+
+

‘नीरफूल’ हेरेपछि भीम रावलले भने- फिल्मले भुटानी शरणार्थी प्रकरणको याद दिलायो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १२:०८

काठमाडौं । सोमबार बेलुका दयाहाङ राई स्टारर ‘नीरफूल’को विशेष शो आयोजना गरियो, जहाँ राजनीतिज्ञदेखि कलाकारसम्म सहभागी भए । एमाले नेता भीम रावल, अभिनेत्री करिश्मा मानन्धर लगायतले फिल्म हेरे । नेता रावलले फिल्म हेरेपछि यसले आफूलाई भुटानी शरणार्थी प्रकरणको याद दिलाएको बताए ।

‘नीरफूलले एकैचोटी धेरै सन्देश दिएको छ । हाम्रो देशको प्राकृतिक सुन्दरताको छटालाई अगाडि ल्याएको छ,’ उनले भने, ‘भूकम्पजस्ता प्राकृतिक विपत्तिको बेलामा जनतालाई सेवा गर्नुपर्ने कतिपय व्यक्ति र निकायले कसरी गलत तरिकाले फाइदा उठाउन खोज्दा रहेछन् भन्ने कुरालाई अघि ल्याएको छ । यो फिल्म हेर्दा मलाई नक्कली भुटानी शरणार्थी प्रकरणको सम्झना भयो ।’

वैदेशिक रोजगारीले मुलुकको प्राकृतिक जीवनलाई तहसनहस बनाइरहेको आरोप उनले लगाए । ‘त्यसले परिवारलाई कसरी तहसनहस गरेको छ भन्ने सन्देश यसले दिन्छ,’ उनले भने, ‘मान्छेले प्राकृतिक विपत्तिको समयमा पनि कसरी नाजायज फाइदा लिन खोज्छन् भन्ने कुरालाई सुन्दर किसिमले प्रस्तुत गरेको छ ।’

अभिनेत्री मानन्धरले दयाहाङ राईका फिल्म जहिले पनि अर्गानिक हुने बताइन् । ‘भूकम्पको बेलाको पीडालाई हामीले झण्डै बिर्सिएका थियौं । यो फिल्मले त्यो क्षण सम्झाइदियो । हामीलाई काठमाडौंको पीडा थाहा थियो तर दुर्गम भेगको थाहा थिएन । फिल्मले संस्कृति पनि प्रस्तुत गरेको छ । सुकिसकेको खाटालाई यसले पुनः ब्युँझाएको छ,’ उनले भनिन् ।

फूलमान बल निर्देशित नीरफूल शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?