
२४ जेठ, काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छिन् ।
बुधबार इलाम र झापाका भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा वितरण थालेको छ। संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपालीहरु भूमिहीन हुनुपर्दैन। मेरो कार्यकाल भित्रै भूमिहीनहरुको समस्या समाधान गर्ने गरी काम गरिरहेको छु।’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा प्रदान गरिन् । झापाको कन्काई नगरपालिकाका-२९ र इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन्।
उनले देशमा हजारौं भूमिहीन, दलित तथा सुकुम्वासीहरु रहेकाले अब यो काम तीव्र गतिमा हुने अभियान नै चलाउने बताइन् ।
‘यो देशमा हजारौं भूमिहीन, दलित तथा सुकुम्वासीहरु हुनुहुन्छ, उहाँहरुको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ। आज उहाँहरुलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनहरुलाई जमिन उपलब्ध गराउनका निम्ति स्पिडमा काम भइरहेको छ। जसको नतिजा आजदेखि देखिंदैछ। आजदेखि औपचारिक रुपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गर्यौं, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ।’
भूमिहीन दलित सुकुम्वासीहरुलाई भूमिमाथिको पहुँच पुर्याउने उद्देश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको बताइन् ।
प्रतिक्रिया 4