+
+

अदालतले व्यक्तिको घर हो भन्छ, काठमाडौं महानगर मान्दैन

अमृत चिमरिया अमृत चिमरिया
२०८० जेठ ३१ गते १९:३२

३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–१३ को वडा कार्यालय व्यक्तिको घर कब्जा गरेर सञ्चालन गरेको पाइएको छ ।

काठमाडौं सोल्टिमोडस्थित महानगरपालिकाको वडा कार्यालय रहेको घर व्यक्तिको नाममा रहेको भनेर अदालतले फैसला गरेको र पटक पटक फैसला कार्यान्वयन गर्न ताकेता गरिरहे पनि वडा कार्यालयले अटेरी गरेको छ ।

मचाबाबु महर्जनसँग लता मैनालीले किनेको काठमाडौं महानगरपालिका–१३ को कित्ता नम्बर २३७ को १२ आना १ पैसा ३ दाम जग्गा र त्यहाँ बनेको एक तले घर महानगरपालिकाले खाली गर्न नमानेको हो ।

उक्त जग्गा २०४७ वैशाख ११ गते काठमाडौं जिल्ला अदालतले मचाबाबु महर्जनको नाममा रहेको भन्दै उनलाई प्रयोग गर्न दिन भनेको थियो । सो फैसलाविरुद्ध काठमाडौं महानगरपालिकाले माथिल्ला अदालतमा पुनरावेदन पनि गरेको छैन ।

तर त्यतिबेला जिल्ला अदालतबाट घर खाली गराउन जारी भएको म्याद महानगरपालिकाले बुझ्न मानेन । अदालतले तत्कालिन स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समितिलगायतका निकायलाई पनि पत्र लेखेर घरधनीलाई घरजग्गा प्रयोग गर्नका लागि सहयोग गरिदिन भनेको थियो ।

ती कुनै पनि निकायले जवाफ नदिएपछि फैसला कार्यान्वयन हुन सको । पछि घरधनी आफैंले घरजग्गा प्रयोग गर्ने कारबाही पछि पुन जगाउन मिल्ने गरी मुल्तबीमा राख्न जिल्ला अदालतमा निवेदन दिए र अदालतले पनि मुल्तवीमा राख्यो ।

पछि उक्त घर लता मैनालीले किनेपछि २०७७ पुस २६ गते पहिले मुल्तवीमा रहेको फैसला कार्यान्वयन गरी चलन चलाउन काठमाडौं जिल्ला अदालतमा निवेदन दिइन् ।

जिल्ला अदालतले पुरानो फैसला कार्यान्वयनका लागि सहयोग गरिदिन काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी परिसरलगायतका निकायलाई २०७९ भदौ १ गते पत्र लेखेको थियो । त्यतिबेला पनि यो फैसला कार्यान्वयन हुन सकेन । त्यसपछि जिल्ला अदालतले पुन गत जेठ २६ गते ती निकायलाई पत्र लेखी ३० गते अदालतबाट डोर खटिने भन्दै सहयोग गरिदिन आग्रह गरेको थियो ।

मंगलबार अदालतको पत्रसहित जिल्ला प्रशासन कार्यालय र प्रहरीको टोली वडा कार्यालय पुगेको थियो । तर स्थानीय वासिन्दाले मेयर बालेन शाह आएपछि मात्र छलफल हुने भनेपछि टोली फर्किएको थियो । मैनालीले उक्त घर किन्नुअघि नै त्यस घरमा वडा कार्यालय सञ्चालनमा थियो ।

‘मैले किन्दा हाल साविक गरेर नापी गरेर किनेको हुँ, पहिलेदेखि नै वडा कार्यालय सञ्चालन हुँदै आएको रहेछ, कहिले भाडा दिने, कहिले नदिने भइरहेको रहेछ । मैले घर किनेपछि व्यक्तिगत प्रयोजन गर्न पाउँ भन्दा पाएको छैन’ घरधनी मैनालीका बाबु कृष्ण मैनालीले भने ।

यो विषय लिएर मैनालीले काठमाडौंका मेयर बालेन शाहसँग भेट्न खोजेका छन्, तर समय पाएका छैनन् । मैनालीले भने, ‘मैले अहिले युवा मेयर आएका छन्, महानगरले आफ्नो सम्पत्ति ओगट्नेलाई कारबाही गरिरहेको छ, मेरो सम्पत्ति पनि फिर्ता गर्छ भनेर बारम्बार भेट्न गएँ तर मलाई भेट दिएनन् ।’

२४ सालदेखि सरकारी जग्गा हो, वडा कार्यालय हट्दैन : वडा सदस्य

१३ नम्बर वडा कार्यालयले भने २०२४ सालदेखि नै उक्त भवन सरकारी अड्डाको रुपमा प्रयोग भइरहेकाले हट्न नसकिने बताएको छ । वडा सदस्य रुपेश महर्जनले भने, ‘व्यक्तिको नाममा जग्गा कसरी गयो, थाहा छैन तर यो २४ सालदेखि नै सरकारी कार्यालय भएको ठाउँ हो । अहिले कोही व्यक्ति आयो भनेर वडा कार्यालय हट्न मिल्दैन ।’

उनले कार्यालय नहटाउनेमा सबै स्थानीय बासिन्दा सहमत रहेको पनि बताए । ‘यहाँबाट हटाउने, हट्ने भन्ने कुरै छैन, कार्यालय नै यही हो । यति लामो समयदेखि सरकारी कार्यालय रहेको घर अहिले हटाऊ भन्न मिल्छ र ?’ महर्जनले प्रश्न गरे ।

हेर्नुहोस् लताले अदालतलाई लेखेको पत्र 

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?