+
+

गोपीकृष्ण ढुंगानाको ‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते २०:००

२८ जेठ, काठमाडौं। शताब्दीपुरुष सत्यमोहन जोशीबारेको ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक गरिएको छ ।

पत्रकार एवम् साहित्यकार गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त ग्रन्थको वरिष्ठ पत्रकार भैरव रिसालले शनिबार राजधानीमा विमोचन गरेका हुन् ।

रिसालले सत्यमोहनलाई घडाको संज्ञा दिँदै भने, ‘घडाबाट जति अमृत झिके पनि निस्किरहन्छ । उहाँबारे अझै थुप्रै कृति तयार पार्न सकिन्छ । उहाँका बारेमा भनि र लेखिसाध्य छैन।’

गोरखापत्रका पूर्व प्रधान सम्पादक एवं साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सत्यमोहनले १२ वटा अभिलेखमा कीर्ति राखेकाले उनका बारेमा यसरी पुस्तक तयार पार्नु ऐतिहासिक भएको बताए ।

उनले भने, ‘सबैको सत्यमोहन बन्ने अवसर पाउने व्यक्ति जीवित संग्रहालय पनि हुनुहुन्थ्यो ।’ सत्यमोहनका सुपुत्र अणुराजले बुबाका बारेमा ग्रन्थ तयार पारेर अध्ययन अनुसन्धान गर्नेका लागि गतिलो खुराक तयार भएको बताए ।

प्राध्यापक डा. ज्ञानू पाण्डेले सदाका लागि उज्यालो छोडेर जाने स्रष्टा सत्यमोहन भएको बताउँदै उनी सत्यमोहन सिंगो नेपाल र संस्कृति भएको बताइन् । उनले भनिन्, ‘देशका लागि केही गरुँ भन्ने र गर्ने व्यक्तित्वबारेको विविध आयाम समेटेको यस कृतिले चीरकालसम्म अर्थ राख्नेछ ।’

प्राध्यापक डा. लेखप्रसाद निरौलाले इतिहास, संस्कृति, साहित्य र मानवताका दृष्टिकोणले सत्यमोहन नेपाली समाजका शिखर पुरुष भएको बताए ।

उनले भने, ‘सञ्चारकर्मीले राजनीतिक विषय छोडेर यसरी देश र संस्कृतिका लागि लागिपर्ने व्यक्तित्वबारे ग्रन्थ तयार पार्नु आफैंमा ऐतिहासिक कार्य हो।’

सम्पादक गोपीकृष्ण ढुंगानाले समयले सत्यमोहनलाई बनाएको र सत्यमोहनले समयलाई बनाएको आफ्नो अध्ययनको निष्कर्ष रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?