+
+

मण्डलामा असार पहिलो सातादेखि ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १२:५६

काठमाडौं । मण्डला थिएटरले असार पहिलो सातादेखि एकैपटक दुई नाटक मञ्चन गर्ने भएको छ । असार ७ गतेदेखि ‘कोराघाट’ र अर्को अडिटोरियममा असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’को नियमित मञ्चन हुने मण्डलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मण्डलाले नियमित रुपमा सञ्चालन गर्दै आएको थिएटर ल्याबका एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर यी दुई नाटक तयार पारिएको जनाइएको छ । ‘कोराघाट’लाई अभिनेता कमलमणि नेपालले निर्देशन गर्नेछन् । यो नाटक लेखक कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरु’मा आधारित छ ।

थिएटरमै देखाइने अर्को नाटक ‘हिउँभन्दा चिसो’लाई मनोवैज्ञानिक थ्रिलर बताइएको छ । कथावस्तु र परिवेश नखुलाइएको नाटक ‘हिउँभन्दा चिसो’मार्फत पुराना रंगकर्मी भोलाराज सापकोटालाई फेरि एकपटक मञ्चमा देख्न पाइने भएको छ । बलिउड फिल्म ‘बर्फी’मा रणवीर कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएका सापकोटाले त्यसयता फिल्म अभिनयमा सक्रिय थिए ।

६ वर्षअघि विमल सुवेदीद्वारा निर्देशित नाटक ‘हेम्लेट’पछि उनले कुनै नाटकमा काम गरेका थिएनन् । लामो समयपछि नाटक खेल्ने अफर आएको, स्क्रिप्ट मन परेको र समय पनि अनुकूल भएका कारण हिउँभन्दा चिसोमा अभिनय गर्न लागेको र यसले आफूलाई उत्साहित बनाएको सापकोटाले बताए ।

यो पछिल्लो नाटकमा सापकोटासँगै कलाकारद्वय रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न पाइनेछ । नाटकलाई सोमनाथ खनालले निर्देशन गर्दैछन् । खनालको निर्देशनमा यसअघि ‘रमाइलो’, ‘इदमित्थम’ र ‘तीन ट्रान्जिट’ जस्ता नाटकलाई मण्डला थिएटरले देखाइसकेको छ ।

एकैपटक दुई नाटकलाई नियमित रुपमा सँगै मञ्चन गर्न लागिएको यो पहिलोपटक भएको मण्डलाले जनाएको छ । पछिल्लो समय रंगमञ्चप्रति दर्शकको बढ्दो आकर्षण र नयाँ स्थानमा पाएको अवसर सदुपयोग गर्न पनि यसरी आफ्नै प्रोडक्सनमा दुई नाटक सँगै प्रदर्शन गर्न लागिएको मण्डलाकी अध्यक्ष सिर्जना सुब्बाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?