
काठमाडौं । ‘कबड्डी’ फेम्ड अभिनेता समेत रहेका माओत्से गुरुङले आफ्नो निर्देशनमा नयाँ फिल्मको घोषणा गरेका छन् । अहिले काभ्रेमा छायांकन भइरहेको ‘दिमाग खराब’मा व्यस्त उनले केही महिनामै नयाँ फिल्मको छायांकन सुरु हुने जानकारी दिए । फिल्मको शीर्षक भने तय भइसकेको छैन ।
दयाहाङ राई र दीया पुन स्टारर ‘दयारानी’पछि यो उनको दोस्रो निर्देशकीय फिचर फिल्म हुनेछ । अहिले नाम चलेका कलाकारलाई शीर्ष भूमिकामा लिएर बनाउन लागिएको यो फिल्मको छायांकन हिमाली क्षेत्रमा गर्ने तयारी छ । गुरुङ समुदायमा विद्यमान बसाइँसराइ चलनको कथावस्तुमा फिल्म निर्माण हुन लागेको हो ।
‘गुरुङ समुदायमा गोठ, गाउँ र विदेशको प्रवृत्ति देखिएको छ । सात समुन्द्रपार जहाँ गएपनि गुरुङ खलक मरेपछि अस्तु चाहिं हाम्रो चिहानडाँडामै ल्याउनुपर्छ । अस्तु ल्याएर राख्ने र मठ बनाउने यो चक्रीय विश्वास पद्धतिबारे फिल्म बन्न लागेको हो,’ उनले भने, ‘साथै यसमा प्रेम सम्बन्ध पनि समावेश हुनेछ ।’
‘हामी लोकेसनको हिसाबले हिमालतिर जाँदैछौं,’ उनले भने । फिल्म निर्माणमा चर्चित गुरुङ फिल्म निर्देशक भोजबहादुर गुरुङ र अर्जुन गुरुङले सहकार्य गर्दैछन् । गुरुङ फिल्म एसोसिएसन (जिफान)का पूर्वअध्यक्ष समेत रहेका भोजले पछिल्लोपटक गुरुङ फिल्म मैरिमो निर्देशन गरेका थिए भने भालेफाइट, हम जाएगा र साहसी निर्माण गरेका थिए ।
यसैबीच, माओत्से निर्देशित अघिल्लो फिल्म ‘दयारानी’ आगामी दशैं छेकोमा प्रदर्शन गर्ने तयारी छ ।
प्रतिक्रिया 4