+

महिला क्रिकेटमा पर्दैछ पलायनको असर

२०८० जेठ  २४ गते १९:२७ २०८० जेठ २४ गते १९:२७

‘नेपालमा बसेर खेल्ने वातावरण भएन । कुनै कारण विना अवसर नपाउँदा खेल्नै मन लागेन’, विदेशिने तयारीमा रहेकी सुमनले भनिन् ।

महिला क्रिकेटमा पर्दैछ पलायनको असर

२४ जेठ, काठमाडौं । पछिल्लो एक वर्ष नेपालको पुरुष फुटबलमा खेलाडी पलायनको समस्याले विकराल रुप लिएको छ । त्यसले घरेलु प्रतिस्पर्धा खल्लो मात्र भएको छैन, राष्ट्रिय टिमकै सन्तुलनमा असर परेको छ ।

फुटबलमा मात्र होइन, तेक्वान्दो, कराते, बक्सिङजस्ता मार्शल आर्ट खेलकुदमा पनि पलायनको समस्या उस्तै छ । पुरुष क्रिकेटले चामत्कारिक प्रदर्शन गरिरहँदा महिला क्रिकेटमा भने खेलाडी पलायनको समस्या सुरु भएको छ ।

उमेरसमूह हुँदै राष्ट्रिय टिमबाट खेलिरहेका डली भट्ट, सुमन खतिवडा, आरती विडारीलगायतका खेलाडीहरु पलायन भएका छन् । भलै उनीहरुले विदेशमा गएर पनि आफूलाई मनपर्ने खेल क्रिकेटलाई निरन्तरता दिइरहने भनेका छन् ।

महिला क्रिकेट टिमले हालै मलेसियासँग पाँच टी–२० खेलको शृंखला ३–२ ले जितेको छ । मलेसियासँग दुई खेलमा पराजित हुनु पनि नेपाल क्रिकेटका लागि सकारात्मक संकेत होइन । यस शृंखला जितले युवा क्रिकेटरलाई आकर्षित गर्ने अपेक्षा गरिन्छ ।

तर, प्रतिभा भएका केहि खेलाडीहरु पलायन भइसके भने केही भिसाको प्रतीक्षामा छन् । पुस्तान्तरणको चरणमा रहेको महिला टिममा यसको असर देखिनेछ ।

१३ वर्षको करिअरमा चितवनकी आरती विडारीले दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाइन् । सन् २०१० मा यू–१९ टिमबाट देशको प्रतिनिधित्व गरेकी उनले सन् २०१९ मा आईसीसी महिला विश्वकप एसिया छनोट खेलेकी थिइन् । अवसर नपाउँदा विदेशिनु परेको उनको गुनासो थियो ।

‘नेपालमा प्रदर्शन हुँदा अवसर पाइएन । राष्ट्रिय टिममा क्याम्पमा बोलाइने तर २ दिनको प्रशिक्षणबाटै बाहिरिनुपर्ने बाध्यता लामो समयसम्म रह्यो’, प्रतियोगिता कम हुने र भएकोमा पनि अवसर नपाएकोमा आरती निराश थिइन् ।

उनले अस्ट्रेलियाको सिड्नी युनिभर्सिटी टिमबाट क्रिकेट खेल्न थालेको बताइन् । आरतीले सन् २०१४ मै लेभल टू प्रशिक्षण कोर्स गरिसकेकी छिन् । उनी नेपालमा खेलाडीले अवसरको माग गर्दा धेरै हण्डर व्यहोर्नुपरेको बताउँछिन् ।

‘म विदेशी भूमिमा आफ्नो क्रिकेटको रहर पूरा गर्दैछु तर अझै पनि मलाई नेपाली क्रिकेटमा व्यवस्थापकीय भूमिकामा भएर पनि सहयात्री बन्न मन छ,’ उनले थपिन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपालको पुरुष टिमले निश्चित रुपमा धेरै प्रतियोगिता, खेल तथा एक्स्पोजर पाउँछ । महिला टिम भने वर्षमा बढीमा दुई घरेलु प्रतियोगिता र एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सीमित हुनुपरेको छ ।

सन् २००७ मा पहिलोपल्ट नेपालको राष्ट्रिय महिला टिम निर्माण गरिएको थियो । नेपालले क्रिकेट खेल्न सुरु गर्दा हाराहारीको प्रदर्शन गर्ने थाइल्याण्ड र हङकङको स्तर नेपालभन्दा माथि पुगिसकेको छ । थाइल्याण्ड एसियाबाट नियमित विश्वकप खेलिरहेको छ ।

अवसर, लगानी र प्राथमिकता हुने हो भने पुरुषको तुलनामा महिला क्रिकेटले छिटो सफलता हासिल गर्न सक्ने तथ्यलाई क्यान नेतृत्वले पनि स्वीकार गरेको छ । तर, बजेट र कार्यक्रमहरुको कमी भइरहेको छ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले महिला क्रिकेटको उत्थानका लागि क्यानले कार्यक्रम र योजनाहरु कार्यान्वयनको तयारी गरिरहेकाले खेलाडी पलायन हुनुपर्ने अवस्था नआउने बताउँछन् ।

‘कोही विदेश जान्छन् भने त्यो उनीहरुको व्यक्तिगत रोजाइको कुरा भयो । तर, पुरुषजस्तै महिला क्रिकेटलाई पनि प्राथमिकताका साथ कार्यक्रम र योजना ल्याउँदैछौं’, पाठकले भने ।

भविष्यको खोजीमा विदेशिंदै युवा खेलाडी

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा पनि राष्ट्रिय टिममा उचित मूल्याङ्कन नहुनु नेपाल क्रिकेटकी उदीयमान खेलाडी सुमन खतिवडा विदेशिने निर्णय गर्नुको कारक हो ।

वर्षमा २ वटा घरेलु प्रतियोगितामा सुमनको प्रदर्शन अन्य खेलाडीको भन्दा निकै राम्रो छ । घरेलु प्रतियोगितामा लगातार प्रदर्शन गरिरहे पनि उनी राष्ट्रिय टिममा परिनन् ।

नेपाली महिला क्रिकेटका लागि राष्ट्रिय टिम छनोटको आधार प्रधानमन्त्री कप र ललितपुर मेयर कप हुन् । यी दुई प्रतियोगितामा गरेको प्रदर्शनकै आधारमा नेपाली महिला टिमका लागि खेलाडी छनोट गरिने बताइन्छ ।

यस पटकको प्रधानमन्त्री कप इटहरीमा आयोजना भयो । इटहरीको प्रधानमन्त्री कप हुँदा सुमनले घरेलु समस्याका करण खेल्न पाइनन् । त्यसअघि नवौं राष्ट्रिय खेलकुदमा सुमनको टिम बागमती प्रदेश कास्य पदक विजेता बन्यो ।

झापा विर्तामोड घर भएकी सुमन बागमतीका लागि ‘म्याच विनर’ खेलाडी थिइन् । नवौं राष्ट्रिय खेलकुदमा सुमनले ६ खेलमा ११७ रन बनाएकी थिइन् । प्रतियोगिताभर सर्वाधिक १३५ रन बनाउने सम्झना खड्कापछि उनी दोस्रो नम्बरमा रहिन् ।

सुमन खतिवडा ।

त्यस लगत्तै नेपाली महिला टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग पोखरामा शृंखला खेल्दा टोलीमा रहेर दुई खेलमा मात्रै अवसर पाइन् ।

‘त्यति बेला पनि मलाई चोट लागेको छ भनेर क्यानमा खबर पुगेको रहेछ । मैले सेलेक्टर सरसँग कुरा गरेर म फिट छु नवौं राष्ट्रिय खेलिरहेको छु, रन पनि हानिरहेको छु भनेपछि मात्रै मलाई टिममा समावेश गरियो’, सुमनले केहि साताअघि दोस्रो बागमती प्रदेश स्तरीय खेलकुदमा चितवनबाट खेल्दै क्रिकेटमा पुनरागमन गरेकी थिइन् ।

नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक रन बनाउने सम्झना यसपल्ट मलेसियासँग शृंखलाका लागि टिममा परिन् । दोस्रो सर्वाधिक रनकर्ता सुमनलाई भने बन्द प्रशिक्षणमा समेत बोलाइएन । ‘नेपालमा बसेर खेल्ने वातावरण भएन । कुनै कारणबिना अवसर नपाउँदा खेल्नै मन लागेन’, विदेशिने तयारीमा रहेकी सुमनले अनलाइनखबरसँगको कुराकानीमा भनिन् ।

नवौं राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गरे पनि प्रधानमन्त्री कपमा घरायसी समस्याले खेल्न नपाएकी उनलाई त्यसपछि काठमाडौंमै सम्पन्न मेयर कपमा पनि खेल्न दिइएन । ‘प्रधानमन्त्री कप नखेलेका खेलाडीले मेयर कप खेल्न नपाउने भन्नुभयो । मेयर कप पनि नखेलेका कारण राष्ट्रिय टिमको प्रशिक्षणमा नबोलाएको रे’, सुमनले सुनाइन् ।

सन् २०१९ मा नेपालमै भएको १३औं सागका लागि नेपालको टिममा परेकी सुमन त्यसयता राष्ट्रिय टिममा पनै प्रतीक्षारत छिन् । छोटो करिअरमा भविष्य नदेख्दा विदेशिन लागेको उनले बताइन् । लामो समयदेखि महिला क्रिकेटमा सक्रिय सिनियर खेलाडीहरुले पनि केहि विशेष सुविधा नपाएको उनले देखेकी छन् ।

‘७ कक्षा पढ्दादेखि क्रिकेट खेल्न थाल्दा प्रतिफलको आशा थिएन । तर, सधैं यसरी नहुने रहेछ । अब त परिवारको जिम्मेवारी पनि लिनुपर्छ’, नेपालमा अवसर पाएमा फर्किने भन्दै २४ वर्षीया सुमनले थपिन्, ‘खेल्न पाएँ भने आउन पनि सक्छु, नभए उतैबाट खेल्ने ।’

गण्डकी प्रदेश टिमको कप्तानी गरिसकेकी शीला क्षेत्री पनि विदेश पलायनको सोचमा छिन् । राष्ट्रिय टिममा अवसर नपाए पनि उनी घरेलु क्रिकेटमा प्रदेश टिमको स्थापित खेलाडी हुन् ।

राष्ट्रिय टिमबाट पछिल्लो समय निरन्तर खेलिरहेकी डली भट्ट अस्ट्रेलिया पुगिसकेकी छिन् । नेपाली महिला टिमले मलेसिया भ्रमणका लागि बन्द प्रशिक्षण सुरु गर्दा डली अस्ट्रेलिया उडेकी हुन् । ‘म जाने निश्चित भएपछि मलेसिया भ्रमणको मिति सार्वजनिक भयो’, अनलाइनखबरसँगको कुराकानीमा डलीले प्रतियोगिताको मिति पहिल्यै निश्चित भएको भए आफू खेल्नका लागि बस्ने बताइन् ।

उनी नेपाल फर्कने अहिलेसम्म टुंगो छैन । नेपाली टिममा पावर हिटरका रुपमा चर्चित उनले २०७६ मा चीनमा सम्पन्न बीएनआर यू–१९ प्रतियोगितामा नेपाल टिमको कप्तानी समेत गरेकी थिइन् । क्यानको केन्द्रीय सम्झौतामा यस वर्षदेखि बाहिरिएपछि डलीले पनि विदेशमै भविष्य देखिन् ।

ब्याटिङ समस्याका कारण खेल हार्ने नेपाली महिला टिमका लागि दुई राम्रा युवा ब्याटर तथा अलराउन्डर पलायन हुनु दुःखको कुरा हो । विदेश जाने सोचमा रहेकी अर्की एक खेलाडी भन्छिन्, ‘पहिला सेन्ट्रल कन्ट्रयाक्ट (करार)घट्यो । जति राम्रो गर्दा पनि बन्द प्रशिक्षणमा पनि परिन्न अब अन्तिम विकल्प विदेश नै त हो ।’

आरती बिडारी खेलाडी पलायन महिला क्रिकेट सुमन खतिवडा
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय