
काठमाडौं । ओस्कारपछिको विश्व प्रतिष्ठित फिल्म पुरस्कार मानिने गोल्डेन ग्लोब अवार्ड नयाँ मालिकलाई बिक्री गरिएको छ । रोयटर्सका अनुसार यसअघि अवार्ड गर्दै आइरहेको हलिउड फरेन प्रेस एसोसिएसन (एचएफपीए) र भोटिङ समूह नैतिक त्रुटि र विविधिताको अभाव भएको जस्ता विवादमा मुछिएपछि सोमबार अवार्ड बिक्री भएको हो ।
प्रेस विज्ञप्तिमा जनाइएअनुसार एल्ड्रिज इण्डस्ट्रिज र डिक क्लार्क प्रोडक्सनले गोल्डेन ग्लोबका सम्पत्ति हात पारेका छन्, जसले अवार्ड प्रसारणको व्यवस्थापनलाई जारी राख्ने र विश्वभरका दर्शकलाई बिस्तार गर्ने कार्यमा ध्यान केन्द्रित गर्नेछन् ।
एचएफपीएमाथि नैतिकता र विविधताको अभाव भएको आरोप हलिउडमा लागेपछि अवार्ड बिक्रीको खबर आएको हो । जसले गर्दा सन् २०२२ मा अमेरिकी टेलिभिजन नेटवर्क एनबीसी अवार्डको प्रसारण नै स्थगित गर्नुपरेको थियो । सन् २०२१ मा लस एन्जलस टाइम्सको अनुसन्धानले पत्ता लगाएअनुसार उक्त संगठनको श्रेणीमा कुनै अश्वेत पत्रकार थिएनन् । केही सदस्यलाई यौनवादी र जातिवादी टिप्पणी गरेको तथा सेलिब्रिटी र फिल्म स्टुडियोबाट फाइदा उठाउने आरोप लगाइएको थियो ।
ती आरोप लागेपछि एसोसिएसनले यसको सदस्यता विस्तार र विविधीकरण गरेर जवाफ दिंदै नयाँ नैतिक नीति स्थापनाको प्रयत्न गर्यो । एल्ड्रिज इण्डस्ट्रिजका अध्यक्ष टड बोलीले आफूहरुले अवार्डलाई नयाँ स्वरुप दिन प्रयास गर्ने बताए । अन्तर्राष्ट्रिय मनोरञ्जन रिपोर्टरलाई सदस्य बनाउने योजना गरिएको र सन् २०२४ सम्म उनीहरु अवार्डको भोटिङ सदस्यका लागि योग्य हुने समेत उनले बताए ।
‘गोल्डेन ग्लोब्सको विकासमा आजको दिनले एक महत्वपूर्ण अर्थ राख्छ,’ बोलेले रोयटर्ससँग भनेका छन् । एनबीसीले सन् २०२३ मा गोल्डेन ग्लोब्स प्रसारण गरे पनि सन् २०२४ को संस्करण प्रसारणका लागि कसैले पनि निर्णय गरिसकेका छैनन् ।
प्रतिक्रिया 4