+
+
बालश्रमिक विरुद्ध विश्व दिवस :

अबोध बालबालिका

हामी सबलाङ्गका नजरमा ती नानीहरू ‘अपाङ्ग’ थिए ! तर, तिनै बालिकाले विश्वलाई नवीनतम ज्ञान दिए । महत्वाकांक्षा, अभिमान, अहंकार तथा प्रतिस्पर्धालाई ओझेलमा पारिदिए । मानवता, करुणाले शिर उठाएको र अहंकार लज्जित भएको दिन थियो, त्यो !

कृष्णप्रसाद सुवेदी कृष्णप्रसाद सुवेदी
२०८० जेठ २९ गते ९:२२

कुन फूल राम्रो ? सयपत्री कि गुलाब ? ‘भ्यालेन्टाइन डे’ मा गुलाबको जति महत्व हुन्छ, भाइटीकामा सयपत्री फूलको । न ‘भ्यालेन्टाइन डे’ मा कुनै प्रेमीले प्रेमिकालाई सयपत्री फूलको थुँगा लिएर ‘आई लभ यू’ भन्दै प्रपोज गर्ने कल्पना गर्न सक्दछ न त भाइटीकामा दिदीले भाइलाई गुलाबको फूलको माला लगाइदिने । प्रत्येक फूलको आ-आफ्नो विशेषता, महत्व र सुन्दरता छ । सबै फूल प्रकृतिका अनुपम उपहार हुन् ।

बालबालिका प्रकृतिका सुन्दर सृष्टि हुन्, बगैंचाका विभिन्न प्रकारका सुन्दर फूल जस्तै । एउटा मात्रै फूलको बगैंचा हुँदैन, फसल हुन्छ, खेती हुन्छ । प्रत्येक बच्चा जन्मँदा प्रतिभाशाली हुन्छ । बालबालिका विभिन्न स्वभाव तथा क्षमताका हुन्छन् । बालबालिका राम्रो-नराम्रो, जान्ने-नजान्ने तथा असल-खराब हुँदैनन्, त्यस्तो बनाउने हामी वयस्कले हो, समाजले हो ।

विशाल पीपलको वृक्ष तर त्यति नै सानो हुन्छ यसको बीज । बीजमा विशाल वृक्ष बन्ने गुण अन्तर्निहित हुन्छ । पीपलको बीजलाई चाहिने खाद्य जब माटो, हावा, पानी तथा सूर्यबाट प्राप्त गर्दछ । पीपलको बीज टुसाउँछ, हुर्कन्छ र विशाल वृक्ष भएर धर्तीमा खडा हुन्छ । बालबालिकाले उपयुक्त वातावरणमा हुर्कन पाउने हो भने पीपलले जस्तै सगर ढाक्न सक्दछन् । महान् व्यक्तित्व बन्न सक्दछन् । बुद्ध बन्न सक्दछन् । राम, कृष्ण, जिसस्, महावीर, मोहम्मद, कबिर, नानक बन्न सक्दछन् ।

प्रत्येक बालबालिका अद्भुत र प्रतिभाशाली हुन्छन् । उनीहरूमा सम्भावनाको अनन्त स्रोत हुन्छ । जब पीपलको बीज जस्तै बालबालिकाले उपयुक्त हेरचाह पाउँदछन्, निःसन्देह उनीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटित हुन्छ । तर सवाल के हो भने बालबालिकाले आफूमा भएको अन्तरनिहित क्षमता उजागर गर्न पाएका छन् त ?

आमाबाबुले जीवनमा सफलता नपाएका हुनसक्दछन् । मनमा असफलताको कुण्ठा हुन्छ । अहं हुन्छ । पूरा गर्ने उपाय के त ? छोराछोरीले गरिदेओस् भन्ने चाहना हुन्छ । आफू डाक्टर बन्ने अधुरो चाहना छोराछोरीले पूरा गरिदेओस् भन्ने लालसा हुन्छ । अनि भर्खरै वामे सर्दै गरेको नानीलाई सिकाउन थाल्दछौं, नानुु ठूलो भएपछि डाक्टर बन्ने भन्न ।

कृष्णप्रसाद सुवेदी

जब सानी छोरीले तोते बोलीसँगै ‘डाक्टर’ बन्ने भन्छिन् भलै, उनले डाक्टरको अर्थ बुझेको हुँदैन । तर घरमा आएका पाहुनालाई नानी ठूलो भएर के बन्ने भन्दै सोध्न लगाउँदछौं । सानो बच्चाले जब डाक्टर बन्ने भन्दछिन्- आमाबाबा खुशीले गद्गद् हुन्छन् । हिंड्न हतारिएका पाहुनालाई कफी नखाई हिंड्न दिंदैनन् ।

प्रत्येक बालबालिका सृष्टिका सुन्दर फूल हुन् । कोही लालीगुराँस होलान्, कोही मखमली । कोही इन्द्रकमल त कोही जूही । मानौं कुनै बालिकामा लेखिका बन्ने गुण होला, कुनैमा शिक्षिका । कुनैमा गायिका या चित्रकारिता । तर आमाबुवाको दबाबका कारण उनलाई डाक्टर बन्न लगाइन्छ । सानी बालिकाले डाक्टर नबन्ने भनेमा हप्काइन्छ । दबाब दिइन्छ । विचरा ! ती सानी नानीले विद्रोह गर्न त सक्दिनन् नै । अनि डाक्टर बन्छु भन्न बाध्य पारिन्छ ।

ती बालिकामा मानौं सूर्यमूखी फुल्ने गुण छ । हामी, आमाबाउलाई मन पर्ने लालुपाते फुल्न बाध्य पार्दछौं । परिणाम के हुन्छ ? विचरी, तिनले बाध्य भएर सूर्यमूखी फुल्ने अन्तरनिहित क्षमता लालुपाते फुलाउन लगाउँछिन् । अन्त्यमा तिनी लालुपाते फुल्न त सक्दिनन् नै ! तर उनीमा भएको सूर्यमूखी फुल्ने क्षमता पनि पूरै नष्ट भएर जान्छ ।

प्रख्यात गायिका बन्ने प्रचुर सम्भावना भएकी बालिका डाक्टर बन्न त परै जाओस्, उनीसँग भएको गायिका बन्ने गुण पनि पूरै नष्ट भएर जान्छ । हामी आमाबाले अद्भुत प्रतिभाका धनी बालबालिकालाई राम्रो बनाउने नाममा बेकम्मा बनाएर छाड्छौं ।
पारस खड्का नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान । नेपालको क्रिकेटलाई विभिन्न प्रतिकूलताको बाबजुद अन्तर्राष्ट्रिय तहमा चिनाउन सफल व्यक्तित्व । नेपालको क्रिकेट इतिहासमा यिनी सधैं अमर रहनेछन् । यदि पारस खड्कालाई यिनका आमाबाबुले गोर्खेलौरी हान्दै क्रिकेट खेल्ने होइन डाक्टर बन भन्दै पढाएको भए के हुन्थ्यो ?

नायक राजेश हमाल सम्पन्न परिवारमा जन्मे, हुर्के । यिनका दिदी-बहिनी डाक्टर छन् । पेशामा दक्ष छन् । तर तिनै परिवारका राजेश हमाल नेपाली फिल्मी क्षेत्रका सदाबहार महानायक बने । नेपाली सिनेमाको इतिहासमा यिनको योगदान अमूल्य छ । आउने पुस्ताले फिल्मी उद्योगमा यिनलाई नपढी धरै छैन । यदि डाक्टर बन्न बाध्य पारिएको भए उनको ख्याति एउटा टोलमा सीमित हुनेथियो । साहित्यकार पारिजातलाई डाक्टर बनाउन बाध्य पारिएको भए के हुन्थ्यो ?

गल्ती बालबालिकाले मात्र गर्दैनन्, वयस्कले पनि गर्दछन् । गल्ती विनाको मानव जीवन कल्पना गर्न सकिन्न । गल्तीले सिकाउँदछ । बालबालिकाको गल्ती सिक्ने अवसर हो । गल्ती गरेमा हकार्ने, पिट्ने महागल्ती कहिल्यै गर्नुहुँदैन । उनीहरूमा भएको प्रकृतिप्रदत्त क्षमतालाई प्रोत्साहन गर्नुपर्दछ

हिटलर बाल्यकालमा चित्र कोर्न रमाउँदथे । यिनलाई यिनका पिताले एउटा गज्जबको स्कुलमा भर्ना गर्न लगे । अफसोच ! यिनलाई प्रवेशिका परीक्षामा फेल गराइयो । अनि एउटा सामान्य स्कुलमा भर्ना गरियो । मनपर्ने विषय पढ्न नपाएपछि उनको पढाइमा रुचि रहेन । घरमा प्रायः दिनैपिच्छे गालीसँगै कुटाइ खान्थे । अन्ततः परीक्षामा फेल भए । स्कुल छोडे । उनले चित्र कोर्दै दिन बिताए ।

१६ वर्षको उमेरमा भियना स्कुल अफ आर्ट, अष्ट्रियामा भर्ना हुन गए । उनलाई प्रवेशिका परीक्षामा फेल गराइयो । दोस्रो वर्ष पुनः जाँच दिए । पुनः फेल गरियो । चित्रकारिता उनको रुचि थियो तर पढ्न पाएनन् । जीवन बाँच्ने आधार भएन । चित्र बनाउँदै बेच्न थाले ।

उमेर छिप्पिंदै गयो । एक केटीसँग प्रेममा परे । विवाह गर्न खोजे । एक ‘आबारा, अनपढ’सँग बिहे गर्ने जोखिम मोलिनन् उनकी प्रेमिकाले । हिटलर जीवन जिउने उपायको खोजीमा भौंतारिए । अन्ततः सेनामा भर्ना भए । तानाशाह बने । दोस्रो विश्वयुद्धका सरदार बने ।

यदि हिटलरले चित्रकारिता पढ्न पाएका भए उनी विश्व प्रसिद्ध चित्रकार बन्ने थिए कि ? भन्न नसकिएला । पहिलो विश्वयुद्धको मोर्चामा खटिएका बखत यिनले आमाको काखमा एक बालिकाको चित्र बनाएका थिए । यदि उनले चित्रकारिता पढ्न पाएको भए उनी सिर्जनामा रमाउँथे । सर्जक बन्नेथिए । प्रकृतिप्रेमी हुनेथिए । प्रकृतिप्रेमी हिंस्रक हुन सक्दैन । सच्चाइ के हो भने हिटलरले चित्रकारिता पढ्न पाएको भए दोस्रो विश्वयुद्ध हुँदैनथ्यो कि !

बालबालिकालाई कसरी हुर्काउने सम्बन्धमा चर्चा गर्नु अगाडि हामी कसरी हुर्कियौं ? मनन गरौं । आजका हामी वयस्क, हिजोका बालबालिका । हामीलाई हाम्रा आमाबाबाले हुर्कार्ए, बढाए । हामी आमाबाबाबाट जे सिक्यौं त्यही छोराछोरीमा लागू गर्छौं ।

सकी-नसकी झोला भरी पुस्तक बोकेर विद्यालय जान सिक्यौं । गाली र कुटाइ खाँदै घोक्न सिक्यौं । अहिले, खाली जीउ हिंड्न नसक्ने छोराछोरीलाई त्यसैगरी विद्यालय पठाउँदैछौं । आफू कक्षामा कहिल्यै प्रथम हुन सकिएन, तर छोराछोरीलाई फस्र्ट किन नभएको भन्दै हकार्छौं ।

विद्यालयमा आज के पढेर आयौ भनेर सोध्छौं । तर कुनै साथीलाई आपत् पर्दा के सहयोग गर्‍यौ भनेर कहिल्यै सोध्दैनौं । कुनै साथीको अनुहारमा मुस्कान ल्याउन के मद्दत गर्‍यौ भनेर कहिल्यै सोध्दैनौं । अरूलाई पछारेर आफू कसरी अब्बल हुने मात्र सिकाउँछौं । प्रतिस्पर्धा, केवल प्रतिस्पर्धा गर्न मात्र सिकाउँछौं ।

बालबालिकालाई सहयोग होइन हेरचाहको खाँचो छ । बालबालिकामा प्रकृतिप्रदत्त क्षमता अनन्त छ । अज्ञात छ । जसको बारेमा हामी वयस्क जानकार छैनौं भने कसरी सही सहयोग गर्न सक्दछौं ?

शक्ति हुनेले निर्धोलाई हेप्दछ । हामी आमाबाबा तथा वयस्कले बालबालिकालाई सहयोगको नाममा उनीहरूको जीवनमा हस्तक्षेप गरेका हुन्छौं । ६ वर्षकी बालिका एक विद्यालयमा भर्ना हुनका लागि प्रवेशिका परीक्षा दिंदैथिइन् । प्लास्टिकको हात्ती देखाएर के हो लेख भनियो । ती बालिकाले खेलौना लेखिन् । उनलाई प्रवेशिका परीक्षामा फेल गरियो । किनकि उत्तर गलत भयो रे ! सही उत्तर हात्ती लेख्नुपर्थ्यो !

जाँचमा फेल भएकी छोरीलाई घरमा आमा-बाले सोधे, ‘किन हात्ती नलेखेको ?’

बालिकाले भनिन्, ‘हात्ती ठूलो हुन्छ । हिंड्छ, त्यो त हिंड्न सक्दैनथ्यो ।’ जाँच लिनेसँग अख्तियारी भए पुग्यो । चेतना तथा विवेक नभए पनि फरक पर्दैन । चाहिंदैन पनि । अहिलेको विडम्बना यही हो ।

हस्तक्षेपले बालबालिकालाई आश्रति बनाउँछ । स्याहार तथा हेरचाहले बालबालिकालाई स्वायत्तता र स्वतन्त्रता दिन्छ, जसले विश्वास जगाउँछ । आत्म-विश्वास भएको बालबालिकाको अन्तरनिहित प्रतिभाको अंकुरण र प्रस्फुटन हुन्छ ।

यस धर्तीमा २५०० वर्षअघि सिद्धार्थ गौतम जन्मे । उनी शान्तिका अग्रदूत बुद्ध भगवान भनेर विश्वमा चिनिए । त्यस्तै करिब दुई हजार वर्षअघि जिसस क्राइस्ट जन्मे । उनी विश्वमा क्रिश्चियन धर्मावलम्बीका भगवानको रूपमा मानिन्छन् । त्यस्तै करिब १५०० वर्षअघि इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्म भयो । उनलाई इस्लाम धर्मको भगवानको रूपमा पुजिन्छ ।

पपुलेशन रिफरेन्स ब्यूरोका अनुसार २५०० वर्षको अवधिमा यस धर्तीमा करिब १ खर्ब १५ अर्ब बालबालिका जन्मिए । तर, तीमध्ये कति भगवान तथा महामानव भए ? जब एउटा मालीले बगैंचामा हजारौं फूलका बिरुवा रोप्दा केवल २-४ वटा मात्र बिरुवा हुक्र्यो र फुल्यो । बाँकी सारा झारपात भए के मालीलाई कुशल हो भन्न सकिन्छ ?

बच्चा जन्मँदा अबोध हुन्छ । सरल हुन्छ । उसमा ईश्वरीयपन हुन्छ । तर महान् बनाउने नाममा हामी बाउआमाले रातोदिन यस नगर, उसो नगर । यता जा, उता नजा, यता बस, उता नबस । यो खा, त्यो नखा । यो लगा, त्यो लगा भन्दै ठुंगेको ठुंग्यै गर्दछौं । रातो-दिन ठुङ्ग्दा-ठुङ्ग्दा त्यो प्रतिभावान क्षमताको बालकलाई भुत्ते तथा केही न कामको हल्लुँड बनाएर छाड्छौं, हामीले ।

बालबालिकाको जीवनमा अत्यन्त प्रभाव पार्ने चारवटा पक्ष छन् । पहिलो सुरक्षा । हरबखत बालबालिकाले आफूलाई सुरक्षित महसुस गर्न पाउनुुपर्दछ । दोस्रो भरोसा । सुरक्षाले भरोसा दिन्छ । सुरक्षित भएमा बालबालिकाले आफ्ना आमा-बाबासँग भरोसा हुन्छ । साथै आमाबाबाले पनि छोराछोरीप्रति भरोसा गर्नुपर्दछ । भरोसाले विश्वास जन्माउँछ । तेस्रो सम्मान । बालबालिकालाई सधैं सम्मान तथा आदर गर्नुपर्दछ । चौथो प्यार, माया ।

गल्ती बालबालिकाले मात्र गर्दैनन्, वयस्कले पनि गर्दछन् । गल्ती विनाको मानव जीवन कल्पना गर्न सकिन्न । गल्तीले सिकाउँदछ । बालबालिकाको गल्ती सिक्ने अवसर हो । गल्ती गरेमा हकार्ने, पिट्ने महागल्ती कहिल्यै गर्नुहुँदैन । उनीहरूमा भएको प्रकृतिप्रदत्त क्षमतालाई प्रोत्साहन गर्नुपर्दछ ।

यो पंक्तिकार आफैंले भोगेको घटना । विदेशमा यात्रा गर्दैगर्दा ट्याक्सी ड्राइभरले सोध्यो- ‘कहाँबाट आएको ?’ मैले भनें- ‘नेपालबाट । नेपाल सानो देश हो ।’

उसले क्षेत्रफल र जनसंख्या सोध्यो । मैले बताएँ । अनि ऊ मसँग अलिक च्याँठिएर बोल्न थाल्यो । तँ त झुट बोल्दो रहेछस् भन्यो । म त ट्वाल्ल परें ।

असहजताको बीच कुराकानी हुँदैगयो । एकछिन पछि थाहा पाएँ, उसको देशभन्दा मेरो देश निकै ठूलो रहेछ । मेरो देशको जनसंख्या निकै धेरै रहेछ । सानो देश नेपाल भनेकोमा उसलाई हेपेको जस्तो भएछ । यसैमा उसको विमति रहेछ । स्कुलमा मैले नेपाल एक सानो देश भनेर पढेको, घोकेको थिएँ । जाँचमा त्यही लेखें । पास भइस् भनेर खोस्टो थमाइदिएका थिए ।

एमए पासको पगरी गुथुन्जेलसम्म पनि त्यो गलत हो भन्ने कहिल्यै हेक्का भएन ।

दौड्दै अगाडि पुगेका बालिकाले रोएको सुने । ठिङ्ग उभिए । पछाडि फर्किए । लडेकी बालिकातिर विस्तारै दौड्दै आए । एक बालिकाले आफ्नो शरीर झुकाइन् । लडेकी बालिकालाई विस्तारै अंकमाल गरिन् । मायालु हातले सुम्सुम्याइन् । अनि भनिन्, ‘अब त दुख्न कम भयो होला, उठ !’

बाल दिमागमा सिकाइएको गलत कुरा अमिट-छाप ठक्कर नखाइकन मेटिंदो रहेनछ । नजाने, ज्ञानको नाममा बाल मस्तिष्कमा कति गलत सूचना सम्प्रेषण गरेका छौं ? उनीहरूको दिमाग कति फोहोरका डंगुरले भरिदिएका छौं, हामीले ? ‘घोकन्ते विद्या धावन्ती खेती’ भनेर हामीले केटाकेटी हुँदा सुनेको हौंला । जबकि विद्या घोकन्ती होइन, ज्ञान घोकन्ती होइन । बरु सूचना घोकन्ती हुन सक्ला । अहिलेको जमनामा सूचना गुगल, च्याट जीपीटी आदिले क्षणभरमा झर्को नमानी बताइदिइहाल्छन् । घोक्नु किन पर्‍यो ?

बालबालिका अबोध हुन्छन् । निश्चल हुन्छन् । उनीहरूमा छलकपट हुँदैन । यसै सन्दर्भमा भारतको हैदरावादको स्पोर्टस् स्टेडियममा राष्ट्रियस्तरको दौड प्रतियोगितामा घटेको घटनाको प्रस्तुति विभिन्न चरणका प्रतियोगिताबाट प्रथम भएका १०-१२ बालिका सहभागी थिए । जित्नेलाई पुरस्कार राशि, इज्जत, प्रतिष्ठा ठूलै थियो । सबै प्रतियोगी दौडको स्टार्टिङ लाइनमा उभिएका थिए ।

रेफ्रीले रेडी ! स्टेडी ! भन्दै खेलौना पेस्तोल ड्याङ्ग पड्काए । बालिका दौडिए । मुस्किलले २०-२५ पाइला के दौडिएका थिए एक बालिका नमज्जाले भुईंमा पछारिइन् । त्यो त लडी ! हार्ने भई भन्दै दर्शक कराए । उनको शरीर दर्फरिएको थियो । पीडा असहृय भयो ! सहन सकिनन् ! चिच्याएर रोइन् ।

दौड्दै अगाडि पुगेका बालिकाले रोएको सुने । ठिङ्ग उभिए । पछाडि फर्किए । लडेकी बालिकातिर विस्तारै दौड्दै आए । एक बालिकाले आफ्नो शरीर झुकाइन् । लडेकी बालिकालाई विस्तारै अंकमाल गरिन् । मायालु हातले सुम्सुम्याइन् । अनि भनिन्, ‘अब त दुख्न कम भयो होला, उठ !’

बालिकाले उनलाई विस्तारै उठाए । दुई बालिकाले उनको एक-एक हात समाए । बाँकी सबैले एकअर्काको हात समाए । सँगसँगै हिंड्दै अगाडि बढे । ती बालिका पनि खोच्याङ खोच्याङ गर्दै सँगै हिंडिन् । सबैले सँगै फिनिसिङ लाइन पार गरेर प्रतियोगिता पूरा गरे ।

आयोजक किंकर्तव्यविमूढ भए ! पहिलो, दोस्रो, तथा तेस्रो छुट्याउन नपाएकोमा छट्पटाहट थियो उनीहरूमा । अन्योलमा थिए उनीहरू विजेतालाई खादा ओढाउन नपाएकोमा । दुःखी थिए गोल्ड, सिल्भर र ब्रोन्ज मेडल दिन नपाएकोमा ।

पाराफिटमा बसेका हजारौं दर्शकले गड्गडाहट ताली बजाए । सबैका आँखा टिलपिल भए ! हर्षका आँसु बगे ! सायद जीवनमा नयाँ अद्भुत दृश्य थियो तिनीहरूका लागि ! साँच्चै अनुपम थियो त्यो क्षण ! त्यहाँ न हार थियो न कसैको जित ! थियो त बरु सबैको हित ! सबैको जित ।

खेलको आयोजना नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ, भारतले गरेको थियो । सुस्त मनस्थितिका बालिकाहरू दौडमा सहभागी भएका थिए । हो ! तिनीहरू हामीले भन्ने गरेका मेन्टल्ली रिटार्डेड बालिका थिए ! हामी सबलाङ्गका नजरमा ती नानीहरू ‘अपाङ्ग’ थिए !

तर, तिनै बालिकाले विश्वलाई नवीनतम ज्ञान दिए । महत्वाकांक्षा, अभिमान, अहंकार तथा प्रतिस्पर्धालाई ओझेलमा पारिदिए । मानवता, करुणाले शिर उठाएको दिन थियो, त्यो ! अहंकार लज्जित भएको थियो । धर्तीमा स्वर्गीय आनन्दको अनुभव भएको क्षण थियो । धर्ती मुस्कुराएकी थिइन् । सलाम छ धर्तीलाई स्वर्गको अनुभूति गराउने ती नानीहरूलाई !

(जून १२, बालश्रमिक विरुद्ध विश्व दिवसको सन्दर्भमा आवाजविहीन बालबालिकामा समर्पित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?