+

के हो ‘लो कार्ब डाइट’ ?

२०८० जेठ  २९ गते १७:५१ २०८० जेठ २९ गते १७:५१
के हो ‘लो कार्ब डाइट’ ?

काठमाडौं । शरीरको तौल घटाउनेबारे सोच्नासाथ धेरैको दिमागमा आउँछ कार्बोहाइड्रेटमा कटौती गर्ने । वजन घटाउन आहारमा कार्बोहाइड्रेटको मात्रा घटाउनु एक हदसम्म राम्रो पनि हो । त्यसैले अहिले तौल नियन्त्रण गर्न धेरै व्यक्तिले लो कार्ब डाइट, किटो डाइट गर्न थालेको पाइन्छ ।

आहारमा कार्बोहाइड्रेट कम गर्नाले तौल घटाउनमा मात्र मद्दत गर्दैन, यसले हामीलाई अन्य धेरै स्वास्थ्य लाभ पनि दिन्छ । तर के कार्बोहाइड्रेट शरीरलाई चाहिंदै चाहिंदैन त ? लो कार्ब डाइट सबैको लागि उत्तिकै लाभदायक हुन्छ त ? लो कार्ब  डाइट गर्नुअघि के के कुरामा ध्यान दिने ? यिनै विषयमा पोषणविद् प्रणिती सिंहसँग गरिएको कुराकानी :

लो कार्ब डाइट भनेको के हो ?

एउटा सामान्य व्यक्तिलाई दैनिक जति क्यालोरी चाहिन्छ । त्यसको ६० प्रतिशत कार्बोहाइड्रेटबाट पाउँछ भने २५ प्रतिशत प्रोटिनबाट र बाँकी १५ प्रतिशत फ्याटबाट । तर, लो कार्ब  डाइटमा भने ६० प्रतिशत कार्बोहाइड्रेटबाट पाउनुपर्ने क्यालोरीलाई घटाएर ५ देखी १० प्रतिशतमा झारिन्छ भने त्यो किटोजोनिक लो कार्ब डाइट हो । साथै दैनिक ६० प्रतिशतको साटो ३० प्रतिशत सम्म कार्बोहाइड्रेट खाइन्छ भने त्यो पनि लो कार्ब डाइट नै हो ।

लो कार्ब  डाइटमा अरू के के समावेश हुन्छ ? जस्तो प्रोटिन, बोसो ?

लो कार्ब डाइटमा हामीले दैनिक खानाबाट कार्बोहाइड्रेट त हटायौँ । तर, हाम्रो शरीरको ऊर्जाको लागि खाना त चाहियो त्यसैले खानामा  कि त प्रोटिन र कि फ्याटको मात्रा बढाइन्छ ।

प्रोटिनको त अनेक स्रोत हुन्छ । यसमा कुन प्रोटिन लिनु लाभदायक हुन्छ ?

हामी प्रत्येक दिन दुई हजार क्यालोरीको प्रयोग गर्छौं भने त्यसमा ६०० क्यालोरी प्रोटिनबाट लिन आवश्यक हुन्छ । प्रोटिनको स्रोत शाकाहारी वा मांसाहारी दुवै प्रकारको हुन्छ । माछा, मासु, अण्डा, दूध, सोया, दाल,  गेडागुडी आदि प्रोटिनको स्रोत हो । तर, दूध र दालमा प्रोटिनसँगै कार्बोहाइड्रेट पनि हुने भएकोले लो कार्ब  डाइटमा भने माछा, मासु वाला प्रोटिन बढी दिइन्छ ।

लो कार्ब डाइटमा बोसो वा फ्याटका लागि के प्रयोग गर्ने ?

स्वस्थ शरीरका लागि अति जरुरी पोषकतत्वमध्येको एक हो फ्याट । शरीरमा कोषहरू बन्नका लागि फ्याट आवश्यक हुन्छ । फ्याटबाट हार्मोन, मस्तिष्कको पनि विकास हुन्छ । ए, डी, ई जस्ता भिटामिनहरू सोस्नका लागि पनि फ्याट चाहिन्छ । फ्याटले शरीरलाई ऊर्जा दिनुको साथै भिटामिन डी पनि पनि दिन्छ ।

त्यसैले लो कार्ब डाइटमा मात्र होइन, अन्य अवस्थामा शरीरलाई पनि फ्याट चाहिन्छ । प्रायः लो कार्बमा फ्याटको लागि घिउ र पशुजन्य बोसोको प्रयोग गरिन्छ । धेरै मात्रामा घिउ र पशुजन्य बोसो प्रयोग गर्दा कोलेस्टेरोल तथा मुटुको समस्या बढ्न सक्छ ।

राम्रो फ्याटका लागि प्रशोधित तेलभन्दा मिलमा पिसेको शुद्ध तोरीको तेल, भटमासको तेल र घिउ सबै मिलाएर प्रयोग गर्नु राम्रो हुन्छ । एभोकाडो, ओखर, बदाम र आलसबाट पनि फ्याट पाइन्छ ।

लो कार्ब डाइट निश्चित अवधिका लागि गर्नुपर्छ कि जीवनभर ?

डाइट सधैं त्यस्तो हुनुपर्छ जुन सहज होस् । यो खान हुँदैन, त्यो खान हुँदैन भनेर धेरै सोच्न नपरोस् । प्रशोधित खानेकुरा भन्दा प्राकृतिक र सन्तुलित खानेकुरा खायौं भने तौल नियन्त्रण हुन्छ, डाइटको जरुरी नै पर्दैन ।

लो कार्ब डाइट होस् वा किटो डाइट सबै निश्चित अवधिको लागि मात्र गरिन्छ । लामो अवधिको लागि गरिंदैन । हाम्रो नेपालमा त झन् सबैभन्दा प्रमुख खान्की नै दाल भात तरकारी हो । यस्तोमा लामो समयदेखि खाएको खानालाई छोडेर मासु मात्र खान सक्दैनौं ।

कार्बोहाइड्रेट आफैंमा खराब होइन, त्यसलाई हामीले धेरै मात्रामा खाएको भएर मात्र मोटोपन लगायत समस्या देखा परेको हो । त्यसैले डाइट गर्नुभन्दा सन्तुलित खाना खानु राम्रो हुन्छ ।

यसले के के फाइदा गर्छ ? मोटोपन घटाउने यो प्रभावकारी विधि हो ?

लो कार्ब डाइट तथा किटोजेनिक डाइट कसरी सुरु भयो भन्ने कुरा पहिले जान्नु जरुरी छ । वैज्ञानिकहरूले  छारेरोगको समस्या भएकालाई लो कार्ब तथा किटोजेनिक डाइट दिंदा छारेरोगको ‘एट्याक्ट’ लक्षण कम हुने कुरा पत्ता लगाए ।

जसले गर्दा छारेरोगको समस्या भएका व्यक्तिलाई यो डाइट दिन थालियो । बिरामीमा डाइटले लक्षण कम हुनुका साथै तौल पनि नियन्त्रण भयो । जसले मानिसले यो डाइटले तौल पनि नियन्त्रण हुन्छ भन्ने कुरा थाहा पाए र तौल नियन्त्रणका लागि यो प्रयोग हुन थाल्यो ।

तौल नियन्त्रणमा यसले काम पनि गर्छ । तौल नियन्त्रण भएपछि उच्च रक्तचाप र मधुमेह जस्ता बिरामीहरूको जोखिम पनि कम हुने भयो । तर सबैलाई यसले फाइदा गर्छ भन्ने छैन । साथै यसलाई कति लामो समय गर्न सकिन्छ भन्ने कुरा पनि आउँछ, डाइट छोडेपछि फेरि तौल बढ्न सक्छ ।

लो कार्ब डाइट खाएपछि मधुमेह, रक्तचाप, थाइराइडको औषधि पनि छुटाउन सकिएला ?

लो कार्ब डाइट गरेपछि म मधुमेह रक्तचाप तथा थाइराइडको औषधि छाड्छु भन्न मिल्दैन । कुनै पनि दीर्घरोगीले खानपान, राम्रो जीवनशैली र औषधि सबैलाई मिलाउनुपर्छ । त्यसैले खानपानमा ध्यान दिनुपर्‍यो, दैनिक व्यायाम गर्नुपर्‍यो र औषधि पनि खानुपर्‍यो । आफूखुसी छोड्न मिल्दैन ।

तपाईंले औषधि खानुपर्ने भएर नै डाक्टरले तपाईंलाई औषधि खाने सल्लाह दिएका हुन्छन्, त्यसैले डाक्टरको सल्लाहबिना आफैं छोड्न मिल्दैन । विशेषज्ञ डाक्टरको सल्लाहबिना मधुमेह र उच्च रक्तचापको औषधि छोड्दा हृदयघात र मस्तिष्कघात भएर अस्पताल आएको हामीले देखेका छौं । त्यसैले डाइट गरेर मात्र औषधि छुटाउनु उचित होइन ।

अहिले कतिले कार्बोहाइड्रेट विषसमान भनी व्याख्या गरेको पाइन्छ ? खासमा यो शरीरका लागि हानिकारक नै छ त ?

स्वस्थ जीवनका लागि बोसो र प्रोटिन जति जरुरी हुन्छ, कार्बोहाइड्रेट पनि उति नै महत्त्वपूर्ण हुन्छ । कार्बोहाइड्रेट प्राथमिक ऊर्जाको स्रोत हो । उचित मात्रामा खाँदा यसले हामीलाई हानि गर्दैन । धेरै मात्रामा खाँदा मात्र यसले असर गर्ने हो । कार्बोहाइड्रेट धेरै मात्रामा खाएर नै मोटोपन, फ्याटी लिभरजस्ता समस्या देखा पर्ने हो ।

कार्बोहाइड्रेटले पाचनतन्त्र सुधार्न मद्दत गर्छ । यसैले सन्तुलित आहारका लागि कुनै पनि खानेकुरा हटाउन जरुरी छैन । सही मात्रामा र सही ढंगले खानुपर्छ ।

कार्बोहाइड्रेट नखाँदा शरीरमा के कस्तो हानि हुन सक्छ ?

सवारी साधन चल्नका लागि इन्धनको प्रमुख भूमिका भएजस्तै हाम्रो शरीरको मुख्य इन्धन कार्बोहाइड्रेट हो । त्यसैले आहारमा कार्बोहाइड्रेट समावेश नगर्दा कमजोरी र डिप्रेसनजस्ता समस्या देखिन सक्छ ।

लो कार्ब डाइटको दीर्घकालीन असर के हुन सक्छ ?

लो कार्ब डाइटले सबैलाई फाइदा गर्छ भन्ने छैन । कार्बोहाइड्रेटलाई ६० बाट १० प्रतिशतमा वा ३० प्रतिशतसम्म झार्दा मोटोपन नियन्त्रण गर्न यसले मद्दत गरे पनि दीर्घकालीन रूपमा यसले असर गर्न सक्छ । यस्ता डाइटले छिटो प्रभाव त देखाउँछ, तर पछि शरीरमा नकारात्मक असर निम्त्याउने जोखिम हुन्छ । शरीरलाई चाहिने जति पोषण पनि नपुग्न सक्छ ।

लामो समय लो कार्ब डाइट गर्दा मिर्गौला बिग्रिन सक्छ । यसमा मानिसहरू धेरै मासु खान्छन् । जसले पानी कम हुँदा युरिक एसिड बढ्ने खतरा हुन्छ । यसले मिर्गौला पत्थरी पनि हुन सक्छ । यस्तो डाइटमा मान्छेहरू फलफूल र सब्जीको सेवन पनि कम गर्छन्, जसले गर्दा फाइबरको कमी भएर कब्जियतको समस्या पनि हुन सक्छ ।

यस्तो डाइटमा पशुजन्य बोसो र घिउ बढी खाने भएकाले कोलेस्टेरोल बढ्ने र मुटुको समस्या पनि निम्तिन सक्छ । लो कार्ब डाइटले मेटाबोलिज्ममा असर गर्ने र महिलामा त विभिन्न हार्मोनसम्बन्धी समस्या समेत निम्त्याउन सक्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

प्रणिती सिंह लो कार्ब डाइट स्वास्थ्य
प्रणिती सिंह
लेखक
प्रणिती सिंह
क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्

पोषण विशेषज्ञको रुपमा काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय