
काठमाडौं । नबिल बैंक लिमिटेड र एसियन पेन्टस् नेपाल प्रालि बीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य गर्ने सम्झौता भएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीयबीच समझदारी भएको हो ।
नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पूँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ् कर्जा उपभोग गर्न पाउने छन् ।
च्यानल फाइनान्सिङका प्रमुख आकर्षण अन्तर्गत आफ्ना वितरकहरूलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यवसायीहरूको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरू समेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।
च्यानल फाइनान्सिङका सन्दर्भमा एसियन पेन्टस् नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैंकसँग आबद्ध हुने एसियन पेन्टसका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए । उनले व्यवसाय विस्तारका लागि आवश्यक पूँजी बैंकमार्फत पाउने बताए ।
यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन अनुरुप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खाता मार्फत मात्रै हुने ढुंङ्गानाको भनाइ थियो ।
प्रतिक्रिया 4