
हाम्रो ठूलो समस्या भनेको हामी जनताले नेता तथा विश्लेषकलाई कडा प्रश्नहरु गर्नै छाडिसक्यौं। त्यसैले परराष्ट्र सम्बन्धको विश्लेषणहरु प्राय:जसो एकैखाले हुने गरेका छन्। जस्तै: नेपाल भूराजनैतिक महत्व बोकेको मुलुक हो, नेपाल चीन र भारत जोड्ने पुल हो, नेपालले दुवै छिमेकी र अमेरिकासित सन्तुलित सम्बन्ध राख्नुपर्छ, नेपालले दुवै छिमेकीसँग फाइदा उठाउनुपर्छ र नेपाल चीनको भौगोलिक अखण्डताको लागि महत्वपूर्ण छ।
हामी यस्तै खाले विश्लेषण सुन्न, पढ्न मन पराउँछौं, हो ठीक कुरा गर्यो भन्छौं, हाम्रो भूराजनैतिक अवस्थामा गर्व गर्छौं। अनि भारत र चीन जोड्ने पुल बनेर समृद्ध भएको मिठो सपना देख्छौं। सायद कटु यथार्थ स्वीकार्ने हिम्मत नभएर हो वा विश्लेषक र नेताहरुको वाक्य वेदवाक्य मानेर हो हामी कठोर तर आवश्यक प्रश्नहरु सोध्दै सोध्दैनौं।
तर अब यी स्थापित भाष्यहरुको निर्मम विश्लेषण वा चिरफार गरेर नेता तथा विश्लेषकलाई कठोर प्रश्नहरु सोध्न जरुरी छ। त्यो गरे मात्र नयाँ शिराबाट बहस गर्दै हाम्रो परराष्ट्र सम्बन्धमा देखिएका अन्योल र समस्याको समाधान पाउन सकिन्छ।
सुरु गरौं धेरै सुनिने, पढिने नेपालको भूराजनैतिक महत्वबाट। के नेपाल साँच्चै नै भूराजनैतिक रुपले महत्वपूर्ण मुलुक हो त ? उहिले लडाकु विमान र क्षेप्यस्त्रहरु नहुँदा नेपालको भूराजनैतिक महत्व थियो होला तर अहिले के कति कारणले नेपाल भूराजनैतिक रुपमा महत्वपूर्ण छ त?
यदि नेपाल हामीले सोचेको जस्तो वा हामीलाई बताइएको जस्तो महत्वपूर्ण हुन्थ्यो भने त यहाँ नेपाल र शक्तिराष्ट्रहरू बीच बाक्लै उच्चस्तरीय भ्रमणहरु हुन्थ्यो होला। नेपालमा भारत, चीन, अमेरिका, जापान आदिबाट वैदेशिक लगानी र सामरिक हतियार आउँथ्यो होला। तर यी सबै भएको छ त ? के आजको युगमा भारत र चीन बीच हुनु नै भूराजनैतिक रुपले महत्वपूर्ण हुनु हो त ?
अर्को भाष्यले हामीलाई चीन र भारत जोड्ने पुलको रुपमा दर्साउँछ। तर यो भाष्यको सबैभन्दा ठूलो समस्या भनेको चीन र भारतलाई नेपालभन्दा सहज रुपले जोड्ने मुलुक म्यान्मार छ है भन्ने कुरा चटक्कै बिर्सिन्छ वा उठाउनै चाहँदैन। दोस्रो विश्वयुद्धताका नै चीनमा चियांग काइशेक सरकारलाई जापान विरुद्धको लडाइँमा हतियार सहयोग गर्न चीनको युनानदेखि म्यान्मारहुँदै भारतको आसामसम्म बाटो स्टिलवेल रोड बनाइएको थियो। अहिले पनि यदाकदा यो सडकलाई फेरि संचालनमा ल्याउने कुरा उठिनै रहेको छ। चीनले विगतमा प्रस्ताव गरेको बंगलादेश, चीन, भारत, म्यानमार कोरिडोर (बीसीआईएम) यही स्टिलवेल रोडको नयाँ परिष्कृत रुपमा लिन सकिन्छ।
यो कोरिडोर सुचारु भएमा यसले विकासको हिसाबले पछाडि परेको चीनको दक्षिण पश्चिम प्रान्तहरुलाई दक्षिणएसियाको ठूलो बजारसँग जोडेर त्यहाँको विकासमा महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ र चीनलाई हिन्द महासागरसम्म पहुँच दिन्छ। म्यान्मारलाई पनि चार देशीय सडक संजालमा जोडिंदा फाइदै छ। उसको चीनसँगको सीमावर्ती इलाकामा रहेका विद्रोही समूहहरुको समस्या पनि समाधान हुने, विकास पनि हुने। भारतलाई पनि आफ्नो उत्तरपूर्वी राज्यहरुको विकास र त्यहाँ रहेका विद्रोही समूहको समस्या नियन्त्रण गर्न सजिलो हुन्छ। हो यो कोरिडोरको केही भाग भारत र चीनबीच विवादित अरुणाचल प्रदेशमा पर्छ तर हाल देखिएको भारत र चीन विवाद सधैं रहिरहन्छ भन्ने पनि छैन। फेरि व्यापार प्रवर्धन र सम्बन्ध सहज बनाउन चीनले सिक्किम भारतको भूभाग मानेर–भनेर नाथुला पासबाट व्यापार गरेकै हो। त्यसैले चीनले अरबौं डलर खर्च गरेर नेपालमा रेल किन ल्याउने ?
अब कुरा ‘सन्तुलित सम्बन्ध’ बारे। यो सुनेको र पढेको पनि दशकौं भयो सायद यो सुन्दासुन्दा कतिको कान पाकिसक्यो र पढ्दा–पढ्दा कतिको आँखा दुखिसक्यो। तर सन्तुलित सम्बन्धको वकालत गर्नेहरुबाट त्यो चमत्कारी सन्तुलन चाहिं कसरी गर्ने भन्ने चाहिं अहिलेसम्म सुनेको छैन।
नेपाल जस्तो गरिब र कमजोर मुलुकले यी एकआपसमा परस्पर विरोधी विचारधारा र सामरिक नीति बोकेका मुलुकहरुसित कसरी सन्तुलित सम्बन्ध राख्न सक्छ ?
के नेपाल स्विट्जरल्यान्ड जस्तो सम्पन्न र आफ्नो राष्ट्रिय सुरक्षा प्रति कटिबद्ध छ ? संसारका हामीभन्दा ठूला, शक्तिशाली र धनी मुलुकहरुले नै अहिलेसम्म गर्न नसकेको वा नजानेको ‘सन्तुलन’ हामीले कसरी गर्ने? अन्य देशहरुको उदाहरण हेर्ने हो भने पनि सन्तुलित परराष्ट्र नीति कसैको नि छैन। सबै एक न एक शक्तिराष्ट्रतिर ढल्केका छन्- चाहे बजारको लागि होस् वा सुरक्षाको लागि। सन्तुलित सम्बन्ध राख्न सामर्थ्य, आर्थिक तथा सैन्य चाहिन्छ, जुन दुर्भाग्यवश हामीसँग दुवै छैन ।
अर्को हामीले सधैं सुन्दै र पढ्दै आएको कुरो हो- नेपालले छिमेकीहरूको विकासबाट फाइदा उठाउनुपर्छ। यो कुरा यसरी भनिन्छ कि मानौं हाम्रा दुवै छिमेकीहरु हामीलाई फाइदा दिन तत्पर छन् तर हाम्रै नेताहरुको कमी-कमजोरीका कारण हामीले फाइदा लिन सकेका छैनौं। यो भाष्यको सबैभन्दा ठूलो समस्या नै हाम्रा छिमेकीहरू सारै उदार तर हामी नै माग्न वा लिन नजान्ने भन्ने हो ।
हाम्रा छिमेकीहरुले हामीलाई किन फाइदा उठाउन दिने त ? त्यो फाइदाको बदला उनीहरुले आफ्नो फाइदा खोज्छन् कि खोज्दैनन्? चीनले सोभियत संघ विरोधी खेमामा आफूलाई अमेरिकासँगै उभ्याएकोले नै चीनमा अमेरिकी लगानी र अमेरिकी बजार चीनको लागि खोलियो। सिंगापुरले पनि कम्युनिस्टको विरोध गर्दै अमेरिकासँग आफूलाई उभ्याएर अमेरिकी लगानी र बजार सुनिश्चित गरेको गरेकै हो। सबै देशलाई विकासको लागि एउटा भरपर्दो साझेदार नभई हुँदैन, र त्यो ‘भरपर्दो साझेदार’ को हित सुनिश्चित नगरी उसले आफ्नो लगानी पनि गर्दैन, बजार पनि दिंदैन। हाम्रो असंलग्नताको रट पनि लगाउने, अनि ठूलै फाइदा पनि खोज्ने- यो त चिची पनि पापा पनि भएन र ? हाम्रा छिमेकीहरुले हाम्रो बालहठ किन पूरा गर्ने ?
अर्को प्रचलित भाष्य हो नेपाल चीनको भौगोलिक अखण्डताको रक्षाको लागि महत्वपूर्ण छ। अब १६ ट्रिलियन डलरको अर्थतन्त्र र विश्वकै शक्तिशालीमध्ये एक सेना भएको मुलुकको भौगोलिक अखण्डताको हामी जस्तो संसारकै गरिब र कमजोर मुलुकले जिम्मा लिने? यो त हुटिट्याउँले आकाश थाम्ने भनेको जस्तो भएन र ?
उट्पट्याङ कुरा धेरै भयो, अब सोचौं र प्रश्न गरौं ।
प्रतिक्रिया 4