
२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशभी तापक्रम बढ्दा जनजीवन प्रभावित भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा शून्य समयमा उनले यतिबेला देशभर तापक्रम बढेको उल्लेख गर्दै सरकारको तयारीबारे प्रश्न गरेका हुन् ।
तातो हावा लु चल्न थालेको र यसले जनजीवन प्रभावित पारेको उल्लेख गर्दै उनले भने, ‘विद्यालयहरु बन्द भएका छन् । पानीको मुहान सुकेको छ । खेतीबाली सुकेका छन् । धानको बिउ सुकेको छ । जमिनमुनिको पानीको सतह घटेको छ । अशुद्ध पानीका कारण महामारी फैलने जोखिम बढेको छ ।’
यसका अलावा दैनिक ज्यालादारी गरेर खानुपर्ने मजदुरहरुको अवस्था असाध्यै दयनीय बनेको र अझै एक हप्ताभन्दा बढी समय यस्तो हुने देखिएको उनले बताए ।
विश्वव्यापी रुपमा तापक्रम बढ्ने आगामी वर्ष झन बढेर जाने अवस्था रहेको उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरे, ‘यसको तत्कालीन र दीर्घकालीन समाधानका निम्त सरकारले के गरिरहेको छ ?’
विगतमा पनि अनेकौं प्राकृतिक समस्यासँग जुध्न र तिनबाट बच्न उपयुक्त उपाय खोज्न कहिल्यै ध्यान दिन सकेको नदेखिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।
प्रतिक्रिया 4