
२६ जेठ, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदीमा लगाइएको कर फिर्ता लिन सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै सुनचाँदीमा वृद्धि गरिएको ५० प्रतिशत भन्सार र २ प्रतिशत विलासिता कर तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।
सरकारले आर्थिक विधेयक २०८० मार्फत् सुन र चाँदीमा ५० प्रतिशतले भन्सार वृद्धि गरेको थियो भने १० लाख भन्दा बढी मूल्यको सुनचाँदी खरिद गर्दा २ प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेको थियो ।
सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने विभेद्कारी नीति पनि खरेज गर्न महासंघले माग गरेको छ ।
अस्वभाविक रुपमा भन्सार बढाउँदा विदेशमा भन्दा नेपालमा सुनचाँदीका गरगहना महँगो पर्ने भएकोले विदेशमा बस्ने नेपालीहरुले नेपाली भन्दा विदेशी गरगहना नै किन्ने अवस्था सृजना भई स्वदेशी रोजगारी गुम्ने र व्यापार घाटा घटाउन गरगहना निर्यात गर्न पनि उच्च भन्सार दरको व्यवस्थाबाट प्रतिस्पर्धात्मक क्षमतामा कमी भई निर्यात हुन नसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
परम्परा, धर्म, सँस्कृति र घर व्यवहारमा चल सम्पत्तिको रुपमा उपयोग हुने गरगहनामा गरिएको यो व्यवस्था आफैंमा अव्यवहारिक र गलत भएको उनीहरुको ठहर छ । सरकारको नीतिले नेपाल र अन्य देशमा सुनको मूल्यान्तर धेरै हुने र यसले तस्करी मौलाउन सक्ने च्निता पनि व्यवसायीहरुको छ ।
प्रतिक्रिया 4