+
+

सोलार प्यानल कसरी बन्दैछ पर्यावरणका लागि चुनौती ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १४:३८

२५  जेठ, काठमाडौं । कार्बन उत्सर्जन कम गर्ने संघर्षमा सोलार प्यानललाई विश्वले निकै महत्वपूर्ण हतियारका रुपमा बढावा दिइरहेको छ, जबकि यसको आयू भनेको केवल २५ वर्ष मात्रै हुन्छ।

त्यसैले स्वच्छ सौर्यउर्जा उत्पादनका लागि प्रयोग गरिने सोलार प्यानलको निर्माण तथा आयू सकिएका सोलार प्यानल लगायतका विद्युतीय फोहोरहरु निकट भविष्यमै ठूलो समस्या बन्ने देखिन्छ।

अष्ट्रेलियास्थित न्यू साउथवेल्स विश्वविद्यालयमा सोलार प्यानल पुनचक्रण मामिलाका विज्ञ डाक्टर रग डेंगका अनुसार विश्वभर गरी अहिलेसम्म १ टेरावाट क्षमताका सोलार प्यानल जडान भैसकेका छन्।

उनका अनुसार सामान्य सोलार प्यानलको क्षमता ४ सय वाट हुन्छ। यदि विश्वभर भवनका छत वा सोलार फार्म लगायतमा  राखेका सबै सोलार प्यानलको संख्या हिसाब गर्नेहो भने त्यो २ अर्ब ५० करोड पुग्दछ।

बेलायत सरकारका अनुसार बेलायतमा दशौँ लाख सोलार प्यानल जडान गरिएको छ तर ती सोलार प्यानलहरु हटाउने वा रिसाइकल गर्ने कुनै सुनिश्चित व्यवस्था छैन।

विश्वभरका यस क्षेत्रका विज्ञहरुले सरकारहरुसँग यस विषयमा ठोस नीति अख्तियार गर्न माग गरिरहेका छन्। सोलार प्यानल भविष्यमा विश्वस्तरमै ठूलो पर्यावरणीय विपत्ति बन्नसक्ने खतरा रहेको उनीहरुको चेतावनी छ।

अन्तराष्ट्रिय नविकरणीय उर्जा एजेन्सीका उपनिर्देशक युटे कोलियरका अनुसार यदि बिग्रेका सोलार प्यानलको रिसाइकल गर्नेतर्फ नलागिएमा सन् २०५० सम्ममा सोलार प्यानलको फोहोरको पहाड खडा हुनेछ।

उनी भन्छन्,’हामी दिगो उर्जातर्फ अघि बढिरहेका छौँ र धेरै भन्दा धेरै सोलार प्यानल निर्माण गरिरहेका छौँ। यो निकै राम्रो कुरा हो, तर यसबाट सिर्जित समस्या समाधान गर्ने कसरी ?’

फ्रान्समा विश्वकै पहिलो कारखाना

अन्ततः फ्रान्सले यहीँ जून महिनामा सोलार प्यानललाई पूर्णरुपमा रिसाइकल गर्ने विश्वकै पहिलो कारखाना खोल्दैछ। फ्रान्सको यो सुरुवातसँगै अन्य मुलुकहरुले पनि यस दिशामा काम गर्ने अपेक्षा गरिएको छ।

उक्त रिसाइक्लिङ कम्पनीको नाम आरओएसआई (रोसी) हो। यसले फ्रान्सको ग्रेनोबलमा आफ्नो कारखाना स्थापना गरिरहेको छ। यो कारखानाले सोलार प्यानलका ९९ प्रतिशत हिस्सालाई रिसाइकल गरेर पुनः प्रयोग गर्न लायक बनाउनेछ।

यो कारखानाले सोलार प्यानलको काँच तथा आल्मुनियम फ्रेमका साथै त्यसमा प्रयोग भएको चाँदी तथा तामा लगायतका मूल्यवान धातुहरुलाई पनि छुट्टाउने काम गर्नेछ, जुन निकै जटिल हुन्छ। छुट्टाइएका यी धातुहरुलाई अधिक क्षमतायुक्त सोलार प्यानलमा पुनः प्रयोग गर्न सकिनेछ।

सोलर पैनल

रिसाइक्लिंगको परम्परागत तरिकाबाट आल्मुनियम तथा काँचलाई अलग गर्न सकिन्छ, तर कम्पनीका अनुसार यसबाट प्राप्त हुने काँच अपेक्षाकृत रुपमा कम गुणस्तरको हुन्छ।

यसबाट निकालिएको काँचलाई टायल बनाउने तथा कोलटार बनाउने जस्ता काममा प्रयोग गर्न सकिन् । तथापि यसलाई उच्च क्षमतायुक्त हाइग्रेड सोलार प्यानलमा प्रयोग गर्न सकिँदैन।

सोलार प्यानलको तहल्का

रोसी कारखाना यस्तो समयमा सुरुवात हुँदैछ जतिबेला सोलार प्यानल लगाउने होडबाजी चलिरहेको छ। सन् २०२१ सम्म विश्वभर सौर्यउर्जा उत्पादनमा २२ प्रतिशतको बढोत्तरी भएको छ।

बेलायतमा मात्रै हरेक महिना १३ हजार नयाँ सोलार प्यानल जडान भैरहेका छन्, जुन अधिकांस घरका छतहरुमा जोडिएको छ। तर त्यस्ता सोलार प्यानलहरु अधिकांस मात्रामा आफ्नो आयू पूरा नहुँदै प्रयोगवीहिन बन्ने गरेका छन्।

विश्वमा सौर्य उर्जाको प्रविधि पनि उन्नत बनिरहेको छ, त्यसैले पूराना सोलार प्यानल मर्मत गर्नुभन्दा नयाँ र अत्याधुनिक सोलार प्यानल किन्न सस्तो पर्दछ।

सोलर पैनल

कोलियरका अनुसार यदि सोला प्यानलको तहल्का यहीँ गतिमा रह्यो भने बिग्रिएका सोलार प्यानलको पहाड अझै ठूलो हुनेछ।

उनी भन्छन्, ‘हामीलाई थाहा छ कि सन् २०३० सम्ममा ४० लाख टन सौर्य फोहोर जम्मा हुनेछ, जसलाई फेरिपनि समाधान गर्न सकिनेछ। तर सन् २०५० सम्ममा विश्वमा २० करोड टन सोलार प्यानलको फोहोर जम्मा हुनेछ।’

रिसाइक्लिंगको चुनौत

सोलार प्यानलको रिसाइक्लिंग गर्ने कारखानाहरु यतिधेरै कम हुनुको कारण यो पनि हो कि अहिलेसम्म सोलार प्यानलको फोहोरलाई रिसाइकल गर्ने आवश्यकता नै महसुस भएको छैन।

पहिलो पुस्ताका सोलार प्यानलहरु बल्ल अब बेकार हुन सुरु भएका छन्। अर्थात् अब बल्ल ठूलो परिमाणका सोलार प्यानलको आयू सकिने चरणमा छ। विज्ञहरुका अनुसार त्यसैले यो विषयमा अब छिटै नै काम सुरुवात गर्नु आवश्यक छ।

निकोलस डिफ्रेनीका अनुसार सोलार प्यानल रिसाइक्लिंगको क्षेत्रमा फ्रान्स युरोपमै सबैभन्दा अगाडि छ। उनी आबद्ध सोरेन नामक संगठन रोसी लगायतका विभिन्न कम्पनीको साझेदार हो र फ्रान्सभर नै आयू समाप्त हुने सोलार प्यानलको निगरानीको काम गरिरहेको छ। उनका अनुसार सबैभन्दा ठूलो सौर्य उर्जा प्लान्टलाई बन्द गरेर भत्काउनका लागि ३ महिना लागेको थियो।

सोरेनमा उनको टिमले सोलार प्यानल रिसाइक्लिंगका लागि विभिन्न तरिकाहरु अपनाइरहेको छ। ग्रेनोबेलको रोसी हाइटेक प्लान्टमा सोलार प्यानलको भित्र प्रयोग भएका चाँदी, सिलिकन तथा तामा जस्ता मूल्यवान धातुहरुलाई निकाल्नु सबैभन्दा मुस्किल काम हो।

यी धातुहरु विभिन्न पाटपुर्जामा कम परिमाणमा र यस्तो प्रकारले राखिएको हुन्छ कि त्यसमा रहेको धातुलाई निकाल्नु आर्थिक रुपले पनि फाइदाजनक देखिँदैन। तर ती मूल्यवान धातुलाई निकाल्ने प्रभावशाली तथा सस्तो तरिका पत्ता लगाउने हो भने त्यो गेमचेन्जर हुने निकोलस बताउँछन्। उनका अनुसार सोल प्यानलमा ६० प्रतिशत मूल्यवान चिजहरु उसको केवल ३ प्रतिशत वजनमा रहेका हुन्छन्।

भविष्यमा नयाँ सोलार प्यानल निर्माणका लागि आवश्यक पर्ने चिजमध्ये तिन चौथाई सामान पूराना सोलार प्यानलबाटै प्राप्त गर्न सकिने विश्वास सोरेनको छ।

तर यदि जिवास्म इन्धनबाट सौर्यउर्जातर्फ जाने हो भने भविष्यमा त्यसका लागि जति परिमाणमा सोलार प्यानल बनाउनु पर्दछ, त्यसका लागि आवश्य पर्ने चाँदी हाल उपलब्ध छैन।

निकोलसका अनुसार सोलार प्यानल रिसाइक्लिंग अहिलेपनि सुरुवाती चरणमै छ र अघिल्लो वर्ष सोरेन कम्पनीले फ्रान्समा ४ हजार टन सोलार फोहोरको व्यवस्थापन गरेको थियो।

जबकि गतवर्ष फ्रान्समा बिक्री भएका सोलार प्यानलहरुको कूल तौल भने २ लाख ३२ हजार टन थियो। आगामी २० वर्षमा यी सोलार प्यानलको आयू सकिँदा कतिधेरै फोहोर जम्मा होला ? सजिलै अनुमान गर्न सकिन्छ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?