
‘सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले
छुट्यो माया जाल’
बुलबुले तालको बखान कति गर्नु ? सुर्खेतलाई रुपवती बनाउने आभूषण झैं छ यो । सुर्खेतको मध्यमागमा रहेको यो ताल करिब साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको छ । घुमफिरका लागि पुग्नेहरुलाई सुरुमा त यही तालले मोहनी लगाउँछ ।
बुलबुले उद्यानमा रहेको ताल । चाहे जल बिहार गर्न होस् वा घुमफिर गर्न, तालमा आगन्तुकको घुइँचो लाग्छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएकाले यसको नाम बुलबुृले रहेको स्थानीयवासी बताउँछन् ।
२०३० सालमा तत्कालीन राजा वीरेन्द्रले सुर्खेत भ्रमणका क्रममा उक्त ताल सहितको उद्यान निर्माण गर्न लगाएका थिए ।

तर, सुर्खेतको फन्को लगाइरहँदा अरु पनि दर्शनीय ठाउँ पुग्नुपर्ने हुन्छ । जस्तो कि, गंगामाला देउती बज्यै ।
खासगरी धार्मिक आस्था राख्नेहरुलाई यस गन्तव्यले आकर्षित गर्न सक्छ । हुन त यसको आफ्नै ऐतिहासिक महत्व पनि छ । यस मन्दिरको साइनो सुर्खेतमा बसोबास गरिरहेका पुरानो राजी जातिसँग पनि जोडिएको छ । राजीले गंगामा जाल खेल्न जाँदा देउता भेटिएकाले यस मन्दिरको नाम गंगामाला देउती बज्यै रहन गएकाे स्थानीयवासीहरु बताउँछन् ।
देउती बज्यैको दर्शनले आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास सहित यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

अब लागौं घण्टाघरतर्फ । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर पनि आकर्षणको एउटा केन्द्र हो । २०४५ सालमा भेरी नदीमा पक्की पुल निर्माण भएपछि चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यमागमा घण्टाघर बनाइदिएको हो ।
घण्टाघर मात्र नभएर यसको आसपासमा पार्क तथा खुला चौर पनि छन् ।

सुर्खेतको लाटीकोइलीमा रहेको काँक्रेविहार पनि निकै चर्चित छ । काँक्रेविहार मन्दिर हिन्दु र बौद्ध दुवैप्रति आस्था राख्नेहरुको आस्थाको केन्द्रको रुपमा लिइन्छ ।
काँक्रेविहार मन्दिर पुनर्निर्माण पछि अहिले दैनिक यहाँ घुम्न आउनेको संख्या बढेको छ । १७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार वन क्षेत्र नेपालकै पहिलो संरक्षित वन पनि हो ।



प्रतिक्रिया 4