+
+

कैलाली कारागारमा झडपपछि १६ कैदीबन्दीको सरुवा, सुरक्षा प्रमुख पनि फेरिए

जनक विष्ट जनक विष्ट
२०८० जेठ ३१ गते १६:१३

३१ जेठ, धनगढी। कैलाली कारागारमा मदिरा सेवन गरेर कैदीबन्दीहरुबीच झगडा भएपछि १६ जनालाई विभिन्न कारागारमा सारिएको छ।

२२ जेठमा कारागारभित्र मदिरा सेवन गरेर कैदीबन्दीहरुबीच झडप भएपछि उनीहरुलाई अन्यत्रका कारागार सारिएको हो।

कारागारका निमित्त जेलर लालबहादुर बोगटीले कपिलवस्तु, नवलपरासी, चितवन, महोत्तरी, सप्तरी र सुनसरीका कारागारमा २-२ जना, पर्सा कारागारमा ३ जना र  सिराह कारागारमा एक जनालाई स्थानान्तरण गरिएको जानकारी दिए।

उनका अनुसार कैदीबन्दीहरुबीच आपसी विवादमा झडप भएपछि उनीहरुलाई अन्य कारागारमा सरुवा गरिएको हो । निमित्त जेलर बोगटीका अनुसार उक्त घटनालाई लिएर सुरक्षातर्फका प्रमुख र सहायक प्रहरी अधिकृतलाई समेत हटाइएको छ।

सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक चरन बुढथापालाई हटाएर उनको ठाउँमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राजेन्द्र कुमाल आएका छन्।

यस्तै प्रहरी सहायक निरीक्षक योगेन्द्र बोहरालाई हटाएर उनको ठाउँमा दत्तुराम कोलीलाई जिम्मेवारी दिइएको छ। कैलाली कारागारले कैदीहरुबीच झडप भएपछि आउटडोर चौकीदार र केही कर्मचारीको जिम्मेवारी समेत हेरफेर गरेको जनाएको छ।

कारागारभित्र मदिरा र लागुऔषधको खुलेआम कारोबार र सेवन हुने गरेको दाबी समेत गरिएको छ। विभिन्न माध्यमबाट सामाजिक सञ्जालमा सार्वजनिक भएको मदिरा र लागुऔषध सेवन गरेको भिडियो कारागार भित्रको भनिएको छ तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

हाल काठमाडौँमा रहेका कारागारका जेलर पदमराज तिमिल्सिनाले आफूले सामाजिक सञ्जालमार्फत भिडियो कैलाली कारागारको भएको थाहा पाए पनि पुष्टि गर्न नसकिएको दाबी गरे।

‘त्यो भिडियो कारागारभित्रको हो भनेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखे तर भिडियोमा देखिएका व्यक्तिहरु कैदीबन्दी हुन की होइनन् ? कारागारकै भिडियो हो की होइन ? भनेर पुष्टि गर्न सकिएको छैन,’ तिमिल्सिनाले अनलाइनखबरसँग भने, ‘यो विषयमा हामी बुझिरहेका छौँ ।’

यसअघि पनि कैलाली कारागारमा लागुऔषध र मदिराको खरिदबिक्रि हुने गरेको कुरा बाहिरिएपछि जेलरसहितका सुरक्षाकर्मीको सिंगो समूह परिवर्तन गरिएको थियो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?