
२६ जेठ, सुर्खेत। अत्यधिक गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि वीरेन्द्रनगर नगरपालिका भित्रका विद्यालयहरु बन्द हुने भएका छन्।
नगरपालिकाले शुक्रवार विद्यालयहरुलाई पत्राचार गर्दै असार १ गतेसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ।
अत्यधिक गर्मीका कारण बालबालिकामा ज्वरो आउने, ढल्ने, पेट दुख्ने जस्ता समस्या देखिन थालेपछि नगरपालिकाले पठनपाठन बन्द गर्न निर्देशन दिएको वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले जानकारी दिइन्।
‘पछिल्लो एक साता गर्मी अत्याधिक बढेको छ। बालबालिकाहरु विरामी हुन थालेपछि वर्षे विदाबाट कट्टी हुनेगरी आवश्यकताका आधारमा विद्यालय बन्द गर्न निर्देशन दिएका छौं,’ मेयर ढकालले भनिन्।
पालिकाले शिक्षण सिकाइको वातावरण प्रतिकूल हुन गएको भन्द्र जेठ २८ देखि असार १ गतेसम्म बन्द गर्न भन्दै विद्यालयलाई पत्राचार गरेको छ।
वीरेन्द्रनगरका निजी विद्यालयहरुले यसअघि नै विद्यालय बन्द गरिसकेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’ ले जेठ २४ देखि ३१ जेठसम्मका लागि विद्यालय बन्द गर्न पत्राचार गरेको थियो।
प्रतिक्रिया 4