
काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’को शीर्ष भूमिकामा आशिर्वाद बराल र दीपिका प्रसाईंले जोडी बाँध्ने भएका छन् । ‘नाइँ नभन्नु ल ६’ फेम्ड अभिनेता आशिर्वादको यो दोस्रो फिचर फिल्म हुनेछ । अनलाइनखबरसँग कुरा गर्दै निर्देशक भट्टराई र अभिनेता बरालले यसबारे पुष्टि गरे ।
यो रोमान्टिक फिल्मको पटकथा लेखन र निर्देशन भट्टराईकै हुनेछ । आशिर्वाद र दीपिकाले अनस्क्रिन रोमान्स गर्नेछन् । मनसुन सकिएपछि छायांकन तयारीमा रहेको यो फिल्मलाई रोमान्टिक जनरामा राखिएको छ । सबै छायांकन पोखरामा गर्ने तयारी रहेको फिल्मको बजेट दुई करोड रुपैयाँ तय गरिएको छ ।
दिवाकरले लामो समयदेखि रोकिएको आफ्नो अघिल्लो प्रोजेक्ट ‘तिमीसँगै हुने मन छ’अघि ‘मायावी’को निर्देशन गर्नेछन् । मायावीबारे निर्देशक भट्टराईले भने, ‘यो विशुद्ध रोमान्टिक फिल्म हो र सबै छायांकन पोखरामा हुनेछ ।’ आशिर्वादले पनि आफू अहिले परीक्षामा व्यस्त रहेको र त्यसपछि फिल्मको तयारीमा जुट्ने बताए ।
‘नाइँ नभन्नु ल ६’ बक्स अफिसमा असफल भए पनि यसले डेब्यु अभिनेता आशर्विादलाई चर्चामा ल्याएको थियो ।
प्रतिक्रिया 4