
२५ जेठ, काठमाडौं । घरजग्गा व्यवसायीहरुले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्याउन माग गरेका छन् । बिहीबार नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडीएफ) का पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भएको भेटमा महासंघले यस्तो माग गरेको हो ।
आगामी मौद्रिक नीतिको सुझाव पेश गर्दै महासंघले घरजग्गा व्यवसायीहरुले वर्तमान अवस्थामा रियल इस्टेट सेक्टरले भोगिरहेको समस्या समाधानका लागि पहल गर्न गभर्नर अधिकारीसँग माग गरेका हुन् ।
महासंघका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले गभर्नर अधिकारीलाई ‘लोन टु भ्यालु रेसियो’ रियल इस्टेट कम्पनीहरुलाई ७० प्रतिशत पुर्याउन आग्रह गरे । ‘अहिले उद्देश्य नखुलेकाहरुको हकमा ‘लोन टु भ्यालु रेसियो’ काठमाडौं उपत्यका भित्र ३० र बाहिरको हकमा ४० प्रतिशत छ,’ अध्यक्ष लोहोनीले भने,‘यसलाई थप फराकिलो बनाउनु पर्यो ।’
व्यवसायीको मागबारे राष्ट्र बैंकले भने उद्देश्य खुलेकाहरुको हकमा ‘लोन टु भ्यालु रेसियो’ ६० प्रतिशत नै भएको प्रष्ट्याएको थियो । महासंघ टोलीले किस्ताबन्दीमा घरजग्गा किन्नेहरुको किस्ता मूल्याङ्कन मौद्रीक नीतिमा नबढाइदिन समेत गभर्नर अधिकारीको ध्यानाकर्षण गराए ।
महासंघले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्न पनि राष्ट्र बैंकसँग आग्रह गरेको छ ।
जवाफमा गभर्नर अधिकारीले घरजग्गा क्षेत्रमा आगामी मौद्रिक नीतिले अनुकूल व्यवस्था गर्ने आश्वासन दिएका थिए ।
प्रतिक्रिया 4