन् भन्ने नै हो । तर, आज पार्टीका भ्रातृ संस्थामा आवद्ध बहुसंख्यक युवा सरुवा-बढुवा र ठेक्कापट्टाको फाइल बोकेर सिंहदरबार धाउँदै ठिक्क छ । अनि यो अवस्थामा सत्तरी-असी वर्ष पार गरेको पार्टीले ‘लय’ समाउन कसरी सम्भव होला ?
कांग्रेसभित्र आजका मितिसम्म आफ्नो पोजिसनको रक्षार्थ बाहेक ‘विचार र सिद्धान्त’ बोक्नका निम्ति ‘गुट’ निर्माण गरिएन । हरेक महाधिवेशनलाई नेतृत्व चयनको भर्याङ मात्र बनाइयो । केन्द्रीय समिति र संसदीय दलमा देखा परेको अंकगणितका आधारमा एउटा समूहले अर्काे समूहको मानमर्दन गर्ने बाहेक रचनात्मक कामतिर बहुमत पक्षले आफूलाई कहिल्यै उभ्याउन चाहेन ।
हुँदाहुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीको उपल्लो तहको नेता जोडिंदा समेत लोकतन्त्रमा सामान्य प्रक्रिया मानिने ‘छलफल र निलम्बन’को बाटो रोज्न समेत उक्त प्रकरणको ‘फन्दा’मा आफैं पनि परिएला भन्ने डरले कांग्रेस नेतृत्वले बैठक समेत छल्दै आयो । उनै देउवा समूहमा रहेकाहरू उल्टै पार्टीलाई सच्याउने भन्दा पनि देउवाइतर समूह माथि ‘जाइलाग्न’ उद्यत भए ।
यिनै परिदृश्यले देखाउँछ कांग्रेसको दिशा र दशा । आज देशमा सपना बाँड्ने र बाँडेको सपना कार्यान्वयन गर्न तयार गगन थापाहरूलाई ‘कर्नर’मा पारिंदैछ । कांग्रेसमा यतिबेला ‘परिवर्तनको झण्डा’ उठाउने भन्दा ‘यथास्थितिको आँगन’मै रमाउनेहरू ज्यादा हुँदा कांग्रेसले ‘लय’ समाउनै सकेन । यथास्थितिमै कांग्रेस रमाउँदै जाने हो भने अन्ततः उ पुग्ने भनेको ‘विघटन’मै हो ।
कांग्रेस पार्टीले आफ्नो इतिहासबाट प्राप्त विरासतलाई जोगाउने नै हो भने अब पार्टीभित्रको गुट भत्काएर पार्टी र मुलुकको हितका खातिर ‘देउवा-कोइराला’ गुटमा रहेका परिवर्तनकारी युवाहरूले आफूलाई गुट भन्दा माथि उठाएर जनतामा ‘आशा सञ्चार’ सम्प्रेषण गर्न जरूरी छ ।
जनतालाई कांग्रेस, एमाले वा अन्य कुनै दल ‘सच्चिउन् वा सक्किउन्’ त्यो विषयमा खासै सरोकार रहन्न । सरोकार त जनअपेक्षाका विषयहरू – मुलुक निर्माणका एजेण्डादेखि भ्रष्ट माथि कारबाहीसँगै उनीहरूको सम्पत्ति छानबिनसम्ममा संवैधानिक निकायलाई कत्तिको साथ दिन्छन् भन्ने कुराले राख्दछ ।
अर्काे कुरा गगन, विश्व र प्रदीपहरूले दलभित्रको अंकगणित हेरेर आफूलाई समर्पित गर्ने हो भने परिवर्तन सम्भव छैन । हिजो राणा, राजा, पञ्चायत आदि कालखण्डमा पनि परिवर्तनको झण्डा उठाउँदा मृत्युदण्ड समेत हुनसक्ने परिस्थितिबाट भागेर बसेको भए आज गणतन्त्र प्राप्ति सम्भव नै थिएन ।
अझ, गणतन्त्र प्राप्तिको आन्दोलनमा राजकाज मुद्दा खेप्न तयार ‘गगन थापा, गुरुराज घिमिरे’ जस्ता युवा नेताले आफूलाई पार्टीभित्रको अंकगणितको जोडघटाउमै रोक्ने हो भने कांग्रेस पार्टी कथित सम्भ्रान्तहरूको ‘कमाइखाने’ कम्पनीमा रूपान्तरण हुनेछ । यसको हेक्का देउवालाई हुन जरूरी छैन । हेक्का त गगन, विश्व, प्रदीप र गुरुहरूलाई हुन जरूरी छ ।
कथित व्यापारी र उद्योगी आफैं दलभित्र छिरेर मन्त्री समेत बन्दै नीति निर्माणमा निर्यायक बन्न थाले । लोकतन्त्र प्राप्तिमा सिन्को नभाँचेकाहरूको हातमा ‘पार्टी र सरकार संचालन’को साँचो पुग्यो । पार्टीको टिकट वितरणदेखि मन्त्रिमण्डलमा पठाउने व्यक्ति चयनसम्म पूरापूर खरिद-बिक्रीको माध्यमबाट हुन थाल्यो ।
यति मात्रै होइन, टिकट वितरण गर्ने संसदीय समिति समेत गठन नगरी टिकट कांग्रेस पार्टीको विधानले नचिन्ने ‘राणाको दरबार’बाट वितरण गरियो । भ्रष्टाचारको विषय उठ्नासाथ छानबिनको माग गर्नेहरू जनताको व्यापक समर्थनका बावजुद पार्टीभित्र भने एक्लिन थाले ।
यती, ओम्नी, वाइडबडीदेखि भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा हरेक भ्रष्टाचारको घटनामा पार्टीको कोही न कोही उपल्लो तहको नेताको संलग्नता देखिंदै गयो । भ्रातृ र शुभेच्छुक संगठन ‘बिचौलिया’मा रूपान्तरण हुँदै गए । उता चुनाव हार्नेहरूले समानुपातिक नामको ‘सजिलो बाटो’बाट सांसद र प्रभावशाली मन्त्रालय प्राप्त गर्दै गए ।
यसरी जनताप्रति उत्तरदायी नेता भूमिकाविहीन र भूमिका पाउने ‘कथित’ नेता जनताप्रति उत्तरदायी बन्नै नपर्ने रोगले कांग्रेस ग्रसित बन्दै गयो । यसरी हेर्दा कांग्रेस पार्टी आजका मितिमा बेथितिको मुख्यालय बन्न पुग्यो । विद्यमान अवस्थाको कांग्रेसबाट पार्टी र लोकतन्त्र जोगाउन सम्भव नै छैन । तसर्थ, नेतृत्व परिवर्तनका लागि चाहिएको हो- अर्ली महाधिवेशन ।
‘राजनीति र जीवन’को उत्तरार्द्धमा पुगिसकेका शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला आदिबाट ‘पार्टी र मुलुक’ परिवर्तनको अपेक्षा राख्नु भनेको उनीहरू माथिको पनि अन्याय हो । किनकि, त्यो गह्रुँगो भारी बोक्न अब उनीहरू ‘विचार र उमेर’ दुवैले सक्षम छैनन् ।
यतिबेला अपेक्षा त ‘देउवा र कोइराला’ समूहमा आजका मितिसम्म रहेका र गुटभन्दा माथि उठ्ने हिम्मत गर्ने युवा नेताहरू प्रति नै हो । हुँदाहुँदा हिजो बीपी कोइरालाकालीन समयमा वामपन्थी प्रति बीपीको खासै भरोसा थिएन । तर, आज देउवाले वामपन्थीकै ‘डिजाइन’मा सिंगै कांग्रेसलाई दौडाइदिएर कांग्रेसका कार्यकर्ताले आफ्नै पि्रय चुनाव चिह्न ‘रूख’मा मतदान समेत गर्न पाएनन् ।
सत्ता स्वार्थका निम्ति गठबन्धन गरियो । तर, गठबन्धनलाई राजनीतिक स्थिरता, सुशासन र समृद्धिका निम्ति भनेर राजनीतिक ‘कलेवर’ दिने कामसम्म भएन । यो अवस्थाको कांग्रेसलाई ‘दरबार’बाट बाहिर निकालेर ‘जनताको आँगनमा’ पुर्याउने अठोटसहितको ‘विद्रोहको झण्डा’ उठाउन कांग्रेसका युवा नेता कति काबिल हुन्छन्, देशैभरका पार्टी पंक्तिले कत्तिको साथ दिन्छ त्यसैमा लोकतन्त्रको भविष्य समेत जोडिन पुग्दछ ।
तसर्थ, देशैभरका कांग्रेसजनले कांग्रेसलाई जीवन्त राख्ने हो भने तत्कालै कांग्रेसको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन मार्फत कांग्रेस ‘रिफर्म ‘ गरिंदैछ भन्ने सन्देश संप्रेषणका निम्ति दबाब सिर्जना आजको मूल आवश्यकता हो । अन्यथा, कांग्रेसलाई ‘प्रजापरिषद्’ बन्नबाट कसैले रोक्न सक्ने छैन ।
प्रतिक्रिया 4