
२६ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका क्षेत्रमा सर्वेक्षक भन्दै घरदैलोमा गएर चोरी, लुटपाटको घटना बढ्न थालेको गुनासो आएको भन्दै वडा नम्बर ९ को कार्यालयले सावधानी अपनाउन सूचना निकालेको छ ।
तथ्यांक संकलनको नाममा अप्रिय घटना हुन थालेको भन्दै वडा कार्यालयले सूचना निकाल्दै सचेत हुन आग्रह गरेको छ ।
महानगरपालिकाको ९ नम्बर वडाले शुक्रबार एक सूचना जारी गर्दै घरधुरी सर्भेक्षण गर्ने उद्देश्यले तथ्यांक संकलनको बहानामा सोधपुछ गर्ने र त्यसपछि चोरी, लुटपाट हुने गुनासो आएको बताएको छ ।
गुनासो आएपछि जारी भएको सूचनामा भनिएको छ ‘सर्वेक्षक भनेर आएका व्यक्तिहरुलाई आफ्नो घरपरिवारको बारेमा कुनै सूचना नदिनुहोला ।’
९ नम्बर वडाले तथ्यांक संकलनको लागि आएका व्यक्तिहरु प्रमाणित हुने परिचय पत्र तथा वडाको सिफरिस नभएसम्म कुनै पनि सूचना नदिने आग्रह गरेको छ ।
वडा कार्यालयले सर्वेक्षणका नाममा भएका चोरी तथा लुटपाटको कुनै तथ्यांक भने दिएको छैन । जिल्ला प्रहरी परिसर ललितपुरले पनि सर्वेक्षणका नाममा भएका चोरी तथा लुटपाट भएको भनेर अहिलेसम्म उजुरी नआएको बताएको छ ।
प्रतिक्रिया 4