+

बालबालिकालाई निमोनिया भएको कसरी थाहा पाउने ?

२०८० जेठ  २६ गते १३:३२ २०८० जेठ २६ गते १३:३२
बालबालिकालाई निमोनिया भएको कसरी थाहा पाउने ?

काठमाडौं । छाती वा फोक्सोमा संक्रमण बढ्दा निमोनिया हुन्छ । निमोनिया भएपछि खोकी, ज्वरो र सास फेर्न गाह्रो हुने संकेत देखिन्छ । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्ने भए पनि नवजात शिशु र साना बालबालिकामा यो गम्भीर हुन सक्छ ।

बालबालिकाले आफ्नो समस्या खुलेर बताउन नसक्ने भएकाले निमोनियाको लक्षण अभिभावकहरूले ख्याल गर्नुपर्छ । बच्चामा निमोनिया भएको छ र समयमा उपचार भएन भने समस्या जटिल बन्न सक्छ । त्यसैले बालबालिकालाई निमोनिया भएको कसरी थाहा पाउने ? उनीहरूलाई निमोनियाबाट कसरी बचाउनेलगायत विषयमा कान्ति बाल अस्पतालका छाती तथा एलर्जीरोग विशेषज्ञ डा. जगतजीवन घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश :

बालबालिकामा निमोनिया हुने कारण के के हुन् ?

जन्मिंदा आवश्यक खोप नपाएका बालबालिकालाई निमोनिया हुने सम्भावना बढी हुन्छ । साथै बालबालिकामा निमोनियाका धेरैजसो केसहरू ब्याक्टेरिया वा भाइरल संक्रमणका कारण हुने गर्छ ।

बच्चा र वृद्धवृद्धाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यसैले पनि निमोनियाको समस्या हुन्छ । बाहिरी तथा भित्री वायु प्रदूषण भएको ठाउँमा बच्चा लामो समय बस्छन् भने त्यसले पनि निमोनिया हुन्छ ।

बच्चाको श्वासनलीमा अवरोध भएमा जन्मजात दोष भएमा निमोनिया हुन सक्छ । लामो समयदेखि रुघा लागिरहने बच्चामा पनि निमोनियाको समस्या देखिन सक्छ ।

निमोनिया लाग्दा के कस्तो लक्षण देखा पर्छ ?

बच्चालाई उच्च ज्वरो आएको छ भने यो निमोनियाको लक्षण हुन सक्छ । छातीमा घरघर हुनु वा सास फेर्न गाह्रो हुनु पनि निमोनियाको लक्षण हो ।

छिटो छिटो सास फेर्ने र खोकी लाग्ने, कोखा हान्ने, बच्चा लोसे हुँदै जान र होस कम हुँदै जानेजस्ता लक्षण पनि देखिन्छ । नङ वा ओठको नीलो रंग पनि निमोनियाको लक्षण हुन सक्छ ।

निमोनियाकै कारण जटिलताहरु पनि निम्तिन सक्छन् ?

निमोनियाको उपचार समयमै गरिएन भने श्वासप्रश्वाससम्बन्धी जटिलता र अन्य अंगमा पनि जटिलता निम्तिन सक्छ । श्वासप्रश्वास समस्या हुने, शरीरमा अक्सिजनमा कम हुने, फोक्सोमा समस्या देखा पर्ने हुन्छ ।

निमोनियाको कारण शरीरमा अक्सिजनको कमी भएपछि मुटु, मस्तिष्कलगायत अंगहरुमा पनि असर गर्छ । निमोनियाको संक्रमण ‘सेप्सिस’ फोक्सोबाट शरीरभरि फैलियो भने मिर्गौला र मस्तिष्कमा समस्या देखिन थाल्छ ।

फोक्सोमा पानी र पिप जम्मा हुने लगायत जटिलता पनि निम्तिन सक्छ ।

के छ उपचार ?

निमोनियाको उपचार समयमै गरियो भने यसबाट हुन सक्ने जटिलताबाट बच्न सकिन्छ । कुनै बच्चामा श्वासप्रश्वासको समस्या छ भने सबैभन्दा पहिले त्यो निमोनियाको संक्रमण हो कि अन्य संक्रमण हो भनेर पत्ता लगाउनुपर्छ ।

निमोनिया नै हो भन्ने पत्ता लागेपछि एन्टिबायोटिक औषधि खाएर यसको उपचार गरिन्छ । भाइरल निमोनियामा एन्टिबायोटिकले काम नगर्न पनि सक्छ । मानौं इन्फ्लुएन्जाको कारण निमोनिया भएको छ भने इन्फ्लुएन्जाको एन्टिभाइरल चलाउनुपर्‍यो । समयमा उपचार गरियो भने यो छिटो निको पनि हुन्छ ।

बच्चालाई निमोनियाबाट बचाउने उपाय के छ ?

नवजात शिशुलाई निमोनियाबाट जोगाउन बीसीजी, डीपीटीलगायत खोप दिनुपर्छ । बच्चालाई रुघा लागेको व्यक्ति र चिसोबाट पनि बचाउनुपर्छ ।

सकेसम्म धुवाँधुलो तथा प्रदूषणबाट बच्चालाई टाढा राख्नुपर्छ । जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । यसले बच्चाको रोगसँग लड्ने क्षमतालाई बलियो बनाएर निमोनियाबाट पनि बचाउँछ ।

बच्चा जन्मको पहिलो तीन महिनामा रोगसँग लड्ने क्षमता कम हुन्छ । धेरैजसो खोप बच्चा जन्मेको तीन महिनापछि मात्र सुरु गरिने भएकोले सकेसम्म बच्चालाई धेरै मानिसको प्रत्यक्ष सम्पर्कमा नराख्ने, भीडभाडमा नलैजानु राम्रो हुन्छ ।

बच्चाको खानपान र पोषणमा ध्यान दिनुपर्छ । जसले गर्दा उसको रोगप्रतिरोधात्मक क्षमता बढ्छ र संक्रमणबाट बच्न सक्छ । कुनै लक्षण देखियो भने जटिलताबाट बचाउन तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

निमोनिया बालबालिका
डा. जगतजीवन घिमिरे
लेखक
डा. जगतजीवन घिमिरे
बाल श्वासप्रश्वास तथा सघनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७७६२ डा. घिमिरेले  बाल चिकित्सा पल्मोनोलोजी र गहन हेरचाहमा अखिल भारतीय चिकित्सा विज्ञान संस्थान(AIIMS)बाट, नयाँ दिल्लीबाट डीएम गरेका छन् । हाल उनी कान्ति बाल अस्पतालमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?