+
+

धान, मकै र गहुँबालीमा पहिलोपटक तोकियो माटोअनुसार मलखादको मात्रा

कुन ठाउँमा कति मल प्रयाग गर्ने ? (सूचीसहित)

सरकारले ४७ वर्षपछि नेपालको कृषि योग्य भूमिमा माटोको अवस्था र प्रकार अनुसार तीन प्रमुख बालीमा मल प्रयोगको नयाँ मापदण्ड बनाएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० जेठ ३० गते १९:५९

३० जेठ, काठमाडौं । सरकारले ४७ वर्षपछि नेपालको कृषि योग्य भूमिमा माटोको अवस्था र प्रकार अनुसार तीन प्रमुख बालीमा मल प्रयोगको नयाँ मापदण्ड बनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तरगतको नेपाल बिउ तथा मल परियोजना खुमलटारले सोमबार स्थान र माटोअनुसार धान, मकै र गहुँ बालीमा हाल्नुपर्ने मलखाद प्रयोगको मात्रा तोकेको हो । अब किसानले आफ्नो क्षेत्र र माटोको गुणअनुसार फरक–फरक मात्रामा मल प्रयाग गर्न सक्छन् ।

सन् १९७६ मा सरकारले मालखादको मात्रा तोकेको थियो । तर, त्यसबेला सबै ठाउँमा समान खालको मलखाद प्रयोगको प्रणाली विकास गरेको थियो । नयाँ मापदण्ड तोकिए पछि पुरानो प्रणाली तोडिएको नार्कका माटो वैज्ञानिक डा श्रीप्रसाद विष्टले जनकारी दिए । उनकाअनुसार अब स्थानीय स्तरको माटोको उर्वराशक्ति र खाद्यन्नको उत्पादकत्वअनुसार मल खाद प्रयोगको मात्रा फरक–फरक हुने छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ४ वर्ष लगाएर नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय माटो अनुसन्धान केन्द्र र अमेरिकी सहायोग नियोग (यूएसएड) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र मिलेर नयाँ विवरण तयार परिएको हो ।

नयाँ मापदण्डअनुसार मलखादको नयाँ मात्रा यसअघिको तुलनामा औसत ३० प्रतिशतसम्म बढेको नार्कले जनाएको छ । माटोको उर्वराशक्ति र धान, गहुँ, मकैको उत्पादनको अवस्थालाई अध्ययन गरेर हिमाल, पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै मात्रामा मलखाद प्रयोगको सिफारिस गरिएको छ ।

नयाँ सिफारिसपछि सघन वाली प्रणाली, उच्च पोषकतत्व चाहिने उन्नत प्रजातिहरू र अन्य कारणले माटोको उर्वराशक्तिमा छिटो परिवर्तन, माटोबाट पूर्ति हुने पोषकतत्व, बालीको उत्पादन लक्ष्य र बाली काट्ने समयमा बालीले लिएको पोषकतत्वको मात्रालाई ध्यानमा राखी मलखाद सिफारिस गरिएको नार्कले जनाएको छ ।

मलखाद सिफारिसका लागि स्थानीय स्तरमा माटोको उर्वराशक्ति, हालको धान, मकै र गहुँबालीको उत्पादनलाई ध्यानमा राखेर स्थान विशेष मलखाद सिफारिस गरिएको सरकारी दाबी छ ।

धानमा कुन ठाउँमा कति मल ?

नार्कले धान खेतीका लागि पूर्वी तराईमा एक हेक्टरमा ६ टन प्राङ्‍गारिक, १२० किलो नाइट्रोजन (युरिया), ४० किलो फस्फोरस, ५० किलो पोटास, ३ किलो जिङ्‍क र एक किलो बोरोन प्रयोग गर्न सिफारिस गरेको छ । यस्तै, मध्य तराईमा एक हेक्टरमा ६ टन प्राङ्‍गारिक, लागि १२० किलो नाइट्रोजन (युरिया), ४० किलो फस्फोरस, ४० किलो पोटाँस, ३ किलो जिङ्‍क र एक किलो बोरोन प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

पश्चिम तराईमा एक हेक्टरमा ६ टन प्राङ्‍गारिक, १३० किलो नाइट्रोजन (युरिया), ४० किलो फस्फोरस, ५० किलो पोटास, ३ किलो जिङ्‍क र एक किलो बोरोन प्रयोग गर्न भनिएको छ ।

सुदूरपश्चिम तराईमा प्रतिहेक्टर ६ टन प्राङ्‍गारिक, १०० किलो नाइट्रोजन (युरिया), ३०–३० किलो फस्फोरस र पोटास, २ किलो जिङ्‍क र एक किलो बोरोन सिफारिस गरिएको छ । यस्तै भित्री तराईका ५ जिल्लामा प्रतिहेक्टर ६ टन प्राङ्‍गारिक, १२५ किलो नाइट्रोजन (युरिया), ४०–४० किलो फस्फोरस र पोटास, २ किलो जिङ्‍क र एक किलो बोरोन प्रयोग गर्न भनिएको छ ।

पहाडी क्षेत्रमा धान खेती गर्नेले प्रतिहेक्टर ६ टन प्राङ्‍गारिक, १२० किलो नाइट्रोजन (युरिया), ३०–३० किलो फस्फोरस र पोटास, २ किलो जिङ्‍क र एक किलो बोरोन प्रयोग गर्नुपर्नेछ । यस्तै वर्णशंकर जातको लागि सबै क्षेत्रमा प्रतिहेक्टर ६ टन प्राङ्‍गारिक, १५० किलो नाइट्रोजन (युरिया), ५० किलो फस्फोरस, ६० पोटास, ३ किलो जिङ्‍क र एक किलो बोरोन प्रयोग गर्न नार्कले भनेको छ ।

धानमा मल प्रयोग गर्दा एक तिहाइ मल बिउ रोप्नुअघिको जमिनको अन्तिम तयारीको अवस्थामा, एक तिहाई बाली लगाएको २५ देखि ३० दिनमा र बाँकी बालीको फूल फुल्नुभन्दा अगाडि प्रयोग गर्न किसानहरुलाई सुझाइएको छ । साथै उपलब्ध भएसम्म बालीमा अधिक मात्रामा प्राङ्गरिक मल प्रयोग गर्न वैज्ञानिकहरुले भनेका छन् ।

मकैका लागि कुन ठाउँमा कति मल प्रयोग गर्ने ?

नार्कले मकैका लागि तीन तहमा मलको उपायोग सिफारिस गरेको छ । जसअनुसार खुला सेंचित जात, वर्णशंकर जात र सबै जातमा एकै प्रकारको मल मात्रा सिफारिस गरिएको छ । यसअनुसार पूर्वी तराईमा प्रति हेक्टर खुला सेंचित जातमा १३० किलो नाइट्रोजन, ६० किलो फस्फोरस, ४० किलो पोटास सिफारिस गरिएको छ ।

यस्तै वर्णशंकर जातका लागि प्रतिहेक्टर १८० किलो नाइट्रोजन (युरिया), ६० –६० किलो फस्फोरस र पोटास सिफारिस गरिएको छ । यस्तै जिङ्‍क प्रतिहेक्टर २ किलो, बोरोन १.५ किलो र प्राङ्‍गारिक मल १० टन सबै प्रकारका मकै र भूगोलमा बराबर प्रयोग गर्न सकिने नार्कले जनाएको छ । मकैमा मल प्रयोग गर्दा जमिनको तयारीको अवस्थामा फस्फोरस, पोटास, जिङ्‍क सल्फेट र बोरोक्सको पुरै मात्रा र नाइट्रोजन (युरिया)को एक तिहाई मात्र पहिलो चरणमा प्रयोग गर्नुपर्छ । अर्को तिहाइ मल बिरुवाको तीन पाते अवस्थामा पुगेपछि र बाँकी सबै मल १० पाते अवस्थामा हाल्नुपर्ने नार्कको भनाइ छ ।

गहुँ बालीमा कति ?

नार्कको सिफारिसअनुसार देशभरका सबै भूगोलमा गहुँ खेती गर्दा प्राङ्‍गारिक मल प्रतिहेक्टर ६ टन मात्रै प्रयोग गरे हुन्छ । यस्तै बोरोन पनि १.५ किलो मात्रै प्रयोग गर्न नार्कले भनेको छ । पोटास र फस्फोरस भने ५० केजी प्रयोग गर्न सिफारिस गरिएको छ । पूर्वी तराईको जिल्लमा नाइट्रोजन (युरिया) १४० किलो, मध्य तराईमा १३० किलो र पश्चिम तराईमा १४० किलो प्रयोग गर्न भनिएको छ ।

यस्तै सदूरपश्चिम तराईमा १२५ किलो, भित्री तराईमा १२० किलो र पहाडमा १०० किलो नाइट्रोजन (युरिया) प्रयोग गर्न नार्कको सिफारिस छ । गहुँमा मल प्रयोग गर्दा एक तिहाई जमिनको अन्तिम अवस्थामा, एक तिहाई बाली लगाएको २५ देखि ३० दिन र बाँकी बालीको फूल खेल्नु भन्दा अघि प्रयोग गर्न नार्कले भनेको छ ।

माटोको खाद्य तत्व र प्रकारका आधारमा मल प्रयोग

भूगोल र वस्तुअनुसार फरक फरक मलको मात्रा सिफारिस भए पनि नार्कले माटोको गुण र त्यसमा रहेको खाद्यतत्वको आधारमा मल प्रयोग गर्न सुझाव दिएको छ । जसअनुसार अतिनिम्न सबै प्रकारका माटोमा सिफारिसको १२५ प्रतिशत नाइट्रोजन (युरिया), फोस्फोरस र पोटास प्रयोग गर्न नार्कले भनेको छ । निम्न र मध्यम खाद्यतत्व भएको सबै माटोमा सिफारिसको १०० प्रतिशत मात्रै नाइट्रोजन (युरिया),फोस्फोरस र पोटास प्रयोग गर्न नार्कले भनेको छ ।

यस्तै, असिंचित अवस्थामा सबै प्रकारको माटोमा तोकिएको बालीको ८० प्रतिशत मल प्रयोग गर्न भनिएको छ भने अति अधिक सबै प्रकारका माटोमा सिफारिस २५ प्रतिशत मल प्रयोग गर्न नार्कको सुझाव छ । अधिक खाद्य तत्व भएको चिम्ट्याइलो माटोमा ७५ प्रतिशत नाइट्रोजन (युरिया), ६० प्रतिशत फोस्फोरस र पोटास प्रयोग गर्न भनिएको छ । अधिक खाद्यतत्व भएको खुकुलो माटोमा ८० प्रतिशत नाइट्रोजन (युरिया), ७०–७० प्रतिशत फोस्फोरस र पोटास प्रयोग गर्न नार्कको सुझाव छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?