+
+

काभ्रेको भकुण्डेबेंसीमा ग्रामीण चलचित्र महोत्सव सुरु, १७ फिल्म देखाइने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १२:१६

काठमाडौं । काभ्रेको भकुण्डेबेंसीमा नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण सुरु भएको छ । ग्रामीण कथावस्तुमा बनेका १७ फिल्मलाई फेस्टिभलमा प्रदर्शन गरिने आयोजक सेलिब्रिटी नेपाल प्रतिष्ठानले जनाएको छ । फेस्टिभलमा सहभागी हुन अधिकांश फिल्मकर्मी त्यसतर्फ लागेका छन् ।

फेस्टिभलको पूर्वसन्ध्यामा काठमाडौंमा प्रि-इभेन्ट आयोजना गरियो, जहाँ जुरीको घोषणादेखि छनोट भएका फिल्मलाई प्रमाणपत्र समेत वितरण गरियो । फेस्टिभलको जुरीमा फिल्म सम्पादक तथा निर्देशक रक्षा सिंह राणा, अभिनेता सुवास गजुरेल र फिल्म सम्पादक भरत रेग्मी छन् ।

शुक्रबार र शनिबार हुने फेस्टिभलमा २०७९ सालको हिट फिल्म ‘झिंगेदाउ’देखि समीक्षात्मक रुपमा रुचाइएको ‘प्रकाश’सम्म प्रदर्शन हुनेछन् । ‘डेसान’, ‘ल्हुई’, ‘नीरमाया’, ‘चरित्र’, ‘आफ्नै कर्म’, ‘मेरी हजुरआमा’, ‘साइत’, ‘सेती दिदी’, ‘कहानी एकादेशको’, ‘परिवर्तन’, ‘दुर्गामाण्डु’, ‘ऐना’, ‘हुक्का’ महोत्सवमा प्रदर्शन गरिने भएको छ । साउनमा प्रदर्शन तयारीमा रहेको ‘लुङा’लाई प्रिमियर गरिने भएको छ ।

महोत्सवमा लेखक तथा निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत सञ्चालन गर्दैछन् । त्यस्तै अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरूसँग भलाकुसारी गर्नेछन् ।

महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा स्थानीय तीन फिल्मकर्मीहरु निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिने भएको छ । चलचित्र विकास बोर्डसँगको सहकार्यमा हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्मकर्मी सहभागी हुनेछन् ।

महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा आयोजना गरिएको थियो । फिल्म हलको सुविधा नभएका क्षेत्रका दर्शकलाई लक्षित गर्दै महोत्सवको थालनी गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?