२७ जेठ, इलाम । यु-२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौंडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका—४ शुक्रबारे खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५—५ अन्तरले कटारी रग्वी क्लबलाई हराउँदै उपाधि जित्यो ।
त्यस्तै महिलातर्फ हेटौडाले १४—५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो । बिजेता दुवै टोलीले ५० हजार रुपैयाँ र उपविजेतालाई ३० हजार रुपैयाँ नगद पुरस्कार दिइएको छ ।
प्रतियोगिताको बिजेता तथा उपविजेतालाई माई नगर प्रमुख खम्ब सिं लिम्बु, नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहता लगायतले पुरस्कार रकम प्रदान गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डंगोल र महिलातर्फ हेटौडाकी पुष्पा खड्का घोषित भइन् । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडी कटारीका नविन दलार्मी र विडिसा राई घोषित भए । उनीहरुले जनही २ हजार पाँच सय प्राप्त गरे ।
नेपाल रग्वी संघको आयोजनामा भएको प्रतियोगिता प्रदेश रग्वी संघ जिल्ला रग्वी संघ इलाम र माई नगरपालिकाको सहजिकरण रहेको थियो । प्रतियोगितामा पुरूष र महिला तर्फ कोशी प्रदेशबाट कटारी रग्वी क्लब, मधेश प्रदेशबाट बर्दिबास रग्वी क्लब, बागमती प्रदेशबाट हेटौडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्वी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्वी सहभागी थिए ।
प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यु–२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ ।
प्रतिक्रिया 4