
२५ वैशाख, काठमाडौं । देशभरीका सहकारी पीडित बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । बचतकर्ताको रकम अपचलन गर्दै सहकारी व्यवस्थापक र सञ्चालकले पैसा फिर्ता नगरेपछि सहकारी बचतकर्ताहरु काठमाडौंमा भेला भएर धर्ना दिइरहेका छन् ।
सहकारी संस्थालाई राष्ट्र बैंकको निगरानी र नियन्त्रणमा राख्ने व्यवस्था गर्नुपर्ने, सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सहकारी पीडितहरुले माइतीघरबाट बानेश्वरसम्म र्याली निकालेका हुन् ।
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले गरेको धर्नामा कार्यक्रममा सहकारीका बचकर्ताको सावाँ तथा व्याज रकम फिर्ता गर्नुपर्ने, सहकारी सञ्चालकका परिवार र कर्मचारीको सम्पत्ति रोक्का गर्नुपर्ने मागसहित सहकारी पीडितले विरोध तथा धर्ना कार्यक्रम गरेका हुन् ।
पछिल्लो समय देशरीका सहकारी संस्थाहरु धमाधम समस्याग्रस्त बन्दै बचत रकम फिर्ता गर्न नसकेर सञ्चालक फरार हुने क्रम बढ्दै छ । बचतकर्ताको रकम अपचलन गरी आफ्नो कम्पनी तथा घरजग्गामा लगानी गरेका सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नगरी फरार भएपछि सहकारीका बचतकर्ताहरु काठमाडौंमा संगठित भएर आन्दोलन सुरु गरेका हुन् ।
यता सहकारी आन्दोलनको नेतृत्व दाबी गर्ने राष्ट्रिय सहकारी महासंघले भने बचत फिर्ता नगरी बन्द गरेर सञ्चालक फरार भएका सहकारी चलाउन २ वर्षको समय चाहिन भन्दै उनीहरुलाई जोगाउन लबिइङ गर्दै हिंडेको छ । बचतकर्ताको रकम दुरुपयोग गर्ने सहकारी संस्थालाई अहिलेको समस्या समाधान गर्ने भन्दै सहुलियत ब्याजदरमा १० अर्बको ऋण चाहिने जस्ता माग महासंघले गरिरहेको छ ।
राष्ट्रिय सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरे सहकारी ऐन २०७४ ले यति ठूला मात्रामा वित्तीय कारोबार हुने परिकल्पना नै नगरेको भन्दै अहिलेको संरचनाले सहकारीको वित्तीय कारोबारको नियमन गर्न नसक्ने बताए । बुधबार काठमाडौंमा आयेजित एक कार्यक्रममा उनले सहकारी ऐनको परिकल्पना भन्दा सहकारीको वित्तीय कारोबार धेरै ठूलो भएको बताएका थिए ।
प्रतिक्रिया 4