
२३ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आरोपितहरु विरुद्धको मुद्दामा थुनछेक बहस चलिरहेको छ । मंगलबार अपराह्न जाहेरीकर्ताहरुको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपितहरुले बयानमा नाम लिएकाहरुको पनि बयान लिनुपर्ने माग गरे ।
उनले जिल्ला अदालत काठमाडौंमै विचाराधीन उमेश रेग्मीविरुद्ध सौगात सुनुवारको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दाको उदाहरण दिंदै आरोपितले बयानमा नाम लिएकाहरुलाई पनि अदालतमा झिकाउन माग गरेका हुन् ।
‘जाहेरीकर्ताले बयानमा पोलेका भरमा कोही मुद्दा चलेर थुनामा बस्नुपर्ने, कोहीले उन्मुक्ति पाउने ?’ अधिवक्ता कट्टेलले प्रश्न गरे ।
उनले प्रतिवादीहरु सानु भण्डारी, केशवप्रसाद दुलाल, टेकनाथ रिजालले पोलेका व्यक्तिहरुले उन्मुक्ति पाउन नहुने बताए ।
अधिवक्ता कट्टेलले नक्कली शरणार्थी प्रकरणमा आरोपितले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्यको पनि नाम लिएको बताए । त्यसैगरी तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीलाई समेत पोलेको भन्दै उनीहरुमाथि समेत बयान हुनुपर्ने माग गरे ।
खासगरी अडियोमा नाम जोडिएका, आरोपितहरुले पैसा बुझाएको भनी नाम पोलेकाको हकमा बयान हुनैपर्ने भन्दै उनले यो प्रकरणमा भएको प्रहरी अनुसन्धानमाथि समेत प्रश्न उठाए । उनले रकम लिएको आरोप खेपेका आरजु देउवा, मञ्जु खाँण, नैनकला थापा, प्रेम राई लगायतको बयान लिनैपर्ने माग गरे ।
आरोपितले नाम लिएकाहरुलाई पनि बयान लिएको नजीरका रुपमा कट्टेलले उमेश रेग्मीविरुद्धको मुद्दा सम्झाएका थिए ।
मामाले ‘पोलेका’ भाञ्जा
रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थलीका सौगात सुनुवार लगायतले जाहेरी दिएको र अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको ठगीसम्बन्धी मुद्दा अधिवक्ता कट्टेलले इजलासमा उल्लेख गरेका हुन् ।
जिल्ला अदालतमा रहेको मुद्दाको मिसिल अनुसार, काठमाडौं बूढानीलकण्ठ बस्ने उमेश रेग्मीले इटालीमा कामको अवसर छ, मैले मिलाइदिन्छु भनी सुनुवारसँग मात्रै १७ लाख रुपैयाँ उठाएका थिए । इटली पठाउने भनेर अजरबैजान पुर्याएर १० महिना अलपत्र पारेपछि रेग्मीविरुद्ध सुनुवार, दार्चुलाका रवीन्द्रसिंह ऐरी, उदयपुरका शिलाञ्च चाम्लिङ समेतले जाहेरी दिए ।
पछि अनुसन्धानका क्रममा रेग्मीले आफू मात्रै नभई भाञ्जा नवराज ढकाल पनि संलग्न भएको बयानमा खुलाए । आफ्ना भाञ्जा अजरबैजानमा रहेको र उनले पीडितहरुलाई त्यहाँ रहने बस्ने क्रममा सहयोग गरेको भन्दै रेग्मीले आफू ठगी काममा संलग्न नभएको बयान दिए ।
त्यसपछि प्रहरीले उमेश रेग्मी मात्रै होइन, अजरबैजानमा रहेका उनका भाञ्जा नवराज ढकालविरुद्ध समेत विश्वासघात गरेको अभियोगमा ७ साउन २०७८ मा उनीहरुविरुद्ध ४१ लाख रुपैयाँ विगो मागदावी सहित ठगी मुद्दा चलाएको थियो ।
जिल्ला अदालतले उमेश रेग्मीलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा पठायो भने पछि अदालतमा हाजिर भएका नवराज ढकाललाई ८ लाख रुपैयाँ धरौटीमा छाडेको छ । यो मुद्दा जिल्ला अदालत, काठमाडौंमा अहिले पनि विचाराधीन छ ।
कट्टेलले भने, ‘त्यो मुद्दामा पोलेको भरमा नवराज ढकाललाई गिरफ्तार गरेर प्रतिवादी बनाइएको छ, यहाँ बयानसम्म भएको छैन, यस्तोमा इजलासले आदेश समेत दिनसक्छ, झिकाउने आदेश होस् ।’
प्रतिक्रिया 4