
२३ जेठ, जनकपुरधाम । मधेश सरकारले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतासहितको नीति तथा कार्यक्रम ल्याएको छ ।
मंगलबार प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
केही नयाँबाहेक अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कृषि क्षेत्रमा एक वडा एक एग्रोभेट निर्माणको नीति लागू, उत्पादनमा वृद्धि ल्याउन अनुदानमा आधारित कृषि कार्यक्रम, पशुपंक्षी बीमा, सिँचाइमा जोड, चक्लाबन्दी खेती लगायतको नीति लिएको छ ।
त्यस्तै एक नागरिक एक विरुवा कार्यक्रम, नदीको किनारामा वृक्षरोपण, चुरे क्षेत्रमा पानी रिचार्जका लागि ड्याम निर्माण नीति तथा कार्यक्रममा समेटिएको छ ।
शिक्षा क्षेत्रमा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सो कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा, कक्षा ८ कि छात्रालाई साइकल वितरण र कक्षा १२ पढ्ने छोरीलाई ल्यापटप उपलब्ध गराउने छ । त्यस्तै जिल्लाको कम्तीमा एकवटा विद्यालयलाई नमुना घोषणा गर्ने नीति समेत लिएको छ ।
स्वास्थ्य क्षेत्रमा सरकारी अस्पतालमा बिरामी भर्ना गर्दा शुल्क नलाग्ने नीति, प्रत्येक स्वास्थ्यचौकीमा एकजना एमबीबीएस डाक्टर, जेष्ठ नागरिकलाई आँखा, कान र दाँत उपचार निःशुल्क गर्ने, प्रदेशलाई कुपोषणमुक्त घोषणा गर्ने नीति लिएको छ ।
यातायातमा जनकपुर जयनगर रेलमार्गलाई राजविराजसम्म विस्तार गर्ने नीति समेत सरकारको छ ।
यस्तै मुख्यमन्त्री स्वच्छता कार्यक्रमलाई निरन्तरता दिने, धार्मिक तथा संस्कृतिक मठमन्दिरलाई पर्यटनको दृष्टिकोणले विकास गर्ने, जनता आवास कार्यक्रमलाई निरन्तरता दिने लगायतको नीति तथा कार्यक्रम मधेश सरकारले ल्याएको छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ
प्रतिक्रिया 4