
२२ जेठ, गुल्मी । गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचार प्रसार गर्नका लागि रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिंड रेसुङ्गा’ अभियान सुरु गरेको छ । रेसुङ्गा धार्मिक तथा पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण क्षेत्र मानिन्छ । तर, अहिलेसम्म रेसुङ्गामा सोचे अनुसार पर्यटकहरु पुग्न सकेका छैनन् ।
रेसुङ्गा क्षेत्रसम्म अभियान मार्फत धेरै पर्यटक लैजाने उदेश्यले ‘जाउँ हिंड रेसुङ्गा’ सुरुवात गरिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए । नगरप्रमुख पन्थीले एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गरेका छन् ।
अभियान शुभारम्भको पहिलो दिन ‘जाउँ हिंड रेसुङ्गा’ लेखेको टिसट लगाएर करिब १ सय ५० जनाको टोली रेसुङ्गा पुगेका थिए ।
कार्यक्रमको सुरुवात गर्दै नगरप्रमुख पन्थीले रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अभियान सञ्चालन गरिएको बताए । एक वर्षमा करिब एक लाख आन्तरिक र बाह्य पर्यटकहरुलाई रेसुङ्गा ल्याउने योजना बनाएको पन्थीले बताए । पर्यटनको माध्यमबाट रेसुङ्गाको प्रचारप्रसार र युवाहरुलाई रोजगारी सृजना गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
रेसुङ्गाको सम्बन्ध त्रेता युगदेखि भारतको अयोध्यासँग रहेको छ । तर, यो सम्बन्ध प्रगाढ हुन सकिरहेको छैन । यो अभियानले भारतको अयोध्यासँगको सम्बन्धलाई थप पगाढ बनाएर धार्मिक पर्यटक ल्याउने लक्ष्य रहेको उनले बताए ।
रेसुङ्गा क्षेत्रमा प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरूले विशिष्ट छ । रेसुङ्गा क्षेत्र भन्नले यहाँको सबै वनक्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, पाटीपौवा, यज्ञशाला एवम् भग्नावशेषहरू बुझिन्छन् ।
यस क्षेत्रमा २५८ प्रजातिका चराहरूको साथै बिश्वमै लोपउन्मुख गिद्दसँगै चितुवा, मृग, घोरल, खरायो आदि जनावरहरू पाइन्छन् ।
प्रतिक्रिया 4